coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

चीनको युयान प्रान्त नेपाली जलविद्युतमा लगानी गर्न इच्छुक

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन र चीनको युनान प्रान्तका गभर्नर रुएन चेङ्गफाबीच द्विपक्षीय भेटवार्ता भएको छ। सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा भएको द्विपक्षीय भेटघाटमा जलविद्युत् तथा ऊर्जा क्षेत्रमा सहकार्य गरेर लगानी गर्ने विषयमा छलफल भएको थियो।

आइतबार काठमाडौं आएका गभर्नर चेङ्गफा नेतृत्वको आठ सदस्यीय प्रतिनिधिमण्डलले ऊर्जामन्त्री पुनसहित मन्त्रालयका अधिकारीसँग छलफल गरेको हो। छलफलमा युयान प्रान्तले  नेपालको ऊर्जा क्षेत्रमा गर्ने लगानी, पर्यटन र कृषि क्षेत्रमा सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए। ऊर्जामन्त्री पुनले तामाकोसी जलविद्युत् आयोजनामा युनानको प्रान्तीय सरकारले नै लगानी गर्ने खबरले हर्षित भएको बताउँदै अन्य जलविद्युत् आयोजनामा पनि लगानी गर्न अनुरोध गरेका थिए।

‘युनान सरकारले तामोकोसी जलविद्युत् परियोजनामा ८० प्रतिशत लगानी गर्ने जानकारी पाएका छौं,’ उनले भने, ‘जुन निकै खुसीको खबर हो।’ मन्त्री पुनले सरकारले जलविद्युत्को क्षेत्रमा उदार नीति लिएको भन्दै नेपालको जलविद्युत्मा क्षेत्रमा ढुक्क भएर लगानी गर्न अनुरोध गरे। ‘हामीले जलविद्युत् क्षेत्रमा लचिलो खालको नीति लिएका छौं। पहिलो १० वर्षमा आयकर समेत छुटको व्यवस्था गरिएको छ,’ मन्त्री पुनले भने, ‘नेपालमा विद्युत्को खपत बढ्नुका साथै छिमेकी मुलुकमा पनि बजारीकरणको काम भइरहेको ढुक्क भएर लगानी गरे हुन्छ।’ भारत र बंगलादेशमा विद्युत् व्यापारको लागि ढोका खोलेको भन्दै नेपालमा पनि बजार निर्माण भइरहेको मन्त्री पुनको भनाइ छ।

उनले चार वर्षभित्र पाँच हजार मेगावाट बिजुली उत्पादन हुने जानकारी दिँदै नेपालले जलविद्युत् क्षेत्रमा प्रगति गरिरहेको दाबी गरे। युनान प्रान्तका गभर्नर रुएन चेङ्गफाले आफू पनि चिनियाँ राष्ट्रपतिको भ्रमणपछि सम्झौता कार्यान्वयनका लागि नेपाल भ्रमणमा आएको भन्दै युनान प्रान्तको सरकार नेपालमा कृषि, ऊर्जा, प्रविधि र पर्यटन क्षेत्रमा सहकार्य गर्न इच्छुक रहेको बताए।

उनले  नेपाल र चीनबीच पुरानो मित्रता रहेको भन्दै आगामी दिनमा पनि सम्बन्ध अझै मजबुत हुने विश्वास व्यक्त गरे। गर्भनर चेङ्गफाले तामाकोसी ३ जलविद्युत् आयोजनामा युनान सरकारले लगानी गरेको भन्दै यो आयोजना सुरुमात्र भएको र आगामी दिनमा युनानले जलविद्युत् क्षेत्रमा थप लगानी गर्ने बताए।

प्रकाशित: १० मंसिर २०७६ ०२:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App