७ वैशाख २०८१ शुक्रबार
राजनीति

सदन खुलाउने विषयमा पहल गर्न आग्रह

काठमाडौँ-सभामुख ओनसरी घर्तीले व्यवस्थापिका–संसद्मा जारी गत्यावरोध तत्काल अन्त्य र त्यसका लागि सकारात्मक पहल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल’सँग आग्रह गरेकी छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार  भएको भेटवार्तामा सभामुख घर्तीले लामो समयसम्म संसद्मा अवरोध हुनु जायज छैन भन्दै अवरोध खुलाउनका लागि वार्ता र संवादलाई जोड दिन आग्रह गरेकी हुन्। सभामुखले प्रधानमन्त्रीलाई राजनीतिक संवादमार्फत सदन पुनःसञ्चालन गराउन ध्यानाकर्षण गराउँदै पछिल्लो दिनमा नेपाली काँग्रेसका सभापति र नेकपा(एमाले)का अध्यक्षसँग भएको छलफलका बारेमा समेत प्रधानमन्त्रीलाई जानकारी गराएकी थिइन्।

सभामुखले आफू नेपाल बाहिर हुने समयलाई सहमतिका लागि उपयोग गर्न आग्रह गरेको उनका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए। सभामुख घर्ती संयुक्त अरब इमिरेट्सको अबुधाबीमा हुने विश्वका महिला सभामुखको सम्मेलनमा सहभागी हुन पाँच सदस्यीय टोलीको नेतृत्व गर्दै शनिबार  त्यसतर्फ जाँदै छिन्। “आफू मुलुक बाहिर रहने र सहमतिका लागि पाँच दिन पुग्दो समय भएकाले सहमतिको पहल गर्न र सदनको अवरोध हटाउन नै सभामुखले प्रधानमन्त्रीलाई आग्रह गरिन्। प्रधानमन्त्रीले पनि त्यसका लागि सकारात्मक पहल भइरहेको र केही दिनभित्रै समाधान निस्कने विश्वास व्यक्त गर्नुभएको छ”,सभामुख र प्रधानमन्त्रीबीचको छलफलबारे जानकारी दिँदै सल्लाहकार शर्माले भने।

सभामुखले संसद्मा अवरोध जारी रहँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तविरुद्धको महाअभियोग प्रस्ताव तथा निर्वाचनसम्बन्धी र संविधान संशोधन विधेयकको प्रक्रिया अघि बढ्न नसकेको जनाउँदै अवरोध हटाउन सरकार प्रमुखका रुपमा प्रधानमन्त्रीको निर्णायक भूमिका हुनेमा जोड दिएकी थिइन्।

जवाफमा प्रधानमन्त्रीले संसद्को अवरोध अन्त्यको प्रयासमा दलबीच औपचारिक र अनौपचारिक कुराकानी भइरहेको जनाउँदै केही दिनमै सहमति हुने विश्वास व्यक्त गरे। “औपचारिक÷अनौपचारिक कुराकानी भइरहेको छ”–सभामुख घर्तीसँगको कुराकानीमा प्रधानमन्त्रीले भने, “मलाई आशा छ, एकाध दिनभित्रै एउटा मसिनो सहमति हुन सक्छ । त्यसका लागि सरकार प्रयासरत छ ।”

सभामुखले यसअघि प्रमुख सत्तारुढ घटक काँग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख विपक्षी नेकपा(एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई छुट्टाछुट्टै भेटी सदनको गत्यावरोध हटाउन आग्रह गरेकी थिइन्। सरकारले संसद्मा दर्ता गराएको संविधान संशोधन विधेयक राष्ट्रघाती भन्दै एमालेलगायत दलले लगातार संसद बैठक अवरुद्ध गर्दै आएका छन् । संसदको अर्को बैठक यही मङ्सिर ३० गतेका लागि बोलाइएको छ । रासस

प्रकाशित: २५ मंसिर २०७३ ०७:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App