८ वैशाख २०८१ शनिबार
अर्थ

कृषि विकास बैंकका कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास बैंक शाखा कार्यालय स्वयम्भूका तत्कालीन शाखा अधिकृत केदारप्रसाद गौतमसमेत ८ जनाविरुद्ध जनही ३३ करोड ९३ लाख रुपैयाँ माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरिएको छ। शाखा अधिकृत गौतमसमेतले २०७१ असोजदेखि २०७२ असारसम्म कर्मचारीकै नक्कली नागरिकता बनाएर ३३ करोड ९३ लाख रुपैयाँ निकाली बैंकलाई हानी नोक्सानी पुराएपछि भ्रष्टाचार आरोपमा मुद्दा दर्ता भएको हो।

उजुरी अनुसन्धान गर्दा बैंकका शाखा प्रबन्धक भरतबहादुर बानियाँले दायित्व बहन गर्न नसकेको, शाखा अधिकृत केदारप्रसाद गौतमले नक्कली नागरिकता बनाई रेमिटबाट आएको फर्जी कारोबार देखाई जम्मा गरेको भेटिएको थियो। मिलेमतोमा भुक्तानी लिने, नक्कली नाम तेजबहादुर थापा खडा गरी त्यसै नामबाट नागरिकता, राहदानी बनाई विदेश फरार हुने योजना अनुरूप भारत गई बसेका थिए।

त्यसैगरी सम्झना पोखरेल गौतमले आफ्ना पति तेजबहादुर थापा भन्ने केदारप्रसाद गौतमले बैंकबाट अनियमित तबरबाट निकालेको रकमबाटै कर्जा तिर्ने गरेको, खाता खोल्ने र बन्द गर्ने काममा प्रत्यक्ष संलग्न रहेको, केदारप्रसाद गौतमकी कान्छी श्रीमती जेनी श्रेष्ठ गौतमले रकम लुकाउन सघाएको अख्तियारको आरोप छ।

बैंकबाट निकालेको रकमबाट गाडी खरिद गरेको, सुमन भुजेल जग्गाको कारोबारमा संलग्न, सन्दीप गुप्ताले केदारप्रसाद गौतमले बैंकबाट निकालेको रकम भारत पठाएको, सूर्यबहादुर लिम्बुले वसन्त राई भनी किर्ते नागरिकता बनाएको, कृष्णहरि थापाले राजीव थापाको नाममा नक्कली नागरिकता बनाई प्रस्तुत कसुरको मुख्य योजनाकार गौतमसँग मिलेमतो गरेको आरोपपत्रमा उल्लेख छ।

केदारप्रसाद गौतम ३३ करोड ९३ लाख माग दाबी गरिएको छ। त्यसैगरी कृषि विकास बैंक शाखा कार्यालय स्वयम्भूका तत्कालीन शाखा प्रबन्धक भरतबहादुर बानियाँ विरुद्ध ३३ करोड ९३ लाख रुपैयाँ, सम्झना पोखरेल गौतम ३३ करोड ९३ लाख रुपैयाँ बिगो असुल उपर हुन माग दाबी लिइएको अख्तियारले जनाएको छ। त्यसैगरी जेनी श्रेष्ठ गौतम, सुमन भुजेल, सूर्यबहादुर लिम्बु, सन्दीप गुप्ता, कृष्णहरि थापा विरुद्ध जनही ३३ करोड ९३ लाख रुपैयाँ बिगो माग दाबी गरिएको छ।

त्यसैगरी, जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलसमेत ४ जनाविरुद्ध गलत कागजातको आधारमा गैरनेपालीलाई वंशजको आधारमा नागरिकता प्रमाणपत्र दिएको भन्दै मुद्दा दर्ता गरेको छ। वीरगञ्ज महानगरपालिका ११ को बसाइसराइ कागजातलाई सच्याएर ममताकुमारी गुप्ताको नेपाली नागरिकतामा पतिको नाम जयप्रकाश प्रसाद गुप्ता लेखी सच्चाएको, विवरण सच्याई झुट्टा विवरणको आधारमा आशिषकुमार गुप्ताको नाममा वंशजको आधारमा नेपाली नागरिकता बनाइदिएको आरोपपत्रमा उल्लेख छ।

नागरिकता बनाउनमा ममताकुमारी, वडा नं. १५ का वडाध्यक्ष गजेन्द्रप्रसाद कुर्मी, जिल्ला प्रशासन कार्यालय पर्साका नायव सुव्बा चन्द्रदेव ठाकुर, तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलसमेतको संलग्नता देखिएको भन्दै भ्रष्टाचार गरेको भन्दै मुद्दा दर्ता गरिएको हो।

प्रकाशित: १० मंसिर २०७६ ०१:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App