८ वैशाख २०८१ शनिबार
समाज

लोकसेवा तयारीका नाउँमा काम ठग्ने कर्मचारीमाथि सरकारको कडाइ

काठमाडौं – लोकसेवा तयारी नाउँमा कार्यालयनै रित्तिने गरी विदा बस्ने, कुर्सीमा कोट झुण्ड्याएर भाग्ने, कार्यालय समयमा सरकारी गाडी लिएर लोकसेवा पठाउन जाने प्रवृत्ति बढेपछि सरकारले त्यस्ता कर्मचारीमाथि कडाइ गर्न थालेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालय तथा निकायलाई पत्र लेख्दै लोकसेवा तयारीका नाउँमा कर्मचारीबाट सेवाप्रवाह प्रभावित भएका भन्दै परीक्षा तयारीका नाउँमा कर्मचारीलाई बिदा नदिन र तयारीका नाउँमा हुने स्रोतसाधनको दुरुपयोग रोक्न निर्देशन दिएको हो।

मन्त्रालयले बिदा स्वीकृत नगराई कार्यालय समयमा लोकसेवा तयारीमा लाग्ने कर्मचारीमाथि कारबाही गर्ने चेतावनीसमेत दिएको छ। ‘मन्त्रालयले गरेको परिपत्रमा बिगत केही दिनदेखि लोकसेवा आयोगद्वारा सन्चालन गरिने आन्तरिक तथा खुला परीक्षा तयारी प्रयोजनका लागि कार्यालय समयमा कर्मचारी अनुपस्थित रहने भन्ने जनगुनासो रहन आएको छ,’ मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले मन्त्रालय र निकायलाई लेखेको पत्रमा भनिएको छ, ‘त्यस कार्यालय र माताहतका निकायका सम्वन्धित कर्मचारीलाई कार्यालयको काममा बाधा नपुग्ने गरि अत्यावश्यक कामका लागि मात्र विदा दिने र सेवा प्रवाहको कार्य नियमित हुने व्यवस्था मिलाउन र बिदा स्वीकृत नगराई अनुपस्थित हुने कर्मचारीको अभिलेख राखी कारबाही अघि बढाउन अनुरोध छ।’

मन्त्रालयले उक्त परिपत्रको विषयमा मुख्य सचिवलाई समेत जानकारी गराएको छ। मन्त्रालयले कर्मचारीको उपस्थिती र विदाका सम्वन्धमा नियमित अनुगमन हुने भन्दै अनुगमनको क्रममा अनुपस्थित रहेका कर्मचारीको अभिलेख राखी गयलकट्टी गरिने र सो बमोजिम तलब कट्टी हुनेको हकमा सेवाको अभिलेख समेत सोही बमोजिम राखिने चेतावनी दिएको छ। परिक्षा तयारीका नाउँमा तयारीका लागि कार्यालय नबस्ने बाहेक कर्मचारीहरुनै सरकारी सवारीसाधन लगेर तयारी कक्षा पढाउन जाने गरेको पाइएको भन्दै सरकारी साधन श्रोतको दोहन हुने गरेको गुनासा समेतलाई मध्यनजर गरि सरकारी श्रोतको दुरुपयोग गर्नेमाथि कारबाही गर्नसमेत निर्देशन दिएको छ।

मन्त्रालय सहसचिव भुपाल बरालले लोकसेवा तयारीका नाउँमा सार्वजनिक सेवा प्रभावित भएको गुनासो बढेकाले त्यसलाई रोक्न पत्राचार गरिएको बताए। ‘अहिले एकथरि लोकसेवा तयारीका नाउँमा कार्यालय आउने हाजिर गर्ने भाग्ने समस्या छ भने अर्काेथरी कार्यालय समयमा सरकारी साधन लिएर लोकसेवा तयारी कक्षा पढाउन जाने गरेको भन्ने गुनासो छ,’ बरालले नागरिकसँग भने, ‘लोकसेवा तयारीका नाउँमा सरकारी स्रोतसाधनको दुरुपयोग नहोस्, र सार्वजनिक सेवा प्रभावित नहोस् भन्ने उद्देश्यले सवै मन्त्रालय र निकायलाई परिपत्र गरिएको हो।’

हरेक वर्ष लोकसेवा आयोगले पदपूर्तीको लागि विज्ञापन खुलाएपछि कर्मचारीले कार्यालय आएर हाजीर गरेर भाग्ने, कुर्सीमा कोट झुण्ड्याएर दिउँसोभर तयारी कक्षामा लाग्ने, सरकारी सवारी साधन चढेर लोकसेवा पढ्न पढाउन जाने प्रवृत्ति बढ्दै गएको छ। जसले गर्दा महत्वपूर्ण निकायसमेत लोकसेवाको विज्ञापन खुलेपछि कर्मचारीविहीन बन्दै आएका छन्।

प्रकाशित: १० मंसिर २०७६ ०१:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App