coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

तीन खेलाडी टोलीबाट बाहिर

काठमाडौं – अनुशासनहीन गतिविधिका कारण कारबाही भोगिरहेका चार खेलाडीमध्ये तीन खेलाडी आगामी १३औं दक्षिण एसियाली खेलकुद (साग)को नेपाली टोलीबाट बाहिरिएका छन्। यसअघि सागका लागि छनोट भएका विमल घर्तीमगर, अन्जन विष्ट र दिनेश राजवंशीले २० वर्षपछि घरेलु मैदानमा हुने साग खेल्न नपाउने भएका हुन्। यु–२३ पुरुष टोलीका प्रशिक्षक बालगोपाल महर्जनले सोमबार यी तीन खेलाडीलाई बाहिर राख्ने निर्णय गरेका थिए। विश्वकप छनोटअन्तर्गत कुवेतसँगको खेलका भुटान उड्नुको अघिल्लो रात (नोभेम्बर १९ मा) नाइट क्लब बिताएपछि एन्फाले राष्ट्रिय टोलीका चार खेलाडीलाई कारबाही गर्दै टोलीबाट हटाएको थियो।

जुन निर्णयलाई प्रशिक्षक महर्जनले पनि निरन्तरता दिँदै विमल, अन्जन र दिनेशलाई राष्ट्रिय टोलीमा फर्काएनन्। यी तीनै खेलाडी भारतमा सम्पन्न १२औं सागमा नेपालले स्वर्ण जित्दा टोलीका महत्वपूर्ण सदस्य पनि हुन्। यसअघि कारबाही भोगेका सन्तोष तामाङ भने साग खेल्ने टोलीमा थिएनन्। टोलीका प्रशिक्षक बालगोपाल महर्जनले यसअघि नै कारबाहीको निर्णय भइसकेका अवस्थामा आफूले पनि त्यसलाई निरन्तरता दिएको बताए।

‘एन्फाले उनीहरूलाई यसअघि नै कारबाही गरिसकेको हो। त्यसलाई  मैले पनि पालना गरेको हुँ,’ प्रशिक्षक महर्जनले भने, ‘राष्ट्रिय खेलकुद परिषद् (राखेप) र एन्फासँगको सल्लाहमा उक्त निर्णय भएको हो। उनीहरूको स्थानमा आएका खेलाडी पनि निकै राम्रा छन्। उनीहरूले राम्रो गर्नेमा विश्वस्त छु।’ कारबाही भोगेका तीन खेलाडीको स्थानमा राजेश परियार, राजीव लोप्चन र पे्रजेन तामाङले अवसर पाएका छन्।

सागमा नेपाली टोलीको कप्तानी सुजल श्रेष्ठले गर्नेछन्। यसअघि विश्वकप छनोट खेलमा भने किरण चेम्जोङले नेपालको कप्तानी गरेका थिए। सागमा फुटबलको यु–२३ उमेरसमूहको प्रतिस्पर्धा हुने गर्दछ। जसमा तीन जना सिनियर खेलाडी राख्न पाउने प्रावधानअनुरूप सुजलसहित मिडफिल्डर विक्रम लामा र गोलरक्षक विकेश कुथु छन्।

सागका लागि सुजलको कप्तानीमा नेपालको २० सदस्यीय टोली छ। गोलकिपर विकेश कुथु, अर्पण कार्की, दीप कार्की, डिफेन्डरमा अनन्त तामाङ, विक्रम लामा, विकास खवास, छिरिङ गुरुङ, सुमन अर्याल, मिक्छेन तामाङ र राजेश परियार, मिडफिल्डरमा सेसेहाङ आङदेम्बे, नितिन थापा, तेज तामाङ, सुनील बल र हेमन्त थापामगर तथा फरवार्डमा रेजिन सुब्बा, अभिषेक रिजाल, प्रेजेन तामाङ र राजीव लोप्चन छन्।

भारतको सहभागिता नहुने
खेलतालिका सार्वजनिक भएपछि पनि भारतको पुरुष टोलीले साग नखेल्ने भएको छ। भारतले आफ्नो ओलम्पिक कमिटीमार्पmत पुरुष फुटबल टोलीमा समावेश नहुने आयोजक नेपाललाई जनाएको थियो। तर, भारतको महिला टोलीको सहभागिता भने हुने भएको छ। भारतले पुरुष टोलीको सहभागिता नगर्ने जनाए पनि मंगलबार हुने सबै राष्ट्रको डेलिगेसनको मिटिङबाट थप निर्णय हुने नेपाल ओलम्पिक कमिटीका एक सदस्यले बताए।

भारतको सहभागिता नहुने भएमा नयाँ ‘ड्र’ सार्वजनिक हुने अखिल नेपाल फुटबल संघका महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए। ‘हामीलाई आधिकारिक रूपमा पत्र आएका छैनन् , महासचिव तुलाधरले भने, ‘पत्र नआएसम्म केही भन्न सक्दैनौं। आधिकारितासँगै नयाँ ड्र सार्वजनिक हुनेछ।’ राउन्ड रोबिन लिगका आधारमा हुने १३औं सागका लागि गत शुक्रबार ‘ड्र’ सार्वजनिक भएको थियो।

गत संस्करणको उपविजेतासमेत रहेको भारत गत शुक्रबार सार्वजनिक भएको ड्रमार्पmत समूह ‘बी’ मा रहेको थियो। उक्त समूहमा श्रीलंका र माल्दिभ्स पनि थिए। समूह ‘ए’ मा भने नेपालसहित बंगलादेश र भुटान छन्। नेपालले बंगलादेशसँग खेल्दै १३औं सागको यात्रा थाल्नेछ। पुरुष फुटबलको प्रतिस्पर्धा त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुनेछन्। महिला फुटबलको खेल भने पोखरा रंगशालामा हुनेछ।  

दशरथ रंगशालामा फुटबल टोली
वि.सं. २०७२ वैशाख ११ गते भूकम्प गएपछि नेपालका विभिन्न खेलकुद संरचनासँगै दशरथ रंगशाला पनि क्षति पुगेको थियो। भूकम्प गएको दिन साफ यु–१४ महिला साफ च्याम्पियनसिपअन्तर्गत नेपाल र बंगलादेशबीच फाइनल खेल्ने तय भएको थियो। तर, भूकम्पका कारण उक्त मैदानमा फाइनल खेलसँगै अन्तर्राष्ट्रिय प्रतिस्पर्धा हुन सकेका छैन। तर, गत विश्वकप छनोट अन्तर्गत कुवेतसँगको होम गेम खेल्ने तयारी भए पनि अन्तिम समय हुन सकेको थिएन।

त्यससँगै १३औं सागमा हुने फुटबलको प्रतिस्पर्धा नै उक्त मैदानमा भूकम्पपछिको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हुने तय भएको छ। सोही मैदानमा सोमबार नेपालको फुटबल टोलीले १३औं सागका लागि प्रशिक्षण गरेका छन्। उनीहरूले घरेलु मैदानमा हुने खेलको फाइदा सोमबारदेखि लिन पाएका छन्।

रंगशाला पुनर्निर्माण नभएकाले त्यसयता खेलाडीहरूले अभ्यास गर्न पाएका थिएनन्।  रंगशालाको विकल्पको रूपमा नेपाली टोलीले सातदोबाटोको एन्फा मैदानमा नियमित प्रशिक्षण गर्दै आएका थिए। लामो समयपछि दशरथ रंगशाला पुगेपछि नेपाली फुटबल खेलाडी निकै उत्साहित देखिएका थिए।

‘एन्फाले उनीहरूलाई यसअघि नै कारबाही गरिसकेको हो। त्यसलाई  मैले पनि पालना गरेको हुँ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) र एन्फासँगको सल्लाहमा उक्त निर्णय भएको हो। उनीहरूको स्थानमा आएका खेलाडी पनि निकै राम्रा छन्। उनीहरूले राम्रो गर्नेमा विश्वस्त छु।’

प्रकाशित: १० मंसिर २०७६ ००:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App