coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

भेडा प्रजनन केन्द्र निर्माण हुने

रुकुमपूर्व– रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकामा भेडा प्रजनन केन्द्र स्थापना गरिने भएको छ।

कृषिलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको प्रदेश सरकारले यसै आर्थिक वर्षमा गाउँपालिकाको तकसेरालाई भेडा प्रजनन केन्द्र बनाउने योजना बनाएको हो। 

तकसेरामा आधुनिक जातका भेडाको उत्पादन गरी किसानलाई वितरण गर्ने र भेडापालन व्यवसायतिर यहाँका युवालाई आकर्षित गर्ने लक्ष्यसाथ सो केन्द्र स्थापना गर्न लागिएको प्रदेश सरकारले जानकारी दिएको छ। 

केन्द्र स्थापना भएपछि जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिकाको सबै ठाउँमा भेडापालन व्यवसाय गरिरहेका मानिसहरुलाई ठूलो राहत पुग्ने भएको छ।

प्रजनन केन्द्रमा पहिलो चरणमा एक हजार स्थानीय भेडाको पाठी सङ्कलन गर्ने र उन्नत जातको सार ल्याएर पाठा उत्पादन गरी किसानलाई बाँडिने प्रदेशसभा सदस्य तेजबहादुर ओलीले जानकारी दिए। 

‘केन्द्रमा लामो र मसिनो ऊन भएको, अरूभन्दा सजिलै हुर्काउन सक्ने र मासु राम्रो हुने प्रजातिको भेडा उत्पादन गरिने छ’, प्रदेशसभा सदस्य ओलीले भने, ‘आधुनिक गोठ निर्माण, दाना र प्राविधिकको व्यवस्था गरी युवालाई भेडापालनमा आकर्षण गरेपछि आयआर्जनमा वृद्धि हुनाका साथै जिल्लाबाट वैदेशिक रोजगारमा जानेको सङ्ख्या घट्ने विश्वास छ।’ 

गाउँपालिकाका प्रत्येक घरमा अहिले पनि भेडा पालिरहेको पाईन्छ। भेडापालनका लागि सम्भाव्यता अध्ययन भइसकेको प्रदेश सरकारले जनाएको छ। भेडापालन व्यवसायका लागि पुथाउत्तरगङ्गा गाउँपालिका उपयुक्त रहेकाले स्वीकृत भइसकेको प्रदेशसभा सदस्य ओलीको भनाइ थियो। 

अध्ययनअनुसार हाल गाउँपालिकाभरि २० देखि २५ हजार भेडा रहेको बताइएको छ। केन्द्र बनाइने भएपछि स्थानीयवासी निकै खुशी देखिन्छन्। आफूले पहिलेदेखि नै भेडापालन व्यवसाय गर्दै आइरहेको अवस्थामा अब सरकारको सहयोग थपिने भएपछि आफू निकै उत्साहित भएको गाउँपालिका–११ का शिवु बुढामगरले बताए। 

केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका–१० वा ११ मा निर्माण गरिने भन्ने टुङ्गो भने लागिसकेको छैन। प्रदेशसभा सदस्य ओलीका अनुसार अहिले पूर्वाधार निर्माण लगायतको कामका लागि जग्गा व्यवस्थापन र ‘स्टिमेट’को काम भइरहेको छ। रासस

प्रकाशित: ९ मंसिर २०७६ ०८:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App