coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

'दमकलले पानी बोकिरह्यो, आगोले घर जलिरह्यो'

आगो निभाउन गएको दमकल र आगलागी भएकाे घर।

जुम्ला - जुम्लाको चन्दननाथ नगरपालिका २ का विष्णु भण्डारीको घरमा आइतबार बिहान ११ बजे आगलागी भयो। आगो लागेको दस मिनेटमै नगरपालिकाको दमकल पुथ्यो। तर दमकल छिर्ने ठाउँ नै भएन्। दमकल रोकियो, घर जलिरह्यो। सुरक्षाकर्मीले खेतका आली र घरका पर्खाल फाडेर दमकल अटाउने बाटो बनाए। अनि दमकल पुग्यो। पानी खन्याइरह्यो। तर आगो निभेन। चन्दननाथ नगरपालिका २ का कर्णबहादुर भण्डारी साँघुरो सडकका कारण आगो समयमै नियन्त्रणमा हुन नसकेको बताउँछन्। उनले भने,‘दमकल भित्र रहेको पहिलो पटकको पानीले आगो निभाउन सकेन्, दमकल पानी लिन गयो आउँदासम्म आगो झन फैलिँदैै थियो।’

दमकल चल्ने सडक र नजिकै पानीको पहुँच नहुँदा आगो नियन्त्रणमा आउन ढिलो भएको स्थानीय बताउँछन्। दमकल पानी भर्न जुगाड खोला पुग्नु पथ्र्यो,आउजाउ गर्दा बाटोमा पनि जाम लाग्थ्यो। एक पटक आउजाउ गर्न झण्डै आधा घण्टा लाग्थ्यो। उनले भने,‘दोष दमकलको छैन्। यहाँ बनेका संरचनाका कारण आगो समयमै निभाउन नसकिएको हो।   दमकललाइ पार्किङ स्थलबाट आगो लागेको स्थानसम्म पुग्न पाँच मिनेट लाग्छ। तर सडक साँघुरो भएकोले न्युनतम आधा घण्टा सम्म लाग्नु स्वभाविक हो।

उद्योग वाणिज्य संघ जुम्लाका वरिष्ठ उपाध्यक्ष पुरिचन्द्र देवकोटा दमकल नअटाउने बाटोले समस्या भएको बताउँछन्। त्यो घरमा पहिले चन्दननाथ नगरपालिका बसेको थियो।   दमकलले आफ्नोे काम गर्न सक्क गर्यो तर पानी टाढा भयो, बोक्न समय लाग्ने भयो। उनले भने,‘ यो घटनाले घर बनाउँदा एम्बुलेन्स र दमकल छिर्न सक्ने बाटो बनाउनको लागि  ढोका खोल्यो।’ काठैकाठको प्रयोगले बनेको घर भएकोले आगोले छिटो समात्यो। उनले उद्योगी व्यवसायिलाई घर बनाउदा र व्यवसाय गर्दा फराकिलो सडक भएको ठाउँमा सञ्चालन गर्न आग्रह गरे।

दमकल एकदम तयारी अवस्थामा थियो। तर आगो निभाउन झण्डै ६ घण्टा लाग्यो।  बाटोको पहुँच भएन्।  जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी लालबहादुर धामी भन्छन्,‘ दुई तला पुरुपमा नष्ट भयो। ’ त्यो घरमा पन्ध्र जना बाहिरका मान्छे भाडामा बस्थे। एक जना घरभेटी। सबैको घरमा ग्याँस सिलिण्डर थिए।  क्षतिको विवरण भोली सार्वजनिक हुनेछ। सबै जनशक्ति परिचालन भयो तर आगो समयमै नियन्त्रणमा आउन सकेन्। डिएसपी धामीले चन्दननाथ नगरपालिकामा एक अर्को दमकल आवश्यक पर्ने बताए। त्यो संगै फराकिलो बाटो र एक ट्यांकर पनि आवश्यक देखियो। संगै पानीको सहज पहुँच पनि। घर बनाउदा दमकल र एम्बुलेन्स जाने सडक चाहिन्छ। अब चन्दननाथ नगरपालिकाले यो अवधारणा अघि सार्नुपर्छ।

चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवाल सडक फराकिलो नहुँनुमा नगरपालिकाको कुनै दोष नभएको बताउँछन्।  उनले भनिन्,‘सडक कालोपत्रे गरौँ। फराकिलो बनाउने कार्यमा नागरिक नै तगारो बन्छन्, अनि आवश्यक पर्दा नगरपालिकालाई दोष दिन्छन्। चन्दननाथ नगरपालिकाले अघि सारेको कुनै पनि योजना कार्यन्वयनमा नागरिक सहयोग छैन्। फलस्वरुप दमकल समयमै पुग्न सक्दैन्, आगो समयमै नियन्त्रणमा ल्याउन सकिने अवस्था छैन्।’

दमकलले २० हजार लिटर पानी हाल्दा पनि आगो नियन्त्रणमा आउन सकेको थिएन्।दमकल आवतजावत गर्न बाटोमा सुरक्षाकर्मीले  पनि सहयोग नगरेको नगरपालिकाले जनाएको छ। जसका कारण बजारमै दमकल जाममा पर्नु परेको थियो।  मेयर सेजुवाल यहाँको ठाउँमा दमकल एक भएपनि हुने बताइन्। तर केन्द्र बिन्दुमा ठूलो पोखरी आवश्यक छ।  जग्गा नहुँदा नगरपालिकाले यो कार्य अघि बढाउन सकेको छैन्। यसअघि सदरमुकाम खलंगाको चौडा सडक नजिकै आगलागी हुँदा दमकलले निकै छिटो आगो नियन्त्रणमा लिइएको थियो।

प्रकाशित: ९ मंसिर २०७६ ०५:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App