coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
शिक्षा

विद्यार्थीमा अनुसन्धान संस्कृति विकास हुँदैै

काठमाडौं – विश्वविद्यालयमा शिक्षकले एकोहोरो पढाउने र विद्यार्थीले सुन्ने परम्परालाई विज्ञान, इन्जिनियरिङ र प्रविधि विषयका विद्यार्थीले अनुसन्धान संस्कृतिलाई अपनाइरहेको पाइएको छ।

शनिबार राजधानीको एडभान्स कलेज अफ इन्जिनियरिङले आयोजना गरेको विज्ञान, इन्जिनियरिङ र प्रविधि (सेट) कन्फरेन्स–२०१९ मा विद्यार्थीले अध्ययन गरिरहेको विषयवस्तुमा खोजमूलक अध्ययन अनुसन्धान गरी प्रस्तुति दिँदा पुल्चोक इन्जिनियरिङ कलेजका प्राध्यापक शुवर्ण शाक्य हर्षित बने।

कन्फरेन्समा उनले विद्यार्थीको हौसला बढाउँदै सरल भाषामा प्रस्तुतिको समय उभिन, बोल्न र सम्बोधन गर्न सिकाउनसमेत पछि परेनन्। चार सेसनमा संचालन गरिएको कन्फरेन्समा स्नातकदेखि स्नतकोत्तर तहसम्मका विद्यार्थीले नयाँ खोज अनुसन्धानको परिणामबारे चर्चा गरिरहेका थिए।

‘तपाईंले आफनो अनुसन्धानमा तीन वर्ष पुराना तथ्यांक प्रयोग गर्नुभएको छ। तर, हाल इन्टरनेटमा हेर्नु भयो भने २०१९कै तथ्यांक आइसकेको छ,’ प्राध्यापक शाक्यले एक प्रस्तुतिकर्ता विद्यार्थीलाई सुझाए, ‘अब विश्वविद्यालयका विद्यार्थी शैद्धान्तिक ज्ञान मात्र हासिल गरेर अघि बढ्न पाइलापाइलामा चुनौती खेप्नु पर्छ।’
उनले थपे, ‘त्यही भएर विद्यार्थीले सबैभन्दा बढी अनुसन्धान गर्नै पर्छ। अनि मात्र विश्व बजारमा बिक्न सक्ने जनशक्ति बन्छन्।’

एक दिने कन्फरेन्समा विद्यार्थीले मात्र होइन, शिक्षकले समेत नयाँ विषयमा गरिएको अनुसन्धानको नतिजालाई प्रस्तुत गरेका थिए। इ. अनिलकुमार पंजियारले खेर गइरहेको विद्युतलाई कसरी जोगाउनेबारे प्रस्तुति गरेका थिए। ‘हाल नेपालमा ७० प्रतिशत वितरण गर्दा खेर गइरहेको छ,’ एडभान्स कलेजका शिक्षकसमेत रहेका इ. पंजियारले भने, ‘यसलाई रोक्न सके हाम्रो देश लोडसेडिङमुक्त हुन्छ। हामीले अन्य देशमा विद्युत बिक्री गर्न सक्छौं।’

सिभिल, इलेक्ट्रोनिक्स, कमप्युटर र इलेक्ट्रिकल विषयमा आधारित भएर शिक्षक तथा विद्यार्थीले प्रस्तुति गरेका थिए। कनफरेन्समा सहभागी पुल्चोक इन्जिनियरिङ कलेजका प्राडा शशीधरराम जोशीले विद्यार्थी र शिक्षकले गरेका नयाँ अनुसन्धानले विज्ञान, प्रविधि तथा इन्जिनियरिङ क्षेत्रमा थप आयाम थप्ने विश्वास व्यक्त गरे। ‘नयाँ अनुसन्धानबारे जानकारी एक अर्कामा सेयरिङ गरिनु नै त्यो क्षेत्रको प्राज्ञिक उन्नयन हुनु हो,’ जोशीले भने, ‘यस्तो प्रयासले विद्यार्थीलाई सृजनशील बनाउँछ।’

प्राध्यापक शाक्यले अध्ययनमा अनुसन्धान संस्कृतिले विद्यार्थीको प्राज्ञिक र औद्योगिक ज्ञान बढाई आ–आफ्नो क्षेत्रमा काम गर्न सहज बन्ने जिकिर गरे। ‘अब प्राज्ञिक ज्ञानको प्रमाणपत्रले मात्र पुग्दैन,’ शाक्यले भने, ‘औद्योगिकतर्फ जानलाई प्रमाणपत्रसाथै अनुसन्धानको ज्ञान अनिवार्य हुनै पर्छ।’

उनले हरेक विद्यार्थी अनुसन्धानकर्ता हुनु पर्ने बताए। ‘हरेक विद्यार्थीलाई शैक्षिक कोर्ससँगै प्रोफेसनल कोर्स पनि अनिवार्य चाहिन्छ।’ अनि मात्र अध्ययन गरेको सीप र दक्षता प्रयोग गर्न सकिने उनको ठहर छ।

प्रकाशित: ९ मंसिर २०७६ ०३:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App