चन्द्र गुरुङ
स्विडिस एकेडेमीले विभिन्न विधाका लागि सन् २०१६ को नोबेल पुरस्कार एकएक गर्दै घोषणा गरिरहँदा संसारभरिका साहित्यप्रेमीको मनमा एउटा कौतुहलता चलायमान थियो– यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार कसलाई प्रदान गरिने हो। यही कौतुहलतालाई चिर्दै अक्टुबर १३ बिहीबारको दिन अन्य प्रतिस्पर्धीलाई उछिन्दै र धेरैलाई चकित पार्दै अमेरिकी गायक बब डिलनले साहित्यतर्फको नोबेल पुरस्कारमा आफ्नो नाम लेखाउन सफल भए। नोबेल समितिले डिलनलाई अमेरिकी गीत–संगीतमा पुर्याएको योगदान स्वरूप साहित्यतर्फको नोबेल पुरस्कार दिने घोषणा गर्यो। साहित्यमा यो प्रतिष्ठित पुरस्कार प्रत्येक वर्ष स्विडिस एकेडेमीका १८ जना सदस्य मिलेर छनोट गरी प्रदान गरिन्छ। उम्मेदवारको सिफारिस अन्य साहित्यिक एकेडेमी, संघसंस्था, साहित्यका प्राध्यापक र नोबेल लरेट्सले गर्छन्। हरेक वर्ष लगभग ३५० नोमिनेसन आउँछन्। जसबाट अन्तिम पाँच जना छनोटमा पर्छन् र एकजनालाई साहित्यमा पुर्याएको योगदानको आधारमा यो पुरस्कार प्रदान गरिन्छ।
यता साहित्य विधाको नोबेल पुरस्कारको घोषणा भइरहँदा डिलनचाहिँ अमेरिकाको लस भेगासमा एक सांगीतिक प्रस्तुतीमा व्यस्त थिए। तर, उनले आफूले प्राप्त गरेको पुरस्कारबारे कार्यक्रमपछि पनि केही प्रतिक्रिया दिएनन्। निकै दिनसम्म स्विडिस एकेडेमीका अधिकारीहरूले लगातार सम्पर्क गर्ने कोसिस गर्दा पनि उनी सम्पर्कमा आएका थिएनन्। एकेडेमीका पदाधिकारीहरूले डिलनको यस मौनतालाई असभ्य र घमण्डी बताएका थिए। अहिले आएर डिलनले एकेडेमीलाई धन्यवाद दिँदै पत्र पठाएका छन् र पुरस्कारप्रति आभार व्यक्त गरेका छन्। डिलनले आफ्नो पूर्व निर्धारित कार्यक्रमका कारण डिसेम्बर १० मा स्विडेनको राजधानी स्कटहोममा सम्मान ग्रहण गर्न जान नसकिने कुरा बताएका छन्। किनभने लन्डनको न्युबोन्ड स्ट्रिटस्थित हलसियोन ग्यालरीमा नोभेम्बर ५ देखि डिसेम्बर ११ सम्म डिलनका वाटर र अक्रेलिक चित्रहरूको प्रदर्शनी चलिरहेको छ।
डिलनको वास्तविक नाम रोबर्ट जिम्मेरम्यान हो। उनले आफ्नो नाम 'बब डिलन' वेल्सका प्रसिद्ध कवि डिलन थोमसको प्रभावबाट लिएका हुन्। उनको जन्म मिनिसोटाको डुलुथमा मे २४, १९४१ मा भएको थियो। उनी न्युयोर्कको संगीत परिदृश्यमा सन् १९६१ तिर देखापरेका थिए। सुरूदेखि नै अचम्मलाग्दा शब्द तथा अप्रत्यासित गीत लेखन स्टाइलले गर्दा उनी अरु कलाकार तथा समालोचकहरूका लागि आकर्षणको केन्द्र बनेका थिए। उनले केही वर्षभित्र जटिल गीत तथा रक एन रोल साउन्डमा ढालेर आश्चर्यजनक रूपमा लोकसंगीतलाई परिवर्तन गरेका थिए। उनका गीतहरू 'ब्लोइङ इन द विन्ड', 'द टाइम्स दे आर चेन्जिङ', 'लाइक अ रोलिङ स्टोन' आदि ले उनलाई लोभलाग्दो ख्याति दिलाए। उनका गीती एल्बमहरू दसौँ लाख संख्यामा बिक्री भइसकेका छन्। डिलनले गीतसंगीतमा प्रतिष्ठित सम्मान ग्रामी, अकाडेमी तथा गोल्डेन ग्लोबलगायतका थुप्रै पुरस्कार पाएका छन्। उनलाई सन् १९९८ मा 'रक एन रोल हल अफ फेम'बाट सुशोभित गरिएको थियो। सन् २००८ मा 'पुलित्जर' तथा २०१२ मा 'प्रेसिडेन्सियल मेडल अफ फ्रिडम'बाट पनि पुरस्कृत गरिएको थियो।
नोबेल समितिले गायक तथा गीतकार डिलनलाई अमेरिकी गीतसंगीत क्षेत्रमा पुर्याएको योगदान स्वरूप साहित्यतर्फको नोबेल पुरस्कार दिने घोषणा गरेलगत्तै उनको वरिपरि घुम्ने गरेको पुरानै बहस फेरि सुरु भएको छ। के डिलनका रचनाले संगीतबिना पनि कविताको रूपमा आफ्नो शक्ति कायम गर्न सक्ने खालका छन् त? साहित्यिक विद्वान्हरूले धेरै अघिदेखि कविका रूपमा डिलनका गीतमाथि प्रश्न उठाउँदै आएका थिए। धैरेले फेरि त्यही प्रश्न तेर्साउन थालेका छन् कि यस वर्षको पुरस्कार सही पात्रले पाएकै हो त? हुन त स्विस एकेडेमीको यस निर्णयले डिलनलाई संगीतमात्रै होइन शब्दको पनि लिजेन्ड बनाइदिएको छ। धेरैलाई आर्श्यचकित तुल्याएको छ। थुप्रै साहित्य समालोचक गीतलाई पूर्ण कविता मान्न हिच्किचाउँछन्। गीतलाई पूर्णरूपमा ग्रहण गर्न पर्फर्मेन्स चाहिने मत उनीहरू राख्छन्। एउटा कविता पानामा सानले उभिन्छ एक्लै, आफ्नो टाइमिङ र भित्री संगीतलाई नियन्त्रण गर्दै जबकि गीतले शब्द, संगीत र स्वरलाई साथमा हिँडाउँदा मात्रै यसको क्षमता प्रकट हुने बताउँछन्। कतिपयले यो निर्णयलाई गलत दिशाउन्मुख भनेका छन्। धेरैले प्रतिभाशाली हुँदाहुँदै पनि गीत लेखन कहिल्यै साहित्यको स्तरसम्म उठ्न नसक्ने मान्छन्। साहित्यका एकजना बेस्टसेलिङ उपन्यासकार जोडी पिकोट भन्छन्, 'म बब डिलनसँग खुसी छु, तर यसको अर्थ के म ग्रामी अवार्ड जित्न सक्छु?' उपन्यासकार रवि अलामेद्धिनेले पनि टि्वट गर्दै भनेका छन्, 'यो विन्स्टन चर्चिललाई नोबेल प्रदान गरिनुजस्तै बेबकुफी हो।' सन् १९५३ मा बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिललाई उनका भाषणहरूमा पाइने साहित्यिक गुण र वक्तृत्वकलाको लागि नोबेल पुरस्कार प्रदान गरिएको थियो।
अर्कोतर्फ साहित्यका केही मुख्य लेखकहरू जस्तैः स्टेफन हकिङ, जोएस ओटेस तथा सलमान रुस्दीले डिलनको साहित्यिक उपलब्धिप्रति खुसी व्यक्त गरेका छन्। अमेरिकी कवि बिल्ली कोलिन्स पनि डिलनले नोबेल पुरस्कार पाएको सही ठान्छन्। कोलिन्स भन्छन्, 'डिलन मात्रै गीतकार होइनन् एक कवि पनि हुन्।' डिलनका गीत र संगीतमा साहित्यको स्वाद भेटिन्छ। कोलिन्सले एक अन्तवार्तामा भनेका छन्, 'बब डिलन ती दुई प्रतिशत गीतकारको समूहका हुन् जसका गीत माउथअर्गन, गिटार र स्वरबिना पनि पानामा रोमान्चक हुन्छन्। र, म सोच्छु उनी कविको रूपमा सक्षम छन्।' दि अक्सफोर्ड बुक अफ अमेरिकन पोयट्रीले उनको एक गीत 'डजोलेसन रो'लाई २००६ इडिसनमा र 'मिस्टर टम्बराइन म्यान' गीतको लिरिक्सलाई नोर्टन इन्टोडक्सन टु लिटरेचरमा सामेल गरेको छ। उनले कविताकृति र संस्मरण प्रकाशित गरिसकेका छन्। सन् १९७१ मा कविता र निबन्ध 'तारान्तुला' र संस्मरण 'क्रोनिकल्स भोल्युम वन' सन् २००४ मा प्रकाशित भएका छन्। त्यस्तै, क्याम्ब्रिज युनिभर्सिटी प्रेसले २००९ मा दि क्याम्ब्रिज कम्पेनियन अफ बब डिलन रिलिज गरेको थियो। यी प्रकाशित किताबहरूले पनि डिलनलाई एक कविको रूपमा स्थापित गर्न सहयोग गरेका छन्। स्विडिस एकेडेमीले पनि आफ्नो चयनलाई पूर्णरूपमा सही बताउन कुनै कसर बाँकी राखेको छैन। यो विषयमा एकेडेमीले भनेको छ, 'डिलनले अमेरिकी गीत परम्पराभित्र कवितात्मक अभिव्यक्ति सिर्जना गरेका छन्।' एकेडेमीको स्थायी सचिव सारा दानियसले साहित्यमा बब डिलनको लेखनको योगदानलाई प्राचीन ग्रिसका लेखकहरूसित जोडेकी छन्। लगभग २५०० वर्षअघि, ग्रिसका लेखक होमर र सफ्फोलगायत यस्ता काव्यिक रचना गर्थे, जसलाई वाद्ययन्त्रमा बजाइन्थ्यो र सुन्नुपर्थ्यो। यी गीतहरूको आनन्द पढेर पनि लिन सकिन्थ्यो र यस्तै बब डिलनका गीतहरू पनि हुन्।
डिलनले पाँच दशक लामो सांगीतिक जीवनमा ४० भन्दा धेरै एल्बम निकालेका छन्। थुप्रै समालोचकले उनलाई आधुनिक संगीतमा सबैभन्दा प्रभावशाली गीतकार मान्छन्। डिलन आफ्ना गीतमा संगीतभन्दा धेरै शब्दमा ध्यान दिन्छन्। जसका कारण उनका थुप्रै गीतका पंक्तिलाई उच्च दर्जाको कवितासँग तुलना गरिन्छ। थुप्रै साहित्य र संगीतका पारखी अन्योलग्रस्त हुन्छन्, उनलाई कवि मान्ने कि गीतकार! डिलनलाई यही प्रश्न सन् १९६५ मा एउटा प्रेस कन्फरेन्समा सोधिएको थियो र उनले गज्जबले भनेका थिए, 'म आफूलाई धेरै त गाउने र नाच्ने मान्छे ठान्छु।' कवि कि गायक, डिलनको क्यारियरबारे यस्तो बहस सुरुदेखि नै हुँदै आएको हो। यो बहस सन् २००४ मा झन् चर्कियो, जब इन्टरनेटमा उनको नोमिनेसन साहित्यतर्फ नोबेल पुरस्कारको लागि भएको छ भन्ने हल्लाले चक्कर मारिरहेको थियो। अक्सफोर्डका पोयट्री प्रोफेसर क्रिस्टोफर रिक्सले डिलनलाई कविको रूपमा परिचय दिलाउँदै आएका छन्। उनले 'डिलन्स भिजन अफ सिन', 'लिरिक्स १९६२–२००१,'कलेक्सन अफ डिलन्स सङ्स' आदि किताब प्रकाशनमा ल्याएका छन्। क्रोनिकल्स, डिलनका संस्मरणहरू, ७२४ पेजको विश्वकोश र 'स्टुडियो ए' शीर्षकमा लेखसंग्रह प्रकाशित छन्। 'स्टुडियो ए'मा एलन गिन्सबर्ग, जोयस क्यारोल ओएट् र रिक मोडी तथा बैरी हन्नाहजस्ता ख्यातिप्राप्त व्यक्तिले डिलनमाथि लेखेका लेखहरू छन्। क्रिस्टोफर रिक्सले टीएस इलियट र जोन किट्समाथि किताब लेखेका छन्। उनी दाबी गर्छन्, डिलनका रचनाहरूले कविताको मापदण्ड पूरा गर्छन् र उनी मिल्टन, किट्स र टनिसनका स्तरका एक अब्बल दर्जाका कवि हुन्। उनी भन्छन्– डिलनका रचनाहरू आश्चर्यजनक र बेजोड छन्। गोर्डन बाल भर्जिनिया सैनिक संस्थामा एक लेखक तथा प्रोफेसर हुन्। उनले सन् १९९६ देखि डिलनलाई हरेक वर्ष नोबेल पुरस्कारको लागि नोमिनेट गर्दै आएका छन्। बाल भन्छन्–उनले डिलनलाई सुरुमा प्रसिद्ध अमेरिकी बिट कवि एलन गिन्सबर्गको अनुरोधमा नोमिनेट गर्न थालेका थिए। डिलन सन् १९९६ देखि नोबेल पुरस्कारको लागि नोमिनेसनमा परिरहेका थिए। पुलित्जर पुरस्कार जुरीले सन् २००८ मा डिलनलाई उनको सिर्जनाको काव्यिक क्षमताले पपुलर संगीत र अमेरिकी कल्चरमा पुर्याएको योगदानको लागि सम्मान गरेको थियो। सायद यही कारण नोबेल पुरस्कार समितिलाई डिलनलाई पुरस्कार प्रदान गर्न प्रेरित गर्यो।
डिलनले गाउनकै लागि थुप्रै गीत लेखे। र, यी गीतहरूले उनलाई नाम, दाम र काम सबै दिलाए। उनका गीतहरूका शब्दलाई केलाउँदा थाहा हुन्छ, उनी दिलैले कवि हुन्। यी गीतहरूका शब्दमा मायाप्रेम, समाजप्रतिको दायित्व र मानवीय संवेदना भेटिन्छन्। डिलनले आफ्ना गीतसंगीत र लेखनमा मानवीय विषयवस्तुलाई प्रमुख ठाउँ दिएका छन्। उनका थुप्रै्र रचना यही कारण धेरैले मन पराएका हुन्। उनको उदय प्रोटेस्ट गीतहरूको साथ भएको थियो। यी गीतहरूले नयाँ राजनीतिक र आर्टिस्टिक आन्दोलनलाई प्रेरणा दिएका थिए। उनका गीतले कवि र एक्टिभिस्टहरूलाई सधैँ ऊर्जा प्रदान गरेका छन्। यी गीतहरूले परिवर्तनको आह्वान गर्छन्, जसका कारण उनका गीत थुप्रै आन्दोलन, सिभिल राइट तथा युद्धविरोधी अभियानहरूमा स्लोगन बनेका छन्। उनका गीतमा आशा झल्किन्छ। गीतमा उनी सम्भावनाका नयाँ ढोका उघार्छन्। शीतयुद्ध, भियतनाम–अमेरिका युद्धताकाको अँध्यारो समयलाई उनका गीतहरूले सम्बोधन गरेका छन् । डिलन दिलैबाट मानवताको हित चाहने सर्जक हुन्। उनले गीतमार्फत् युद्धको विरोध गरे र सिभिल राइट मुभमेन्टको समर्थनमा आफ्ना शब्दहरू उपयोग गरे। उनले बेलाबेलामा आफ्नो गीतबाटै लेखक, समालोचक, सिनेटर, कांग्रेसम्यान, आमाबाबालाई अगाडि आएर परिवर्तनलाई आत्मसात गर्न आह्वान गरे। यसमा दुईमत छैन कि, डिलन धेरै हदसम्म कविताबाट प्रभावित छन्। किनभने, उनी कवि हृदयका व्यक्ति हुन्।
गीत लेखन, गायन, संगीत र कविताबाहेक डिलनको परिचय एउटा चित्रकार, फिल्मकार, नायक र डिस्कजकीको रूपमा पनि छ। डिलनको स्ट्याटस एउटा आइकनको छ। समकालीन संगीतमाथि उनको गहिरो प्रभाव छ। पाँच दशक लामो सांगीतिक जीवनमा उनले अनेक प्रकारले गीतसंगीतको क्षेत्रमा क्रान्ति ल्याएका छन्। आधुनिक समयको गीतसंगीतलाई नयाँ रूप दिन, प्रभाव पार्न र सफल बनाउन उनको योगदान महत्वपूर्ण छ। उनले अमेरिकी गीतसंगीतमा लोक, ब्लुज, कन्ट्रीदेखि गोसपेल, रक एन्ड रोल अनि रोकबेलीदेखि अंग्रेजी, स्कटिस, आइरिस लोकसंगीत तथा जज र महान् अमेरिकी सङबुकलाई अँगाल्दै गीतसंगीतलाई नयाँ उचाई प्रदान गरेका छन्। डिलन आश्चर्यजनक प्रतिभा हुन्। नोबेल सम्मानपछि उनी विश्वविख्यात साहित्यकारहरू टीएस इलियट, ग्याब्रियल गार्सिया मार्खेज, टोनी मोरिसन तथा स्यामुएल बेकेटजस्तासँगै उभिन पुगेका छन्। यसले उनलाई एक अलग पहिचान दिलाएको छ। विश्व अंग्रेजी साहित्यमा वाल्ट ह्टिमेनले छन्दको पुरानो परम्परालाई भत्काउँदै नयाँ स्वतन्त्र लेखन भित्राएझैँ डिलनले पनि नयाँ खोज भित्राएका छन्, गीतसंगीतको दुनियाँमा। उनलाई लोकसंगीतको अन्वेषक, साठीको दशकको आवाज, ब्लुज सिंगर, रक स्टार, च्याम्पियन अफ गोसपेल, कन्ट्री सिंगर, पुरानो स्टाइलको क्रोनर र अब नोबेल पुरस्कार विजेताको रूपमा चिन्नेछन् आउने पिँढीले।
डिलनको योगदान विश्वसंगीतमा अतुलनीय छ। त्यही गीत र संगीतको एउटा पाटो हो उनको कविताकर्म। हुन त एक प्रख्यात संगीतकारलाई संसारकै उच्चतम साहित्यिक पुरस्कारको लागि छनोट गरेर नोबेल पुरस्कार प्रदान गर्ने स्विडिस एकेडेमीले नाटकीयरूपमा साहित्यको सीमालाई पुनरपरिभाषित गरेको छ। साथै, एउटा बहसको थालनी गरेको छ, के गीतको त्यति नै साहित्यिक महत्व हुन सक्छ जति कविता र उपन्यासको हुन्छ? नोबेल पुरस्कारपछि विश्वभरि उनी एक कवि हुन् वा गायक–गीतकार भन्ने बहस चलेको छ। यसलाई डिलन आफैले चाहि उहिले नै सन् १९६३ तिर आफ्नो दोस्रो एल्बम 'द फ्रि विलिङ'मा भनिसकेका थिए– जेजे म गाउन सक्छु, म गीत भन्छु र जेजे म गाउन सक्दिनँ त्यसलाई कविता भन्छु।
प्रकाशित: २५ मंसिर २०७३ ०४:४८ शनिबार