८ वैशाख २०८१ शनिबार
कला

नेपाली फिल्मको लोकप्रियता घट्दो

काठमाडौं - सामाजिक सञ्जाल युट्युबमा नेपाली फिल्महरू अपलोड गर्ने शैली विकसित हुँदै गर्दा यसको लोकप्रियता घट्दै गएको छ। हलमा फ्लप भएका नेपाली फिल्म सामाजिक सञ्जाल युट्युबमा धेरैले हेरेपनि नकारात्मक प्रतिक्रियाका कारण यसको लोकप्रियता बिस्तारै घट्दो रहेको युट्युब च्यानल सञ्चालकहरू बताउँछन्।

पछिल्लो समय फिल्म निर्माता र निर्देशकहरू फटाफट युट्युबमा नेपाली फिल्म अपलोड गर्दै पैसा कमाउन लागि परेका छन्। विभिन्न युट्युब च्यानल सञ्चालकहरूले फिल्म निर्माता र निर्देशकहरू पैसा दिएर फिल्म किन्ने संस्कृति बढ्दो छ। त्यसबाहेक सफल भनिएका फिल्म निर्माता र निर्देशकहरू आफ्नै च्यानल खोलेर फिल्म अपलोड गर्न आतुर देखिन्छन्।

युट्युब अधिकांश फिल्म अपलोड गर्ने हाइलाइट्स नेपालका अनुसार युट्युबमा राखिएका फिल्महरू हेर्ने दर्शक तुलनात्मक रूपमा घटेका छन्। ‘फिल्म अपलोड गरेको केही समयसम्म दर्शकको संख्या बढेजस्तो देखिएपनि अहिले युट्युबमार्फत् नेपाली फिल्म हेर्न दर्शक घटेका छन्, ’हाइलाइट्स नेपालका जनक तामाङले भने, ‘दर्शकलाई मन परेको कथावस्तु र गुणस्तर विज्ञापन आउने फिल्म युट्युबमा अपलोड भए चारदेखि पाँच लाखसम्म कमाउन सकिन्छ।’

पछिल्लो समय फिल्म निर्माता र निर्देशकहरु फटाफट नेपाली फिल्म युट्युबमा अपलोड गर्दै पैसा कमाउन लागि परेका छन्।

अर्को युट्युबमा नेपाली फिल्म अपलोड गर्ने हाइटेक इन्टरटेन्टमेन्टका सञ्चालक राजेन्द्र मानन्धरका अनुसार युट्युबका कारण हलसम्म नेपाली फिल्म हेर्न पुग्ने दर्शक घटेका छन्। नेपाली फिल्म युट्युबमा पनि हेरिन छाडेको अनुभव उनले सुनाए। ‘नेपाली फिल्मको विषयवस्तुका कारण युट्युबमा दर्शक घटेका छन्। युट्युबमा राखिने अधिकांश नेपाली फिल्ममा नकारात्मक प्रतिक्रिया आइरहेको हुँदा यसको लोकप्रियता घट्दो छ,’उनले भने।

ओएसआर डिजिटल च्यानलमा राखिएको नेपाली फिल्महरूमा आएको प्रतिक्रिया मिश्रित छन्। यसका संञ्चालक ओम अग्रवालका अनुसार युट्युब मिश्रित दर्शकले प्रयोग गर्ने हुँदा राम्रो भनिएका फिल्म हेर्ने दर्शक कम हुन सक्ने र नराम्रो भनिएको फिल्मको दर्शक धेरै हुन सक्छन्। ‘युट्युबमा राखिसकेपछि फिल्म सकियो भन्ने मान्यता रहेको छ,’ उनले भने, ‘फिल्मको दर्शक खासै छैनन्। राम्रा भनिने फिल्महरू युट्युबमा पाइँदैनन् भन्ने मान्यता छ। यसले गर्दा दर्शकले धेरै हेरेको फिल्ममा नकारात्मक प्रतिक्रिया धेरै हुने गरेका छन्।’

बुढासुब्बा डिजिटलका नवराज गिरीका अनुसार युट्युबमा अपलोड भएको कारण नेपाली फिल्मको लोकप्रियता घट्दै गएको बताए। ‘आधुनिक प्रविधिको आगमनसँगै सबैको हात हातमा स्मार्ट फोन, फिल्म हेर्ने विभिन्न थरीका एप्स र इन्टरनेटको बढी प्रयोगले यसको प्रयोगकर्ता बढेसँगै युट्युबमा राखिएका नेपाली फिल्म हेर्ने दर्शक घटेका छन्।

उनका अनुसार बुढासुब्बा डिजिटलमार्फत् हरेक महिना एउटा नेपाली फिल्म अपलोड हुने गरेपनि नकारात्मक प्रतिक्रिया धेरै आउने जानकारी दिए। नेपाली फिल्म क्षेत्रमा दर्शकले कस्ता फिल्म मन पराउँछन् भन्ने समेत थाहा नपाई फिल्म अपलोड गर्नुपर्ने बाध्यताले नेपाली फिल्मको लोकप्रियता र दर्शक घटेको उनले बताए। पछिल्लो समय फिल्मका विषयवस्तु विविधता आउनु पनि नेपाली फिल्मको लोकप्रियतामा घट्नुको मुख्य कारण भएको उनले दाबी गरे।

प्रकाशित: ९ मंसिर २०७६ ०३:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App