७ वैशाख २०८१ शुक्रबार
समाज

सडकमा ढिलासुस्तीविरुद्ध नागरिक आन्दोलन

चरिकोट–खाडीचौर सडकमा ढिलासुस्तीविरुद्ध शनिबार दोलखा सदरमुकाम चरिकोटमा निकालिएको सिठी जुलुस। तस्बिर : रमेश/नागरिक

दोलखा – पाँच वर्षदेखि अलपत्र परेको खाडीचौर–चरिकोट सडकमा ठेकेदार कम्पनीको लापरबाही र ढिलासुस्तीविरुद्ध सर्वसाधारणले संघर्ष थालेका छन्। दोलखाको ‘लाइफलाइन’ मानिएको खाडीचौर–चरिकोट सडक ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण अलपत्र परेपछि चरिकोटमा नागरिक स्तरबाट संघर्ष सुरु भएको हो।

सडक अलपत्र पार्ने ठेकेदार कम्पनीका मालिकको फोटो गाडीमा टालेर सांकेतिक विरोध सुरु गरेका दोलखाबासीले चरिकोटमा मानव साङ्लो र सिठी जुलुस निकालिसकेका छन्। जनताले सास्ती बेहोर्नुपरेको कुरा सडक विभाग र ठेकेदार कम्पनीको कानसम्म पुगोस् भनेर शनिबार बिहान चरिकोटमा सिठी जुलुस आयोजना गरिएको नागरिक आन्दोलनका अभियन्ता चीरञ्जीवी मास्केले बताए।

सिठी जुलुसपछि सातदोबाटो चोकमा आयोजित कोणसभामा पत्रकार महासंघका जिल्ला अध्यक्ष जीवन लामाले विकास निर्माणमा राज्य र निर्माण व्यवसायीको लापरबाहीका कारण नागरिकले सास्ती बहोर्नुपरेपछि जिल्लाबासी सडक संघर्षमा आउन बाध्य हुनुपरेको बताए। सडकमा भइरहेको ढिलासुस्तीविरुद्धको आन्दोलनका अभियन्ता मास्केले ठेकेदारलाई तत्काल काममा फर्किन आग्रह गरे। उनले बेवास्ता गरे आन्दोलन अझ चर्काउने चेतावनी दिए। अर्का अभियन्ता गोकर्ण भण्डारीले नागरिक स्तरबाट सुरु गरिएको खबरदारी ठेकेदार कम्पनीसहित परामर्शदाता र सडक विभागका विरुद्धसमेत भएको सुनाए।

ठेकेदारले काम नगरेपछि आजित दोलखावासी ठेकेदारसहित सडक विभाग, सडक आयोजना र परामर्शदातालाई विपक्षी बनाएर अदालत जाने भएका छन्।

दोस्रो चरणको आन्दोलनअन्तर्गत स्थानीयले आइतबार जिल्लाका कानुन व्यवसायीसँग छलफल गरेका छन्। बार एसोसिएसन दोलखाको हलमा भएको छलफल कार्यक्रममा काम नगर्ने ठेकेदार कम्पनी, सडक विभाग, सडक आयोजना र परामर्शदातालाई विपक्षी बनाएर सडक बनाउने समय सीमासहित अन्तरिम आदेशको माग गर्दै उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गर्न कानुन व्यवसायीले सुझाएका थिए। दोलखा बार एकाइका अध्यक्ष सरोज उप्रेतीले तत्काल समय सीमा तोकिदिन आग्रह गर्दै अदालत जान सुझाव दिएको सुनाए। आइतबारको छलफललगत्तै राजधानीमा कार्यरत दोलखाबासी अधिवक्ता प्रवीण प्रधानले उच्च अदालतमा रिट दायर गर्ने भएका छन्।

अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको खाडीचौरबाट सुरु हुने लामोसाँघु–जिरी सडकलाई स्तरोन्नति गर्ने भन्दै सरकारले ५ वर्षअघि पहिलो चरणमा खाडीचौरदेखि चरिकोटसम्मको काम ठेक्का लगाएको थियो। सबा अर्ब लागतमा दुई प्याकेजमा बाँडेर दिइएको ठेक्कामध्ये २५ किलोमिटरको खाडीचौर मुडे खण्डमा ५ वर्षमा १३ किलोमिटरमात्र कालोपत्रे भएको छ भने ३० किलोमिटरको मुडे–चरिकोटखण्डमा कालोपत्रेको काम सिन्कोसमेत भाँचिएको छैन।

प्रकाशित: ९ मंसिर २०७६ ०३:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App