८ वैशाख २०८१ शनिबार
समाज

पितृका नाममा शिवालयमा शतबीज छरिँदै

फाइल तस्बिर

हेमराज भट्टराई ‘शास्त्री’

काठमाडौं - बालाचतुर्दशी पर्वको अवसरमा सोमबार देशभरका विभिन्न शिवालयमा शतबीज छरी मनाइँदै छ। हिन्दु पात्रोअनुसार हरेक वर्ष मार्गशीर्ष (मंसिर) कृष्ण चतुर्दशीका दिन यो पर्व मनाइने धार्मिक मान्यता छ। बालाचतुर्दशी पर्वलाई शतबीज रोपण पर्व पनि भनिन्छ। यस दिन विशेषगरी दिवंगत पितृहरूको उद्धारको उद्देश्यले उनीहरूको सम्झना गर्दै पशुपतिलगायत विभिन्न शिवालयमा शतबीज छरिन्छ।

मार्ग कृष्ण पक्ष त्रयोदशीका दिन साँझ विभिन्न शिवालयमा तीलको तेलमा बत्ती बाली रातभरि जाग्राम बस्ने र भोलिपल्ट अर्थात् चतुर्दशीको दिन बिहान सबेरै मन्दिरवरिपरि शतबीज छरेर भगवान् शिवजीको दर्शन तथा पूजन गरे समस्त पितृहरूको उद्धार हुने शास्त्रमा उल्लेख छ। अन्य शिवालयभन्दा पशुपतिनाथ मन्दिरमा शतबीज छर्नुको विशेष महŒव रहेको बताउँछन् वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभाग प्रमुख प्राध्यापक डा. देवमणि भट्टराई। यसैले आफ्ना पितृहरूको उद्धारको उद्देश्यले भक्तजन देशभरबाट पशुपति क्षेत्र आइपुग्ने गरेका छन्। पशुपतिनाथमा छरिने शतबीजको महŒव बताउँदै हेमाद्रिले भनेका छन्, ‘जसले पशुपति मन्दिरवरिपरि एक रति सुनबराबर धानमात्र भए पनि छरेर काठमाडौंको मृगस्थलीं घुम्यो भने उसको पुनर्जन्म हुँदैन वा जन्ममृत्युको जन्जालबाट मुक्ति पाउँछ।’

‘शतम्’को अर्थ सय र ‘बीज’को अर्थ बिउ हुन्छ। तथापि शतबीजमा सय नभएर सात प्रकारका खाद्यान्न धान, जौ, गहुँ, चना, तिल, कागुनु र मकैलाई लिइने गरेको पाइन्छ। साथै शतबीजमा केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती, निबुवा, बिमिरो, अमला आदि फल तथा विभिन्न किसिमका फूलहरू पनि मिसाउने र छर्ने गरिन्छ। तसर्थ यस दिन काठमाडौंस्थित पशुपति मन्दिरपरिसरमा भक्तजनको भीड लाग्ने गरेको छ। आफ्नो वंशमा दिवंगत पितृलाई शान्ति दिलाउन पशुपति, १०८ शिवलिंग, गुह्येश्वरी, कैलाश, गौरीघाट, आर्यघाट, सूर्यघाट, मृगस्थली, विश्वरूप तथा किरातेश्वर मन्दिरमा शतबीज छर्ने गरिएको छ। त्रयोदशीको रातमा पितृको नाम लिई महादीप बाल्ने, भजनकीर्तन गर्ने तथा लोक झाँकी र दोहोरी गीत गाएर रात बिताउने गरिन्छ। शतबीज छर्दै मृगस्थलीस्थित गणेशको मूर्तिलाई हल्लाउँदै उच्च स्वरले दिवंगत आत्माले पाउने गरी सन्देश पु¥याउन गणेशलाई अनुरोध गर्ने परापूर्वकालदेखि चलन रहेको प. बलराम सिग्देल बताउँछन्।

पौराणिक मान्यता
भगवान् शिव मृगरूप लिई जहाँजहाँ घुमेका थिए, तीती पुण्य क्षेत्रमा बालाचतुर्दशीका दिन एक गेडा मात्र बीज छर्दा पनि त्यतिबराबर नै सुन दान गरेबराबरको पुण्य मिल्ने र आफ्ना समस्त पितृले मुक्ति पाउने स्कन्द पुराणमा उल्लेख छ। बाग्मतीकिनारमा रहेको मृगस्थलीमा भगवान् शिव मृगरूप धारण गरी विहार गरेको थाहा पाई त्यही शिवरूपी मृगलाई चिन्न पार्वतीले विभिन्न किसिमका बीज छरेको र ती बीज उम्री हरिया भएपछि मृगहरू आउँदा सो बथानमा भगवान् शिवलाई पार्वतीले चिनेको पौराणिक कथा रहेको छ।

यसैगरी पशुपति आर्यघाटमा बस्ने ‘बालानन्द’ नामक मानिस खाजा खान लाग्दा दाहसंस्कार गरिरहेको मुर्दाको टाउको फुटेर उछिट्टिएको गिदी उनको चिउरामा परेको र सो गिदीसँगै चिउरा खाँदा झन् मीठो भएकाले त्यसै बेलादेखि उनी मुर्दाको गिदी खान थाले। साथै उनको लामालामा दाह्री, जुँगा र कपाल देखेर मानिसले उनलाई बालासुर राक्षस भन्न थाले र उनीबाट डराउन थाले। त्यसै समयमा उनलाई चिनेका एकजना बूढाको सल्लाहअनुसार स्थानीयले बालासुरको मीत वृषसिंहलाई उकासेर मार्न लगाएको किंवदन्ती पनि छ।

मीतको हत्यापछि डराएर छटपटाएका वृषसिंहलाई सपनामा भगवान् शिवजीले दर्शन दिई यसै दिन सतबीज छर्न आज्ञा दिएकाले श्लेष्मान्तक वनवरिपरि शतबीज छर्दा बालासुर वैतरणी नदी तरेर गएकाले त्यसै बेलादेखि यस दिनलाई बालाचतुर्दशी भनी दिवंगत आत्माको शान्तिका लागि शतबीज छर्नुपर्ने स्कन्द पुराणमा उल्लेख रहेको हरिप्रसाद सोडारी बताउँछन्।

प्रकाशित: ९ मंसिर २०७६ ०२:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App