४ वैशाख २०८१ मंगलबार
राजनीति

पार्टी एकता नसकिनुमा नेतृत्वकै कमजोरी : नेता श्रेष्ठ

सर्लाहीमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ। तस्बिर :टंक/नागरिक

सर्लाही – नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले सचिवालय कमिटीको कमजोरीका कारण पार्टीको तल्लो तहसम्म एकता प्रक्रिया टुंगिन नसकेको बताएका छन्। आइतबार सर्लाहीको हरिवनस्थित स्वाभिमान अस्पताल परिसरमा पत्रकारसँग कुरा गर्दै नेकपाका प्रभावशाली नेता श्रेष्ठले त्यस्तो कुरा बताएका हुन्। ‘सचिवालय कमिटीकै कमजोरीका कारण पार्टीको तल्लो तहसम्म एकता प्रक्रिया टुंगिन सकेको छैन,’ श्रेष्ठले भने, ‘तीन महिनामै सक्ने भनिए पनि डेढ वर्ष बितिसक्दा समेत तल्लो तहसम्म पार्टी एकता प्रक्रिया टुंगिन नसक्नुमा अरु कसैलाई दोष दिनुभन्दा पनि हामी नेतृत्वकै मुख्य कमजोरी हो।’ अब चाँडै नै तल्लो तहसम्मको एकता प्रक्रिया टुंगिने समेत उनले विश्वास व्यक्त गरे।

पुराना मन्त्रीलाई निकाल्ने र नयाँ नियुक्तिमा पूर्वनेकपा एमाले र माओवादी केन्द्रबीच कुनै पनि किसिमको भागबन्डा नभएको श्रेष्ठले दाबी गरे। ‘बाहिर हल्ला भएजस्तो भागबन्डाबाट मन्त्री नियुक्त गरिएकै छैन,’ उनले भने, ‘पार्टीबाट सांसद् जितेका नेतागणलाई एकमतले मन्त्रीमा नियुक्त गरिएको हो।’ पूर्णरूपले असफल भएर नेताहरूलाई मन्त्रीबाट नहटाइएको जिकिर गर्दै नेता श्रेष्ठले सरकारको काम कारबाही थप प्रभावकारी बनाउन प्रधानमन्त्रीज्यूले फेरबदल गरेको श्रेष्ठको कथन छ। ‘उहाँलाई पूर्णरूपले असफल भएर वा नालायक भनेर मन्त्रीबाट हटाइएको हैन,’ श्रेष्ठले भने, ‘अरु साथीहरूलाई अवसर दिँदै सरकारको कामकारबाही थप प्रभावकारी बनाउने उद्देश्यले मन्त्रिमण्डल पुनर्गठन गरिएको हो।’

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको कम्युनिस्ट पार्टीको लाईन नै गलत रहेको श्रेष्ठले दाबी गरे। ‘विप्लव समूहको पार्टी लाइन नै गलत छ, वस्तुनिष्ठ छैन,’ उनले भने, ‘राजनीतिक अस्थिरता निम्त्याउने गतिविधि गरिरहनु भएको छ, हाम्रो पार्टी र सरकार वार्ताका लागि सकारात्मक छ र संवादकै माध्यमले समाधान गर्ने दिशामा कटिबद्ध छ।’ जनतालाई दमन गर्ने, तर्साउने, धम्क्याउने एवं हत्या हिंसाको बाटो छाडेर अबिलम्ब वार्तामा आउनसमेत उनले विप्लव समूहलाई आग्रह गरे।

भारतले मिचेको भूमि फिर्ता गराउने सवालमा सरकारले उच्च राजनैतिक एवं कूटनीतिक तहबाट कुरा गरिरहेको श्रेष्ठले दाबी गरे। ‘सरकारले भारत सरकारलाई वार्ताका लागि लिखित पत्र पठाईसकेको छ’, उनले भने, ‘भारतको जवाफ कस्तो आउँछ, त्यसअनुसार सरकारले उचित कदम चाल्नेछ।’ राष्ट्रिय सार्वभौमिकताको विषयमा नेकपा तथा सरकार गम्भिर रहेको उल्लेख पूर्व परराष्ट्रमन्त्री समेत रहेका नेता श्रेष्ठले मिचिएको भूमि फिर्ता गराउन सरकारले सक्दो पहल गरिरहेको दाबी गरे।

प्रकाशित: ९ मंसिर २०७६ ०२:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App