६ वैशाख २०८१ बिहीबार
अर्थ

देशभरि पाँच स्थानमा कृषि र पशुबजार बन्दै

काठमाडौं- कृषि तथा पशुजन्य उत्पादन बजार सुनिश्चित गर्न सरकारले ठूला बजार निर्माण सुरु गरेको छ। किसानका उत्पादनलाई सहज बिक्री–वितरणको व्यवस्था मिलाउन सरकारले देशका पाँच स्थानमा क्षेत्रगत आधारमा कृषि, पुष्प र पशुबजार निर्माण अघि बढाएको हो।

करिब ७६ करोड रुपैयाँ लागतमा कृषि मन्त्रालयअन्तर्गत व्यावसायिक कृषि तथा व्यापार आयोजनाले अत्याधुनिक सुविधासम्पन्न भवनसहित बजारको पूर्वाधार निर्माण थालेको छ। बजार पूर्वाधार निर्माण कार्यक्रमअन्तर्गत काठमाडौंको कीर्तिपुरमा पुष्पबजार, झापाको दमक र जनकपुरमा पशुबजार, मोरङको विराटनगर र बुटवलमा तरकारी बजार निर्माण गर्न लागिएको हो।

सम्बन्धित जिल्लाका कृषि कार्यालय, स्थानीय निकाय, किसान समूह, सहकारी, व्यापारीसँगको सहकार्यमा निर्माण थालिएका बजारले किसानलाई मात्र नभएर व्यापारीलाई पनि फाइदा पुग्ने देखिएको छ। कृषि तथा पशुजन्य वस्तुको बजार प्रवर्द्धन गर्न सरकारले काठमाडौंमा मात्र नभएर क्षेत्रीय तहमा ठूला बजारलाई प्राथमिकतामा राखेको छ। किसानले उत्पादन गरेका खाद्यान्न, तरकारी, फलफूलसहित गाईभैँसी, बाख्रा बिक्री सुनिश्चित गर्न सबै क्षेत्रमा बजार निर्माण गर्न लागेको कृषि मन्त्रालयले जनाएको छ। विश्व बैंकको सहयोगमा सञ्चालित कृषि तथा व्यापार आयोजनाअन्तर्गत मूल्य शृंखलामा आधारित कार्यक्रमअन्तर्गत बजार निर्माण गरिँदै छ।

कालीमाटी फलफूल तथा तरकारी बजारमा किसानले उत्पादन गरेको फलफूललाई व्यवस्थित गर्न कठिनाई भएपछि काठमाडौंकै कीर्तिपुर नगरपालिका– १५ चोभारमा ३६ करोड रुपैयाँको लागतमा सुविधासम्पन्न अत्याधुनिक भवनको शिलान्यास भइसकेको छ। कीर्तिपुरमा निर्माण हुन लागेको बजारमा फलफूल, फूलका लागि छुट्टाछुट्टै होलसेल तथा खुद्रा व्यापार गर्न आवश्यक करिब डेढ सय सटर निर्माण गर्ने योजना छ। त्यहाँ चिस्यान गर्ने कोठा, सूचनाकेन्द्र, गुणस्तरीय प्रयोगशाला, कार्गो लिफ्ट, सेमिनार हलको समेत व्यवस्था छ। दमकमा ११ करोड ३६ लाख रुपैयाँ, जनकपुरमा आठ करोड, विराटनगरमा १३ करोड ७६ लाख, बुटवलमा चार करोड रुपैयाँको लागतमा निर्माण गर्न लागिएको छ।

अहिलेसम्म सञ्चालनमा  आएका बजार व्यवस्थित नभएकाले ठूला–ठूला बजार निर्माण गर्न लागिएको आयोजना निर्देशक गोविन्दप्रसाद शर्माले बताए। 'किसानको उत्पादनलाई बजारको सुनिश्चितता जरुरी छ,' शर्माले भने, 'समुदायको मागलाई ध्यानमा राखेर बजारका लागि सबै सुविधा भएका अत्याधुनिक भवन निर्माण गर्न लागेका हौँ।'

ती बजारमा कृषि तथा पशुजन्य वस्तुको भण्डारण र बिक्रीको व्यवस्था गरिनेछ। दमक नगरपालिका– १२ मा चार बिघा क्षेत्रफलमा निर्माण गर्न लागिएको बजारमा पशुचौपाया बिक्री–वितरण हुनेछ। त्यहाँबाट वार्षिक करिब एक लाख पशुपक्षीको कारोबार हुने गरेको शर्माले बताए। 'पूर्वाञ्चलका अधिकांश जिल्लाका किसान र व्यापारीलाई निकै सजिलो हुनेछ,' उनले भने, 'त्यहाँ पशुपक्षीको उपचार समेत व्यवस्था हुनेछ।' सो बजारमा ०२९ सालदेखि पशुको किनबेच हुने गरेको भए पनि व्यवस्थित नहुँदा किसान र व्यापारी दुवैले समस्या झेल्दै आएका थिए।

बजारको सुरक्षाका लागि प्रायः सबैमा सिसी क्यामेरा, बिजुलीबत्तीका लागि सोलार, ढुवानीका लागि सवारी लोड/अपलोड गर्ने स्थान, सवारी पार्किङको पनि व्यवस्था हुनेछ।

परियोजनाले देशभरि किसान, कृषक समुह, सहकारी, निजी क्षेत्रलाई बजारमुखी उत्पादनमा सहभागी बनाई बजारको पहुँचमार्फत कृषि तथा पशुमा व्यावसायीकरण गर्दै आएको छ। बजार व्यवस्थित नहुँदा किसानले बिक्रीका लागि ल्याएका कृषिजन्य उत्पादन धेरै बिग्रिएर क्षति हुने गरेको छ। व्यवस्थित बजारले त्यसमा पनि न्यूनीकरण हुने अपेक्षा गरिएको छ। उत्पादक, व्यापारी, प्रशोधनकर्तालाई समेटेर किसानको व्यावसायिक क्षमता अभिवृद्धिमा समेत सहयोग गर्दै आएको छ। बजारमा कृषि वस्तुको स्वच्छता कायम गर्ने सुविधा एवं खाद्य गुणस्तर कायम गर्न आवश्यक प्रयोगशाला र उपकरणको पनि व्यवस्था गरिनेछ।

माछाका लागि पनि काठमाडौंमा बजार निर्माण गर्न बजेट विनियोजन गरेको भए पनि जग्गाको अभावले निर्माण सुरु हुन सकेको छैन। सरकारले कृषि तथा पशुमा आत्मनिर्भर बन्ने घोषणा गरिसकेकाले त्यसलाई सार्थक बनाउन बजार व्यवस्थापनलाई प्राथमिकतामा राखेको कृषि विकास मन्त्रालयले जनाएको छ। 'किसानलाई प्रोत्साहन गर्न उनीहरूले उत्पादन गरेका वस्तुको बिक्री सुनिश्चित हुनुपर्छ,' मन्त्रालयका प्रवक्ता योगेन्द्र कार्कीले भने, 'किसानको उत्पादनलाई बिक्री गर्न क्षेत्रगत आधारमा बजारका पूर्वाधार निर्माण गरिरहेका छौँ।'

मौरीसहितको घार पाएको तीन महिनामै उनीहरुले मह काढेर बेच्न सुरु गरेका छन्, महबाट न्यूनतम दुई हजार पाँच सयदेखि आठ हजार रुपैयाँसम्म आम्दानी लिइसकेका छन्।

प्रकाशित: २५ मंसिर २०७३ ०३:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App