७ वैशाख २०८१ शुक्रबार
खेल

राष्ट्रिय खेलकुदमा ४३ खेल

अजय फुयाल/सुजन श्रेष्ठ

काठमाडौं- राजधानी काठमाडौंमा साढे तीन दशकअघि सुरु भएको वृहत राष्ट्रिय खेलकुदले सातौं संस्करणसम्मको यात्रा गर्न लाग्दा सुरुको उद्देश्यबाट आफूलाई अलग गराइसकेको छ।

प्रत्येक दुई वर्षमा गर्ने योजनासहित २०३८ सालमा पहिलो पटक गरिएको राष्ट्रिय खेलकुद नियमितताको अनुशासनबाटमात्र च्युत भएको छैन। राष्ट्रिय खेलकुदमार्फत देशका सबै क्षेत्रमा पूर्वाधार विकास गर्ने भावना पनि पूर्वाञ्चलमा पहिलो पटक अर्को महिना हुने सातौं संस्करणले समेटने छैन।

नियमित रुपमा भएको भए १३ औं संस्करणको तयारीमा हुनुपर्ने बेला भइसकेको अवस्थामा हुन लागेको सातौं संस्करण पहिलो पटक पूर्वाञ्चल लगेर विकेन्द्रिकरणको एउटा उदेश्यमा भने खेल प्रशासनले इमान्दारी गरेको छ। जवकि पूर्वाधार निर्माणको पक्षमा यो संस्करण सबभन्दा बढि चुकेको छ। राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टका अनुसार सातौं संस्करणका लागि पूर्वाधार निर्माणमा २० लाख रुपैयाँमात्र खर्च भएको छ। खेल आयोजनाका लागि पूर्वाधारमा भएका अन्य सबै खर्च परिषदले आफ्नै नियमित वजेटबाट मिलाएको हो। राष्ट्रिय खेलकुदको अघिल्लो संस्करण पाँच वर्षअघि सुदूर पश्चिमाञ्चलमा सम्पन्न भएको थियो।

सातौं संस्करणमा आइपुग्दा राष्ट्रिय खेलकुदको आकारमा भने दोव्वरभन्दा बढि वृद्धि भएको छ। २०३८ भदौ २७ गते काठमाडौंको दशरथ रंगशालामा तत्कालिन राजा विरेन्द्रले उद्घाटन गरेको पहिलो राष्ट्रिय खेलकुदमा १६ खेलमा ४४ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो। यसपाली पूर्वाञ्चलले पहिलो पटक आयोजना गर्दा राष्ट्रिय खेलकुदमा दोहोरी, नृत्यलाई समेत खेलको दर्जा दिँदै ४३ खेल समावेश गरिएका छन्। त्यसमा पाँच खेललाई प्रदर्शनी खेलका रुपमा समावेश गरिएको छ भने चार खेलको पदकलाई आधिकारिकता नदिने आयोजक राष्ट्रिय खेलकुद परिषदले निर्णय गरेको छ। त्यसअनुसार सातौं राष्ट्रिय खेलकुदमा ३१ खेलले आधिकारिक रुपमा सहभागिता जनाउनेछन्।

राष्ट्रिय खेलकुद अन्तर्गत राखिए पनि गल्फ, स्नुकर, आर्चरी र फेन्सिङको पदकले आधिकारिकता नपाउने सदस्य सचिव विष्टले शुक्रबार पत्रकार सम्मेलनमा जानकारी गराए। यसैगरी नृत्य र दोहोरी गितसँगै राखिएका रग्वी, साम्बो, रक क्लाइम्बिङ, स्केटिङ, रोप स्केटिङ र बुदोकैदोलाई प्रदर्शनी खेलका रुपमा समावेश गरिएका छन्।

'सबै खेल राष्ट्रिय खेलकुदको ब्यानरमा हुनेछन्। खाली चार खेललाई पदक तालिकामा समावेश गरिनेछैन। गल्फ, स्नुकर, आर्चरी र फेन्सिङमा न्युनतम चार टिम नपुगेकाले पदक तालिकामा समावेश नगर्ने निर्णय गरेका हौं,' विष्टले भने।

प्रदर्शनी खेलवाहेक कुल ४ हजार २९ खेलाडीले ३५ खेलका विभिन्न इभेन्ट्समा ३ सय २८ स्वर्ण, ३ सय २८ रजत र ४ सय ८१ कांस्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन्। पाँच विकास क्षेत्रका साथै तीन विभागीय टोलीहरु नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब तथा शसस्त्र प्रहरी बलको एपिएफका आठ टोलीलेमात्र सातौं राष्ट्रिय खेलकुदमा सहभागिता जनाउन पाउनेछन्। यसअघि पाँचौं संस्करणमा माओवादीको पिएलए स्पोर्टस क्लबले सहभागिता जनाएको थियो भने छैटौंमा पिएलएसँगै विश्वविद्यालय टिम पनि राष्ट्रिय खेलकुदको हिस्सा थियो। पूर्वाञ्चलका ६ जिल्ला तथा काठमाडौं, ललितपुर र कास्कीका विभिन्न स्थानमा हुने प्रतियोगिताको उद्घाटन पुस ७ मा वीराटनगर रंगशालामा हुनेछ। यसैगरी समापन पुस १५ गते धरान रंगशालामा हुने परिषदले जनाएको छ।

सातौं संस्करणका लागि परिषदले फुटबल, एथलेटिक्स, तेक्वान्दो, बक्सिङ, कराते, भारोत्तोलन, भलिबल, टेबल टेनिस, कबड्डी, कुस्ती, ब्याडमिन्टन, उसु, जुडो, बास्केटबल, बुद्धिचाल, ह्यान्डबल, आइटिएफ तेक्वान्दो, फुल कन्ट्याक्ट कराते, हक्की, स्क्वास, सुटिङ, जिम्न्यास्टिक, लन टेनिस, क्रिकेट साइक्लिङ, सेपाक टाक्रो, पौडी, शारिरिक सुगठन, ट्रायथलन र खो खोलाई आधिकारिक खेलका रुपमा समावेश गरेको छ।

त्यसमध्ये पौडी, शारिरिक सुगठन र ट्राथोलनका खेल अघिल्लो वर्ष नै काठमाडौंमा भइसकेका छन्।

गतवर्ष भएका तीन खेल जोड्दा १५ महिना लगाएर सम्पन्न हुने प्रतियोगितामा राष्ट्रिय किर्तिमान बनाउने खेलाडीलाई समापन समारोहमा प्याराग्लाइडिङबाट रंगाशालामा ल्याएर २५ हजार नगद सहित सम्मान गर्ने सदस्य सचिव केशबकुमार विष्टले जानकारी दिए। यसैगरी यो प्रतियोगितामा पदक जितेर राष्ट्रिय टोलीमा पर्ने खेलाडीलाई टोलीमा रहुन्जेलसम्म राखेपले निशुल्क शिक्षाको व्यवस्था गर्ने घोषणा गरे। 'सातौं राष्ट्रिय खेलकुदमा समावेश खेलका राष्ट्रिय टोलीमा परुन्जेल खेलाडीले जुन सुकै स्कुल वा कलेजमा पढे पनि परिषदले उनीहरुको मासिक शुल्क तिर्नेछ,' विष्टले भने, 'राष्ट्रिय खेलाडीले अध्ययनको लागि आर्थिक चिन्ता लिनुपर्ने छैन।'

प्रतियोगिता दौरान खेलाडीले पाउने दैनिक भत्ता अघिल्लो संस्करणको तुलनामा ६ सय बढाएर प्रतिव्यक्ति दैनिक १ हजार ४ सय रुपैयाँका दरले प्रदान गरिने विष्टले बताए।

समयमा वजेट नआएकाले छोटो तयारीका भरमा सातौं राष्ट्रिय खेलकुद आयोजना गर्न लागेको बताएका सदस्यसचिव विष्टले प्रतियोगिताको भव्यतामा कुनै कसर नराख्ने दावी गरे। ‘नेपालले १३ औं साग आयोजनाको तयारी गरिरहेको छ। हामीले त्यसको पूर्वअभ्यासका रुपमा गरि यो प्रतियोगिता गर्ने तयारी गरेका छौं। सबै खेल हुने पुर्वाधारले अन्तर्राष्ट्रिय स्तरको न्युनतम मापदन्ड पूरा गर्नेछन्,’ सदस्य सचिव विष्टले भने, ‘सातौं राष्ट्रियका लागि पूर्वाधारको शीर्षकमा २० लाख रुपैयाँमात्र आएको छ। त्यो भनेको चुन लगाउन र मैदान खुर्किन पनि पर्याप्त हुँदैन। तर हामीले अन्य नियमित वजेटको सदुपयोग गरेर पूर्वाधार बनाएका छौं। खेलाडीले पहिलोको जस्तो यसपटक हिलो र धुलोमा खेल्नु पर्नेछैन। अहिलेसम्मकै सबभन्दा राम्रो पूर्वाधारमा यसपालीको राष्ट्रिय खेलकुद सम्पन्न हुनेछ।’

विष्टले उद्घाटन समारोहलाई भव्य बनाउन लागिएको भन्दै २५ जनजातीको साँस्कृतिक झाँकी प्रस्तुत हुने बताए। उने १२ सय स्कुलका विद्यर्थी, ५ सय सेना र प्रहरीका कलाकार तथा १ सय स्थानीय तथा राष्ट्रिय कलाकारले उदघाटन समारोहमा प्रस्तुती दिने बताए।

दीप धनगढीबाट

अघिल्लो संस्करण सम्पन्न भएको धनगढीबाट ओलम्पिक दीप यात्रा पुस ४ मा सुरु हुने सदस्य सचिव विष्टले जानकारी गराए। धनगढीबाट सुरु हुने दीप यात्रा विभिन्न शहर हुँदै वीराटनगर पुग्दा देशका सबै ओलम्पियन त्यसको हिस्सा बन्ने उनले बताए। 'अघिल्ला संस्करणहरुमा शान्तीको सन्देश दिनका लागि लुम्बिनीबाट ओलम्पिक दीप यात्रा सुरु गर्ने चलन थियो। तर यसपाली हामीले अघिल्लो संस्करण भएको ठाउँबाटै दीप यात्रा थाल्ने निर्णय तयारी गरेका छौं,' उनले भने।

खेलाडी भत्ता

परिषदले दक्षिण एसियाली खेलकुदका स्वर्ण पदकधारी तथा अन्य आधिकारिक एसियाली र विश्व स्तरका प्रतियोगितामा पदक जित्ने खेलाडीलाईमात्र प्रदान गर्ने गरेको प्रोत्साहन भत्ताको दायरा फराकिलो पारिएको छ। माघदेखि परिषदले दक्षिण एसियाली खेलकुद (साग) मा रजत र कांस्य पदक जित्नेलाई पनि प्रोत्साहन भत्ता दिने निर्णय गरेको सदस्य सचिव विष्टले बताए। उनका अनुसार सागमा रजत जित्नेले २ हजार ५ सय तथा कांस्य जित्नेले मासिक १ हजार रुपैयाँ पाउनेछन्।

प्रकाशित: २५ मंसिर २०७३ ०३:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App