७ वैशाख २०८१ शुक्रबार
अर्थ

कालोबजारी बढ्यो : संसदीय समिति

काठमाडौं – बजारमा अचाक्ली मूल्य वृद्धि भइरहेको बेला संसदीय समितिले बजारमा कालोबजारी बढेको निष्कर्ष निकालेको छ। संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवको अध्यक्षतामा आइतबार बसेको बैठकले कालोबजारी बढेको कारण उपभोक्ता ठगिएको जनाएको छ।

दूध, पानी, दाल, चामल, तेल, औषधीलगायत उपभोग्य वस्तुमा मनपरी ढंगले मूल्य लिएर उपभोक्ता ठगेको समितिले जनाएको छ। कार्टेलिङ र सिन्डिकेट गरी मूल्यवृद्धि गरेको समितिको ठहर छ। बजारमा बिक्री भइरहेका खाद्यवस्तुको गुणस्तरमा पनि समितिले प्रश्न उठाएको छ।

बजारमा कालोबजारी बढेपछि समितिले नरबहादुर धामीको संयोजकत्वमा सात सदस्यीय उपभोक्ता हित अनुगमन उपसमिति गठन गरेको छ। समितिमा गोपालबहादुर बम, प्रकाश रसाइली, अमृतादेवी अग्रहरी, लालप्रसाद साँवा लिम्बु, सुजाता परियार सदस्य छन्। उपसमितिलाई बजार अनुगमन प्रतिवेदन बुझाउन एक महिनाको समय तोकिएको छ।

नेपाल राष्ट्र बैंकका बजारमा मूल्य वृद्धि भएको छ। बैंकले गत साता सार्वजनिक गरेको तीन महिनामा उपभोक्ता मुद्रास्फीति ६.२१ प्रतिशतले बढेको छ। यो दसैं–तिहार जस्ता ठूला चाडपर्वको समय भएकाले पनि महँगी बढ्न सहयोग पुगेको हो। अघिल्लो वर्ष असोजमा पनि मुद्रास्फीति ४.६८ प्रतिशत थियो। यो अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.०४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.५५ प्रतिशतले बढेको छ। खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मुख्यतः तरकारी, मासु तथा माछा, फलफूल र मसला उपसमूहको मूल्यवृद्धि उच्च छ।

त्यसैगरी, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत मुख्यतः घरायसी उपयोगका वस्तु तथा सेवा, लुगा तथा जुत्ता र शिक्षा उपसमूहको मूल्य बढेको छ। क्षेत्रगत रुपमा हेर्दा सबैभन्दा महँगी काठमाडौंमा बढेको छ। उपत्यकामा ८.१४, तराईमा ५.७५, पहाडमा ४.८९ र हिमालमा ५.११ प्रतिशत मुद्रास्फीति छ। गत वर्ष असोजमा यी क्षेत्रमा क्रमशः ४.०४ प्रतिशत, ४.३४ प्रतिशत, ६.१० प्रतिशत र ४.२४ प्रतिशत मुद्रास्फीति थियो। बैंकका अनुसार नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.२१ प्रतिशत रहेकोमा भारतमा ४.६२ प्रतिशत छ।
 

प्रकाशित: ९ मंसिर २०७६ ०१:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App