८ वैशाख २०८१ शनिबार
खेल

सिटीद्वारा चेल्सी पराजित

लन्डन – शीर्ष स्थानको लिभरपुलले इङ्लिस प्रिमियर लिगमा शनिबार विजययात्रालाई निरन्तरता दिँदा साबिक च्याम्पियन म्यानचेस्टर सिटीले पनि जित निकालेको छ। शीर्ष स्थानको लिभरपुलले शनिबार क्रिस्टल प्यालेसको मैदानमा २–१ को महत्वपूर्ण जित निकाल्दा म्यानचेस्टर सिटीले भ्रमणकारी टोली चेल्सीलाई पनि समान २–१ ले हराएको हो। अपराजित यात्रालाई शनिबार पनि यथावत् राखेको लिभरपुलले शीर्षता कायम राख्दा लेस्टर दोस्रो स्थानमा यथावत् छ। जितपछि  सिटी तेस्रो स्थानमा उक्लिएको छ।

घरेलु मैदानमा सिटीले चेल्सीविरुद्धको खेलमा जित निकाल्दै शीर्ष स्थानमा बसेको लिभरपुलसँगको अंक दूरी घटाएको हो। चेल्सीको  पछिल्ला ६ खेलको अपराजित यात्रामा भने पूर्णविराम लागेको छ। चेल्सीको जारी प्रतियोगितामा यो तेस्रो हार हो। चेल्सी लिभरपुल, म्यानचेस्टर युनाइटेड र सिटीसँग पराजित हुँदा सेफिल्ड युनाइटेड र लेस्टर सिटीसँग बराबरी खेलेको छ। चेल्सी २६ अंकका साथ चौथो स्थानमा छ। सुरुआती अग्रता लिएको चेल्सीले अग्रता कायम राख्न नसक्दा अंक सुम्पिन बाध्य भएको हो। चेल्सीका निकोलस कोन्टेले २१औं मिनेटमा गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए। पछि परेसँगै आक्रामक देखिएको सिटीले भ्रमणकारी टोलीको अग्रता धेरै समय टिक्न दिएन। त्यसको ८ मिनेटपछि नै सिटीका केभिन डी ब्रुयनाले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसपछि पाहुना टोली चेल्सीविरुद्ध हाबी देखिएको सिटीका लागि ३७औं मिनेटमा रियाद महारेजले गोल गर्दै अग्रता उल्टाए।

पहिलो हाफमा अग्रता लिएको घरेलु टोली सिटीले दोस्रो हाफमा अग्रतालाई कायम राख्दै जित सुनिश्चित ग-यो। जित निकालेको सिटीको १३ खेलबाट २८ अंक  भएको छ। टोली शीर्ष स्थानको लिभरपुलभन्दा ९ अंकले पछि छ। सिटी लिगको तेस्रो स्थानमा रहेको छ। १३ खेलमा २६ अंक जोडेको चेल्सी चौथो स्थानमा  छ।

इङ्लिस प्रिमियर लिगअन्तर्गत शनिबारै सम्पन्न अर्को खेलमा  लिभरपुलले क्रिस्टल प्यालेसलाई २–१ ले हराउँदा साडियो मानेले ४९औं मिनेटमा गरेको गोलबाट टोलीले अग्रता लिएको थियो। पहिलो हाफमा १–० को अग्रता लिएको लिभरपुलविरुद्ध क्रिस्टल प्यालेसले ८२औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्यायो। विलफ्रिड जाहले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। अंक लिने लक्ष्यका साथ अन्तिमतिर आक्रामक देखिएको लिभरपुलको सम्भावित बराबरीको संकट ८५औं मिनेटमा टा¥यो। लिभरपुलका लागि रोबर्टाे फिर्मिनोले गोल गर्दा अपराजित यात्रा कायम राखेको हो।

लिगअन्तर्गत शनिबार नै प्रिमियर लिगमा आफ्नो प्रभावशाली प्रदर्शन कायम राख्ने क्रममा लेस्टर सिटीले नवौं जित निकाल्न सफल भयो। ब्राइटनलाई २–० ले हराउँदा लेस्टरका लागि आयाज पेरेज र जेमी भार्डेले गोल गरे। भार्डे जारी प्रिमियर लिगमा सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छन। भार्डेले १२ गोल गरिसकेका छन्। त्यस्तै, प्रिमियर लिगअन्तर्गत शनिबारै सम्पन्न अन्य खेलमा आर्सनलले साउथह्याम्टनसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँड्दा उलभरह्याम्टनले बर्नमाउथलाई उसैको मैदानमा २–१ ले स्तब्ध बनायो। अर्को खेलमा बन्लीले वाटफोर्डलाई ३–० ले पराजित गर्दा नर्विचले एभरटनलाई २–० ले स्तब्ध बनायो।

प्रकाशित: ९ मंसिर २०७६ ०१:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App