७ वैशाख २०८१ शुक्रबार
राजनीति

उपचुनावलगत्तै सभामुख चयन

काठमाडौं – राजनीतिक दलबीच समझदारी नहुँदा नयाँ सभामुख चयन अन्योलमा छ। यौन दुव्र्यवहारको आरोप लागेपछि कृष्णबहादुर महराले सभामुखबाट राजीनामा दिएका कारण सो पद खाली छ। महरा सत्तारुढ दलबाट सभामुख थिए। उनले राजीनामा दिएपछि सो पदमा कसलाई ल्याउने भन्ने विषयमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) टुंगोमा पुगेको छैन। निर्वाचन प्रक्रिया अघि बढाउन संसद्मा रहेका दलहरूबीच सहमति पनि जुट्न सकेको छैन।

नयाँ सभामुख कसलाई बनाउने भन्नेमा नेकपाले औपचारिक छलफल गरेको छैन। नेकपाभित्र सभामुखलाई प्याकेजमै टुंगो लगाउने कुरा उठेको थियो। मन्त्रिपरिषद् हेरफेरलगत्तै टुंगो लगाउने भनिएको यो विषयलाई अब उपनिर्वाचनपछि निष्कर्षमा पु-याउने तयारी नेकपाभित्र भएको स्रोत बताउँछ। उपनिर्वाचनमा असर पर्ने भएकाले चुनावअघि यो विषय अघि नबढाउने सुझाव आएपछि पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले यो विषयमा औपचारिक छलफल नचलाएको स्रोतको दाबी छ। स्रोतका अनुसार मंसिर १४ गत उपनिर्वाचन भएपछि संसद् अधिवेशन आह्वान गर्ने तयारी छ। ‘उपनिर्वाचनलगत्तै संघीय संसद् बैठक आह्वान गर्ने करिबकरिब टुंगो लागेको छ,’ स्रोतले भन्यो, ‘त्यसपछि नयाँ सभामुख चयन प्रक्रिया पनि अघि बढ्छ।’

प्रधानमन्त्रीको चाहना सुवासचन्द्र नेम्बाङ, चर्चामा देव गुरुङ, जनार्दन शर्मा, हरिबोल गजुरेल, पम्फा भुसाल र अग्नि सापकोटा पनि।

प्रधानमन्त्री ओली पहिला संवैधानिक आयोगमा नियुक्ति र त्यसपछि मात्र सभामुख टुंग्याउने पक्षमा छन्। प्रधानमन्त्री ओलीले सुवासचन्द्र नेम्बाङलाई सभामुख बनाउन चाहेका छन्। महराको राजीनामालगत्तै नेम्बाङले आफू अब सभामुख नहुने प्रतिक्रिया दिएका थिए। त्यसपछि प्रधानमन्त्री ओलीले ‘यस्तो प्रतिक्रिया नदिनुस्, यसबारे हामी नै बोल्छौं’ भनेपछि नेम्बाङ मौन छन्। स्रोतका अनुसार ओलीले सभामुखमा नेम्बाङबाहेक अर्को व्यक्ति देखेका छैनन्। यसै कारण नेम्बाङले शिवमाया तुम्बाहाम्फे (हाल उपसभामुख) लाई सभामुख बनाउने विषय अघि सार्न छाडेका हुन्। महराको राजीनामायतापछिका केही दिन नेम्बाङले तुम्बाहाम्फेलाई सभामुख बनाउन लबिङ गरेका थिए तर ओलीको चाहना आफूप्रति भएको बुझेपछि उनी मौन बसेको स्रोतको दाबी छ।

सभामुखमा देवप्रसाद गुरुङ, जनार्दन शर्मा, हरिबोल गजुरेल, पम्फा भुसाल र अग्नि सापकोटाले इच्छा देखाएको स्रोत बताउँछ। उनीहरूको नाम पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसमक्ष पुगेको छ। राज्यको मर्यादाक्रमअनुसार सभामुख पाँचौं स्थानमा हुन्छ। राष्ट्रपति र उपराष्ट्रपति नभएका बेला सभामुखले नै राष्ट्राध्यक्षको भूमिका खेल्नुपर्ने हुन्छ। अब नेकपाभित्रको पूर्वमाओवादी खेमाले सभामुख पाउने सम्भावना कम रहेको बताउँदै एक नेताले भने, ‘संवैधानिक परिषद्मा सभामुख र उपसभामुखसमेत रहने भएकाले पनि पूर्वएमाले खेमाबाटै सभामुख बन्ने सम्भावना बढी छ।’

प्रधानमन्त्री ओलीले उपसभामुख तुम्बाहाम्फेलाई मन्त्रीमा लैजान चाहेका छन्। उनले तुम्बाहाम्फेलाई बेला आएपछि राजीनामा दिन भनिसकेका छन्। उपसभामुख तुम्बाहाम्फेले राजीनामा नदिएसम्म सभामुखमा नेकपाले उम्मेदवारी दिन पाउँदैन। सभामुख नछाड्न प्रधानमन्त्री ओलीलाई उनी निकटकाको दबाब छ। संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुखमध्ये एउटा पद प्रतिपक्षी दलले पाउँछ।

प्रकाशित: ९ मंसिर २०७६ ०१:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App