८ वैशाख २०८१ शनिबार
अन्य

हलेसीमा तीन ताला

खोटाङ- खोटाङको धार्मिक तथा पर्यटकीय स्थल हलेसीको भेटी व्यवस्थापनका लागि 'तीन ताला' ठोकिएको छ। पूर्वकै सुन्दर नगरीमा रहेको हलेसी मन्दिर दर्शन र भ्रमणमा आउने दर्शनार्थी एवं पर्यटकले चढाएका भेटीपाती, गरगहना पारदर्शी बनाउन हलेसी महादेवस्थान विकास समिति र हलेसी महादेव मन्दिर व्यवस्थापन समितिले लागू गरेको 'तीन ताला चाबी' व्यवस्था प्रभावकारी देखिएको छ।

मन्दिरमा भेटी र गरगहना पारदर्शी रुपमा संकलन गर्र्न तीनवटा ताला लगाइएको दुइटा दान बाकस राखिएको हलेसी मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष हर्कराज राईले जानकारी दिए। प्रवेशद्वारमा एउटा र गुफाभित्र शिवलिंग रहेको स्थानमा अर्को दान बाकस राखिएको छ। गुफाभित्रको दान बाकसमा भने शिवलाई चढाएका भेटीपाती र गरगहना संकलन गरिन्छ। दान बाकसबाहेकका ठाउँमा चढाइएका भेटी भने मन्दिर व्यवस्थापन समिति र विकास समितिको निगरानीमा संकलन गर्ने र कोषमा राख्ने गरिएको छ। दुवै दान बाकसमा जम्मा भएको रकम र अन्य ठाउँमा चढाइएका भेटीपाती प्रत्येक महिनाको अन्तिम दिन इलाका प्रहरीचौकी हलेसी, हलेसी महादेवस्थान विकास समिति, हलेसी मन्दिर व्यवस्थापन समिति र स्थानीयको रोहबरमा खोलेर गणना गर्ने व्यवस्था मिलाइएको छ। दुवै दान बाकसका छुट्टाछुट्टै तालाका चाबी प्रहरी, विकास समिति र मन्दिर व्यवस्थापन समितिसँग रहन्छ।

'मन्दिरको आम्दानीका विषयमा उठ्ने प्रश्न र आशंका हल गर्न हामीले तीन तालाचाबीको व्यवस्था सुरु गरेका थियौं,' हलेसी विकास समितिका पूर्व कार्यकारी निर्देशक तामन राईले भने, 'यसले मन्दिरको आम्दानी सबैसामु पारदर्शी बनाउन सहयोग पुर्‍याएको छ।'

द्वन्द्वकालमा तत्कालीन नेकपा माओवादी अगुवाइमा २०६१ साल मंसिरमा बालाचतुर्दशी मेलाका बेला पुजारी फेर्ने र व्यवस्थापन समिति बनाउने काम भएपछि मात्र हलेसीको आम्दानीको हिसाबकिताब हुन थालेको हो।

त्यसयता बनेका हलेसी महादेव विकास समिति र मन्दिर व्यवस्थापन समितिले मन्दिरको आम्दानी दुरुस्त राख्न २०६८ देखि हलेसीमा 'तीन ताला चाबी' व्यवस्था गरिएको हो।

विसं १८६१ देखि २०६० सम्मको आम्दानी भने महन्तले नै लैजान्थे। २०६१ सालमै समुदाय मातहत ल्याइए पनि २०६४ देखि मात्र हलेसीको भेटीको हिसाब राख्न थालिएको समितिले जनाएको छ। हलेसीबाट हाल वार्षिक ३० देखि ३५ लाख रुपैयाँ आम्दानी भइरहेको कोषाध्यक्ष राईले बताए।

किरात धर्मगुरु फाल्गुनन्द, बौद्ध धर्मगुरु टुकुपेमा वाङगेल रिम्पोछे र हिन्दुधर्म गुरु शंकराचार्यको आगमन भइसकेको भनिएको हलेसीमा रामनवमी, शिवरात्रि, बालाचतुर्दशी, तीज, वैशाख पूर्णिमा, बोलबमलगायत चाडपर्वबाहेकका समयमा पनि दैनिकजसो दर्शनार्थी एवं पर्यटक आउने गरेका छन्।

कोषाध्यक्ष राईका अनुसार मन्दिरको सबै आम्दानी हालसम्म हलेसीको भौतिक पूर्वाधार निर्माणमै खर्च भइरहेको छ। हलेसीको आम्दानी थप व्यवस्थित गर्दै प्रमुख आम्दानीका स्रोत र सम्भावनामा ध्यान दिनुपर्ने स्थानीय शिक्षक नवीन चाम्लिङले बताए।

प्रकाशित: २५ मंसिर २०७३ ०२:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App