८ वैशाख २०८१ शनिबार
समाज

ट्रयाक खोलेको २४ वर्षपछि कालोपत्रे सुरु

सडक कालोपत्रे शिलान्यास गर्दै गण्डकी प्रदेशका मन्त्री किरण गुरुङ । तस्बिरः नागरिक

दुलेगौँडा(तनहुँ)- भिमाद ऋषिङपाटन मोटरमार्ग आसपासका बासिन्दालाई बर्खामा हिलो र हिउँदमा धुलोको सास्तीबाट मुक्ति मिल्ने भएको छ। सडकको ७.२ किलोमिटरको दुरी कालोपत्रे सुरु भएको छ। तनहुँको भिमाद नगरपालिका र ऋषिङ गाउँपालिकालाई जोड्ने यो सडकलाई एक निर्वाचन क्षेत्रमा एक सडकअन्तर्गत कालोपत्र सुरु गरिएको हो।

भिमादको अल्छी चौतारीदेखि ऋषिङको पल्ट्याङ ऐरीचौतारीसम्म १५्र महिनामा काम सक्ने गरी आइतबार शिलान्यास गरिएको छ। सडकको गण्डकी प्रदेशका आन्तरिक मामिला तथा  योजना मन्त्री किरण गुरुङले शिलन्यास गरेका हुन्। मन्त्री गुरुङले गण्डकी प्रदेशले भौतिक पुर्वाधार बिकासलाई जोड दिएको बताए। उनले भने, ‘भौतिक पुर्वाधार नहुदाँसम्म उत्पादनलाई बढाउन सकिदैन्। आर्थिक बृद्धीदरका लागी उत्पादन बढाउनुपर्ने भएकाले प्राथमिकता दिएका छौँ।’ निर्वाचनको बेला जनताको घरदैलो पुग्दा सडक कालोपत्रे गर्न गरेको वाचा पुरा भएको उनको भनाई छ।

विकास निर्माणका काममा गण्डकी प्रदेशमा सत्तापक्ष र प्रतिपक्ष नरहेको मन्त्री गुरुङको दाबी छ। ‘राजनीतिक सहमतीमा विकासका काम गर्ने गरेका छौँ’, उनले अगाडी भने, ‘सत्तापक्ष र प्रतिपक्ष नभनी एक ढिक्का भएर लाग्छौँ।’ एमएस महालक्ष्मी कन्सट्रक्सन कन्र्सन काठामाडौँले उक्त सडक कालोपत्रेको ठेक्का पाएको पुर्वाधार बिकास कार्यालय नवलपुरका प्रमुख लक्ष्मी भण्डारीले जानकारी दिए। उनका अनुसार १२ करोड ७८ लाख  ८९ हजार रुपैयाँको लागतमा १५ महिनाको अवधीमा कालोपत्रेको काम सक्ने गरी गत असोज २३ गते सम्झौता गरिएको थियो। डिबिएसडि प्रविधिमा कालापत्रे गरिने सडकको मापदण्ड १० मिटर कायम गरिएको छ । उक्त मापदण्डभित्र संरचना निर्माण नगर्न भण्डारीको अनुरोध छ।

२४ वर्ष पहिले उक्त सडकको ट्रयाक खोलिएको मोटरमार्गको अध्यक्ष गञ्जसिंह गुरुङले जनाए। ६ किलोमिटरको यो सडक कालोपत्रे गर्ने आश्वासन पाएपनि पुरा भएको थिएन्। गुरुङ भन्छन् ‘वर्षौदेखी धुलो र हिलोको सास्ती भोग्नुपर्यो। यही बाटो कालोपत्रे गर्ने आश्वासन देखाएर नेताले चुनाव पनि जिते। सिंह दरबार छिरेपछि बिर्सिए। बल्ल अहिले आएर कालोपत्रेको काम सुरु भएको छ।’

प्रकाशित: ८ मंसिर २०७६ १५:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App