८ वैशाख २०८१ शनिबार
राजनीति

विप्लव निकट विद्यार्थी संगठनद्धारा भारतविरुद्ध बुटवलमा प्रदर्शन

रुपन्देही- भारतले नेपाली भूमि आफ्नो नक्सामा राखेको विरोधमा विप्लव नेतृत्वको नेकपा निकटको अनेरास्ववियू (क्रान्तिकारी) ले आइतबार बुटवलमा प्रदर्शन गरेको छ। भारतको विरोधमा एकैचोटी विद्यार्थीहरु सडकमा उत्रिंदा बुटवलको यातायात क्षेत्र केहि बेर अवरुद्ध नै बन्यो।

अनेरास्ववियू (क्रान्तिकारी) लुम्बिनी क्षेत्रिय समन्वय समितिको आयोजनामा भारतले नेपाली भूमि मिचेको विरोध गर्दै विद्यार्थी सडकमा उत्रेका हुन्। गो ब्याक इन्डियाको ब्यानरसहित विभिन्न प्लेकार्ड बोकेर नेपाली भूमि फिर्ता गर्न माग गरे। 'लिपु लेक हाम्रो हो, गो ब्याक इण्डिया' जस्ता नारा विद्यार्थीहरुले लगाएका थिए।

प्रतिबन्धित विव्लव नेतृत्वको नेकपा निकट विद्यार्थीको ब्यानरमा भएको विरोध प्रदर्शनमा कालिका क्याम्पस, लुम्बिनी बाणिज्य क्याम्पस, सिद्धार्थ क्याम्पसका विद्यार्थी सहभागी थिए। ठूलो संख्यामा विद्यार्थीहरु सडकमा उत्रिएपछि प्रहरीले विद्यार्थीलाई रोक्न खोजे पनि त्यो प्रयास विफल बन्यो। क्रान्तिकारीले निरन्तर विरोधका कार्यक्रम जारी राख्ने जनाएका छन्।

यसैगरी नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्, रुपन्देहीले पनि विरोध प्रदर्शन गरेको छ। महासंघले नेपाल–भारतको प्रमूख सीमा नाकाहरुमध्येको एक बेलहिया (सुनाैली) नाका दशगजा क्षेत्रमै पुगेर भारतले गरेको सीमा अतिक्रमण विरुद्ध विरोध सभा गरेको हो।

विरोध सभामा बोल्नेहरुले भारतको हेपाहा र भूमि अतिक्रमण गर्ने बिस्तारवादी नीतिका कारण मित्र मुलुक नरहेकोमा जोड दिए। छिमेकी मुलुक भएपनि अब मित्र मुलुक नरहेको उनीहरुको तर्क थियो। यदि सरकारले सीमा मिचिएको विषयमा ठोस कदम चाल्न नसक्ने भए यहाँका राष्ट्रवादी र भूमिपूत्रहरुले यसको जिम्मा लिएर समस्या समाधान गर्न सक्षम रहेको दाबी गरे।

प्रकाशित: ८ मंसिर २०७६ १४:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App