८ वैशाख २०८१ शनिबार
अर्थ

विराटनगरमा ‘सेज’ स्थापना गर्न व्यवसायीको माग

विराटनगरमा आयोजित कार्यक्रममा सहभागि हुँदै उद्योग राज्य मन्त्री दुगड। तस्बिरःविनोद/नागरिक

विराटनगर– विराटनगरका उद्योगी व्यवसायीले विशेष आर्थिक क्षेत्र (सेज) स्थापनाको माग राखेका छन्।

उद्योग बाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडको स्वागत गर्दै विराटनगरका उद्योगी व्यवसायीले सेज स्थापनाको माग गरेका हुन्। 

मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले शनिबार विराटनगरमा आयोजना गरेको स्वागत कार्यक्रममा उद्योगी व्यवसायीले सेज निर्माण गरी नयाँ उद्योग स्थापनामा भूमिका खेल्न आग्रह गरेका हुन्।

मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुण्दडाले दुगडको नियुक्तीले उद्योग व्यवसाय क्षेत्रले कोल्टे फेर्ने अपेक्षा गरिएको बताए। उनले पूर्व क्षेत्रको औद्योगिक विकासका लागि विशेष आर्थिक क्षेत्र निर्माणमा भूमिका खेल्न आग्रह गरे।

सुनसरीको अमरडुवा स्थित साल्टट्रेडिङकको ६ सय ५० विघा जमिनमा विशेष आर्थिक क्षेत्र स्थापना गरी नयाँ उद्योग स्थापनामा भूमिका खेल्न दुगडलाई आग्रह गरे।

मुण्दडाले निजी क्षेत्रले उद्योग स्थापनाका लागि महंगोमा जग्गा किन्नु पर्ने बाध्यताको अन्त्य गर्न र उत्पादनमुलक क्षेत्रमा लगानीको वातावरण तयार पार्न विशेष आर्थिक क्षेत्र निर्माण जरुरी रहेको बताए। 

उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले उद्योगी व्यवसायीका सबै समस्या बुझेको व्यक्ती मन्त्री भएकाले दुगडको कार्यकालमा निजी क्षेत्रका समस्याहरू समाधान हुने अपेक्षा गरेको बताए।

घिमिरेले सुनसरीको अमरडुवामा विशेष आर्थिक क्षेत्र निर्माण भए तत्कालै ५ सय बढी उद्योग स्थापना गर्ने दाबी पनि घिमिरेले गरे। ‘विशेष आर्थिक क्षेत्र स्थापना भए तत्कालै ५ सय भन्दा बढी उद्योग स्थापना गछौं’ उनले भने। 

सरकारले ५ लाख युवालाई रोजगारी उपलब्ध गराउने महत्वकांक्षी योजना कार्यान्वयन गर्न औद्योगीकरण आवश्यक रहेको घिमिरेले बताए।

उनले उद्योग स्थापना भए मात्रै ठूलो संख्यामा रोजगारी सृजना हुने र सरकारले लिएको लक्ष्य पुरा हुने भएकाले औद्योगिक वातावरण तयार पार्न औद्योगिक क्षेत्र आवश्यक रहेको धारणा राखे।

घिमिरेले विराटनगरको आइसीपी तत्काल सञ्चालन गर्न, औद्योगिक प्रदर्शनी स्थल निर्माण गर्न, विराटनगर विमानस्थल विस्तारको पहल गर्न, विशेष आर्थिक क्षेत्र निर्माण लगायतका कामलाई प्राथमिकता दिई तत्कालै अघि बढाउन दुगडसँग आग्रह गरे।

नागरिक अगुवा दधिराज सुवेदीले ८ पटक विराटनगरले प्रधानमन्त्री पाउँदा पनि विराटनगरका लागि केहि नगरेको गुनासो गरे। उनले दुगड राज्य मन्त्री मात्रै बने पनि विराटनगरको साख फर्काउन सक्षम हुनेमा आशावादी रहेको बताए। 

उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री दुगडले विराटनगरवासीले आफूलाई गरेको स्वागतले थप जिम्मेवारी महशुस गराएको बताए। उनले विराटनगरका समस्या समाधानका लागि सँधै लागि पर्ने  प्रतिबद्धता जनाए।

दुगडले एक वर्ष भित्रै विराटनगर विमानस्थल विस्तारको काम अधि बढाउने दाबी पनि गरे। ‘एक वर्ष भित्रै विमानस्थल विस्तारको काम अघि बढाउन नसके म असफल भएको ठान्ने छु’ उनले भने। 

उनले विराटनगरमा निर्माण भएको आइसीपी चाँडै सञ्चालनका लागि पहल सुरू गरिसकेको पनि जानकारी दिए। प्रदर्शनी स्थल र विशेष आर्थिक क्षेत्र निर्माणका लागि आगामि वर्ष बजेट व्यवस्था गर्न पहल गर्ने उनले बताए। भौतिक र औद्योगिक क्षेत्रको विकासका लागि नीतिगत सुधार पनि गर्ने दुगडले स्पष्ट पारे। 

 

प्रकाशित: ८ मंसिर २०७६ ११:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App