७ वैशाख २०८१ शुक्रबार
समाज

किसानलाई दुहुनो भैँसी बाँड्दै आरुघाट गाउँपालिका

किसानलाई राँगा भैँसी बाड्दै गाउँपालिका अध्यक्ष दाहाल । तस्बिरः नागरिक

गोरखा- पशुपालक किसानलाई आत्र्मनिर्भर बनाउने उद्देश्यले आरुघाट गाउँपालिकाले उन्नत जातको भैँसी र राँगा वितरण गरेको छ। ५० प्रतिशत अनुदानमा ९ वटा भैँसी र ७५ प्रतिशत अनुदानमा दुईवटा राँगो वितरण गरिएको गाउँपालिकाका पशुसाखा प्रमुख इन्द्रहरी खनालले बताए।

‘गाउँपालिकाले बिनियोजन गरेको ७ र अनुदान पाउने किसानले जम्मा गरेको ६ लाखसहित १३ लाख रुपैयाँबाट दुहुनो भैँसी र राँगा वितरण गरिएको हो’ खनालले भने। वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष पूर्णबहादुर दाहालले किसानलाई व्यवसायीक र आत्मनिर्भर बनाउने योजनाका साथ अनुदानमा भैँसी वितरण गरेको बताए। ‘बजार पनि नजिकै छ, आरुघाट बजारमा माग भएको दुध उत्पादन र किसानको आम्दनी बढाउने उद्देश्यले उन्नत जातका भैँसी, राँगालाई प्राथमिकता दिएका हौँ’ उनले भने। दुधसँगै माछा मासुमा पनि गाउँपालिकालाई आत्मनिर्भर बनाउने पालिकाको योजना छ।

किसानले धेरै दुध उत्पादन गर्न सके भने आरुघाटमा दुग्ध डेरी सञ्चालनमा गाउँपालिकाले सहयोग गर्ने आश्वासन दिएको छ। आरुघाट गोरखाको दोस्रो ठुलो व्यापारीक केन्द्र र मनास्लु क्षेत्रको प्रवेशद्धारको रुपमा लिइने भएकाले डेरी सहजै चलाउन सकिने स्थानीय बताउँछन्। व्यवसायीक रुपमा पशुपालन गर्न चाहने युवा, किसानहरुलाई पनि सहयोग गर्ने अध्यक्ष दाहालले बताए। वडा कार्यालय, पशु शाखा र कार्यपालिकाले निर्णय गरेर अनुदान पाउने किसान छनौट गरिएको आरुघाट गाउँपालिका पशु शाखा प्रमुख इन्द्रहरी खनालले बताए।

तीन हप्ताको सार्वजनिक सुचना प्रकाशित गरेर निवेदन दिएका २६ जना मध्ये ११ जनालाई छनौट गरिएको थियो। लामो समयदेखि दुध बिक्री गर्दै आएका, घरमा कम्तीमा दुई वटा भैँसी पाल्दै आएका, किसानलाई उन्नत जातको भैँसी वितरण गरिएको हो। आरुघाट सम्म पु¥याउँदा ति भैँसीको मुल्य एक लाख २५ देखि एक लाख ४० हजारसम्म परेको छ।

गाउँपालिकाले अनुदानमा पशुपालन र किसानीमा सहयोग गर्न थालेपछि आरुघाट गाउँपालिका भित्रका किसान उत्साहित भएका छन्। ‘२० वर्षदेखि मैले भैँसी पालेर दुध बिक्री गर्दै आएको छु’ आरुघाट ८ का किसान टंक सुवेदीले भने ‘अनुदानको सहित भैँसी र पाडापाडी गरेर ६ वटा पुगेको छ।’ अहिले गाउँपालिकाबाट अनुदान दिएको भैँसीले दैनिक १० लिटर दुध दिने उनी बताउँछन्। उक्त दुध आरुघाट बजारमा होटल र घरहरुमा बिक्री गर्दै आएका छन्। ‘सबै किसानले घरघरमा बेच्ने हो’ उनले भने ‘गाउँपालिकाले डेरी चलाउने योजना बनाएको छ, छिट्टै बन्यो भने हामीलाई सजिलो हुने थियो।’ शनिबार भएको वितरण कार्यक्रममा वडा नम्बर १० का अध्यक्ष मेन बहादुर अधिकारी, आर्थिक विकास समिति संयोजक सन्तबहादुर नेपाली लगायतले धारणा राखेका थिए।

प्रकाशित: ८ मंसिर २०७६ ०९:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App