coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

स्वस्थ आहार, स्वस्थ परिवार

स्वस्थ रहने सबैको चाहना हुन्छ । आहार, विहार राम्रो हुनुपर्छ भन्ने हाम्रो धार्मिक–सामाजिक मान्यता हो । हिजोका दिनमा गाउँघरमा उत्पादन भएका खाद्यान्न र दुग्धजन्य पदार्थहरु हाम्रो खान्की हुन्थे र ती अग्र्यानिक पनि हुन्थे । भौतिक विकास र रोजगारीका अवसरहरूले मानिसको जीवनयापन गर्ने शैलीमा परिवर्तन हुँदै जान थालेपछि त्यसले हाम्रो खानपिनमा परिवर्तन ल्याउन थाल्यो । अहिलेको सहरी जीवन फास्टफुडमय बनेको छ । मानिस हतारमा छन्, करिअरको दौडमा उत्रिएकाहरूले खानपिनलाई त्यति धेरै महत्व नदिएको भेटिन्छ । खानपिन हाम्रा लागि भन्दा पनि हामी चल्न, हिँड्न, काम गर्नका लागि शरीरलाई आवश्यक हुने हो । तन स्वस्थ रह्यो भने मन स्वस्थ रहन्छ भनिन्छ । तन र मन दुवै स्वस्थ छ भने त्यस्तो अवस्थामा राम्रो र रचनात्मक काम हुन सक्छ । यी दुवै कुराका लागि सन्तुलित खानेकुरा आवश्यक  छ । एउटा त हाम्रो आफ्नो शरीर सञ्चालनका निम्ति खानपिन आवश्यक हुन्छ भने अर्को हामीले गर्ने कामको प्रकृति, उमेर, तौल, मौसम, भौगोलिक अवस्थाअनुसार खानेकुरा आवश्यक हुन्छन् । तर आम मानिसले खानपिनलाई खासै महत्व दिइरहेका हुँदैनन् । ज्रिबोको स्वादका लागि खाइरहँदा शरीरका लागि आवश्यक तत्व नपुग्न सक्छ भन्ने कुरामा ध्यान दिइरहेको हुँदैनन् । तयारी, प्याकेटका खानाहरूमा केमिकल्सहरू राखिएका हुन्छन् र आकर्षक प्याकेजिङ गरेर सजाइएको हुन्छ । हिजोआज विशेष गरेर महिलाहरूमा मोटापनको समस्या छ र त्यही समस्याले अर्को जटिलता थपेको छ, खाना कम खाने । आफूखुसी खाना खाने । त्यस्तो खानपिन अझ घातक हुनसक्छ, कारण शरीरलाई आवश्यक हुने तत्वहरूलाई ध्यानमा राखेर खाना खाँदा त्यसले काम गर्दछ । शरीरलाई आवश्यक खनिज लगायतका तत्व आवश्यकताअनुसार उपलब्ध गराउन सकिएन भने शरीरमा सञ्चित रहेका खनिजहरू कोषहरूले लिन्छन् र मानिसमा विभिन्न रोगहरूको समस्या आइलाग्छ ।

हालै मात्र नेपालमा पोषणसम्बन्धी अन्तर्राष्ट्रिय स्तरको गोष्टी सम्पन्न भयो । गोष्टीले विभिन्न प्रस्तावहरू पारित गरेको छ । हामीकहाँ पौष्टिक खाना खान पाउने कुरा संविधानले ग्यारेन्टी गरेको छ तर व्यवहारमा हामी राजनीतिमा जस्तै संक्रमणबाट गुज्रिरहेका छौँ । हामी नेपालीले न पश्चिमा विश्वको तुलनामा खानपिन गरेका छौँ, न हाम्रो परम्परागत शैलीलाई अपनाएका छौँ । हामीले मिसमास गरिरहेका छौँ । बजार र विज्ञापनको प्रभाव धेरै छ । अहिले अस्पतालहरूमा डाक्टरहरूसँगसँगै डाइटिसियनहरूले पनि परामर्श दिइरहेका हुन्छन् तर पनि सन्तुलित खानाको परिपाटी बस्न सकेको छैन । ग्रामीण क्षेत्रमा खानपिनमा खर्च गर्न नसक्दा पनि कुपोषणको समस्या छ । गरिवीका कारण हुने समस्याको एकखाले समाधान हुन्छ तर शहरमा बस्ने मानिसहरू, आर्थिक रुपले सम्पन्नहरू पनि मिलाएर खान नजान्दा अप्ठेरोमा परेको देखिन्छ । त्यसैले कस्ता खाने कुरा खाने ? हरेक नागरिक सचेत हुन आवश्यक छ । नागरिक सचेत भए मात्र संभव छ ? त्यस्तो अवस्थामा हामी छैनौँ । हामीकहाँ गुणस्तरीय सामग्रीको प्रयोग हुनुपर्छ, शरीरलाई आवश्यक पौष्टिक पदार्थ कुन खानेकुराबाट प्राप्त हुन्छ, त्यस्ता आधारभूत कुराको शिक्षाको भने हामीकहाँ चरम अभाव छ । राज्यले खाद्य सामग्रीको उपलब्धता र त्यसको गुणस्तरको ग्यारेन्टी गर्न सक्नुपर्छ । विषादी र कृत्रिम पौष्टिकताले भरिपूर्ण खानेकुरा हाम्रो भान्सामा प्रवेश गरिरहेको त छैन ? गम्भीर प्रश्न खडा हुन्छ, हरेर नागरिकको मनमस्तिष्कमा । तर, नागरिक आफैँले यस्ता जटिलताको पहिचान गर्न सक्तैनन् । तरकारी, फलफूलहरूको विषादी जाँच गर्ने र तोकिएको मापदण्ड पूरा गरेका सामग्रीमा बजारमा किनबेच गर्न सक्ने परिपाटी बसाल्न ढिलो भैसक्यो । तरकारी, फलफूल, खाद्यान्न, दुग्घ पदार्थ सबैको गुणस्तर तोक्ने काम सरकारले गर्ने र गुणस्तर तोकिएको सामग्री मात्र नागरिकले प्रयोग गर्ने गरियो भने त्यो मुलुक र नागरिक दुवैको हितमा हुन जान्छ ।

परिवारको यो अंकमा हामीले खानपिनकै बारेमा विस्तृत सामग्री पेश गरेका छौं । परिवारको स्वास्थ्य, सुन्दरता, फेसन, साहित्य,  यात्रा, आध्यात्म लगायतका जीवन उपयोगी सामग्री पेश गरेका छौँ । यसबाहेक यसका आर्थिक सामाजिक विषयसँग सम्बन्धित कोलमहरू छन् । परिवारको यो अंक पठनीय हुने विश्वास हामीले लिएका छौँ । 

प्रकाशित: ८ मंसिर २०७६ ०९:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App