७ वैशाख २०८१ शुक्रबार
समाज

स्थानीय तहले ७९ किमी सडकको नयाँ ट्र्याक खोले

दमौली- तनहुँ जिल्लाका स्थानीय तहले ७९ किमी सडकको नयाँ ट्र्याक खोलेका छन्। चार नगरपालिका र छ गाउँपालिका रहेको यहाँका स्थानीय तहले सडक पूर्वाधारलाई प्राथमिकतामा राखेर आर्थिक वर्ष २०७५/७६ मा सडकको नयाँ ट्र्याक खोलेका हुन्।

भानु नगरपालिकाले १० किमी नयाँ ट्र्याक खोलेको छ भने ३० किमी सडक ग्राभेल गरेको छ। भीमाद नगरपालिकाले ११ किमी नयाँ ट्र्याक खोलेको छ भने १९ किमी कालोपत्र र तीन किमी सडक ग्राभेल गरेको छ। शुक्लागण्डकी नगरपालिकाले १३.०५ किमी नयाँ ट्र्याक खोलेको छ भने ४.५२ किमी सडक कालोपत्र र २४.६८ किमी सडक ग्राभेल गरेको जनाएको छ। यस अवधिमा नयाँ ट्र्याक नखोलेको व्यास नगरपालिकाले भने ५.५९ किमी सडक कालोपत्र र २३.१० किमी सडक ग्राभेल गरेको छ।

आँबुखैरेनी गाउँपालिकाले १४.५ किमी नयाँ ट्र्याक खोलेको छ भने ०.४ किमी सडक कालोपत्र र ०.४ किमी सडक ग्राभेल गरेको छ। म्याग्दे गाउँपालिकाले चार किमी नयाँ ट्र्याक खोलेको छ भने ३.८ किमी ग्राभेल र ४२ किमी सडकको विस्तार गरेको छ। त्यस्तै, देवघाट गाउँपालिकाले २६.५ किमी नयाँ सडकको ट्र्याक खोलेको छ।

घिरिङ, ऋषिङ र बन्दीपुर गाउँपालिकाले भने यस अवधिमा नयाँ ट्र्याक खोल्न नसकेको बताएका छन्। ऋषिङ गाउँपालिकाले भने चार किमी सडक कालोपत्र र १६८ मिटर सडक ग्राभेल गरेको छ। बन्दीपुर गाउँपालिकाले पनि दुई किमी सडक कालोपत्र गरेको छ।

म्याग्दे गाउँपालिकाले सात वटै वडामा महत्वपूर्ण सडक पहिचान गरी उक्त सडकमा बाह्रै महिना सवारी सञ्चालन गर्ने तयारी गरेको प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिए। साथै चालू आर्थिक वर्षमा चार महत्वपूर्ण सडकखण्डको डिपिआर तयार गरी पक्कीनाला र कालोपत्र सुरु गर्ने लक्ष्य राखिएको उनले जानकारी दिए। नागिलाका अनुसार नयाँ ट्र्याक खोल्दा अनिवार्यरूपमा सडक छ मिटर हुनुपर्ने मापदण्ड कायम गरिएको छ।

यसैगरी, आन्तरिक राजश्व कार्यालय दमौलीले गत आव २०७४/७५ मा सबैभन्दा बढी कर तिर्ने करदातालाई सम्मान गरेको छ। कर सप्ताहको अन्तिम दिन कार्यालयले शनिबार एक कार्यक्रमको आयोजना गरी तनहुँ, लमजुङ र गोरखाका करदातालाई सम्मान गरेको हो।

सम्मानित हुनेहरुमा तनहुँको रोयल सहकारी संस्था लिमिटेड, लमजुङको ग्लोबल आइएमई लघुवित्त संस्था लिमिटेड र गोरखाको सत्यसाई हार्डवेयर एण्ड सप्लायर्स रहेको छ। सो अवसरमा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठले रोयल सहकारीका अध्यक्ष कृष्णराज पण्डित, ग्लोबल लघुवित्तका प्रमुख कार्यकारी अधिकृत किरण कुँवर र सत्यसाई हार्डवेयरका सञ्चालक देवमाया मास्केलाई सम्मानपत्रले सम्मान गरेका थिए।

प्रकाशित: ८ मंसिर २०७६ ०७:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App