coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

डार्बिनको आत्मीय घेरामा 'नेपथ्य'

डार्बिन – नेपाली लोक रक ब्याण्ड ‘नेपथ्य’ ले अस्ट्रेलियाको विभिन्न सहरमा श्रृंखलाबद्ध सांगीतिक प्रस्तुति दिइरहेको छ। शुक्रबार नेपथ्यले अस्ट्रेलियाको डार्बिनस्थित इटालियन क्लबमा सांगीतिक प्रस्तुति दिएको थियो। अस्ट्रेलियाको विभिन्न सहरमा अध्ययन र बसोबासको निम्ति पुगेका नेपालीहरूलाई सांगीतिक महोलमार्फत् एकजुट हुन आग्रहसहित लोक ब्याण्ड नेपथ्यले सांगीतिक प्रस्तुति दिइरहेको छ। शुक्रबार डार्बिनस्थित इटालियन क्लबमा नेपथ्यले आफ्ना नयाँ र पुराना गीतहरू प्रस्तुत गरेका थिए। नेपथ्यले कन्सर्टको सुरुवात ‘आँगनै भरी’ गीतबाट गरेको थियो। सोलगत्तै नेपथ्यको लोकप्रिय ‘भेँडाको ऊनजस्तो’ र ‘छेक्यो छेक्यो’ले निरन्तरता पाउँदै गयो।

डार्बिनमा पढ्न वा बसोबासका निम्ति आइपुगेका नेपालीहरू दर्शकहरू नेपथ्यको गीतहरूसँगै गाउँदै र नाच्दै साथ दिइरहेका थिए। सांगीतिक महोलको बीचमा नेपथ्यका गायक अमृत गुरुङले ब्याण्डसँगको यात्राका अनुभवहरू सुनाइरहेका थिए। ‘संसारमा नेपालीलाई इमान्दारको रूपमा चिन्छन्। पुर्खा र अग्रजले कमाएको इज्जतमा खलल आउन नदिनु होला,’ उनी भन्दै थिए। अस्ट्रेलिया सरकारले हाल नेपालीहरूलाई भिषाको प्राथमिकतामा तल राखेको चर्चा चलिरहेको सन्दर्भमा उनले धारणा व्यक्त गरेका थिए। ‘हामीमध्ये धेरै काम गर्न विदेशिएका छौं। कामलाइ ईमान्दारीका साथ निभाउनु होला,’ उनले भने।

हाल अस्ट्रेलियाको नर्दन टेरिटरी राज्यमा पर्ने डार्बिनमा स्थायी बसोबासको चाहना राख्नेहरूका निम्ति सहज अनुमति प्रदान गर्न रिजनल रुरल एरियाको वर्गीकरणपछि नेपालीहरूको जनसंख्यामा उतारचढाव आइरहने गर्छ। ‘यता बसोबास गर्ने नेपालीहरूले गतिला कन्सर्ट हेर्ने मौका पाउन मुस्किल पथ्र्यो,’ स्थानीय आयोजक गोर्खा पल्टनका श्याम थापा भन्छन्, ‘चार वर्षअघि नेपथ्य पहिलोपटक आएर सिर्जना गरेको माहौललाई यसपटकपनि उसले निरन्तरता दिएको छ।’ नेपथ्यको जारी अस्ट्रेलिया श्रृंखला यसपछि एडिलेड सहरतर्फ अघि बढ्नेछ जहाँ स्थानीय एचक्यू कम्प्लेसमा ब्याण्डले डिसेम्बर ३ मा सांगीतिक प्रस्तुति गर्नेछ।

नेपथ्यलाई व्यवस्थापन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठका अनुसार नेपालको कुना काप्चामा सबैभन्दा बढी घुमेको ब्याण्ड पनि सम्भवत यहि रहेको अनुमान गर्छन्। ‘हामीले सहर मात्र होइन साना ठाउँमा पनि आफूलाई पु¥याएका छौं,’ किरण थप्छन्, ‘४० वटा जिल्ला नाघिसकेको नेपथ्य प्रदर्शित स्थानहरूमा फिदिम, बेनी, वालिङ, पाल्पा, तम्घास, सन्धिखर्कजस्ता थुप्रै साना सहर बजारहरू पनि जोडिएका छन्।’‘शान्तिको लागि शिक्षा’ अभियान लिएर डाँढाकाँडाका दर्शकहरूसम्म पहुँच बनाएका दिनहरूको स्मरण उनले गरे। सन् २००१ देखि यस ब्याण्डलाई व्यवस्थापन गर्न थालेको नेपालयले त्यसयता मुलुकभित्रदेखि बाहिरसम्मै ठूला सहर अनि साना घेरासम्म नेपथ्यलाई पु-याउँदै आएको छ।

नेपथ्यको कन्सर्ट हेर्न पुगेका ‘हिजोआजका कुरा’ टेलिसिरियलका निर्देशक तथा कलाकार नितेशराज पन्तले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सदैव हाम्रो मनमुटु छुँदै आएको नेपथ्यको सो गजबमात्र होइन। मैले चिताएको भन्दा राम्रो भयो। हामीले सम्मान गर्ने गायक अमृत गुरुङले संगीतका माध्यमबाट जुन हार्दिकताको सञ्चार गरिरहनु भएको छ। त्यसले हामी सबैलाई जन्मेको मुलुकप्रतिको दायित्व झकझक्याइ रहन्छ।’ सन् २००९ बाट सुरू भएको नेपथ्यको श्रृंखलाबद्ध सांगीतिक प्रस्तुति यसलगत्तै एडिलेडमा डिसेम्बर ३, होबार्टमा डिसेम्बर ८, सिड्नीमा डिसेम्बर १४ र मेलवर्नमा डिसेम्बर २३ मा सांगीतिक प्रस्तुति दिनेछ। यसपटक नेपथ्यको सांगीतिक प्रस्तुतिमा छ जना ब्याण्डका सदस्य सहभागी छन्।

प्रकाशित: ८ मंसिर २०७६ ०४:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App