coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हाइटीमा खाद्य असुरक्षाको खतरा बढ्दै

न्युयोर्क – राजनीतिक अस्थिरताका कारण हाइटीमा लामो समयदेखि विरोध प्रदर्शन जारी छन्। जसका कारण खाद्य असुरक्षा बढ्दै गएको बताइएको छ।

राजनीतिक अस्थिरताका कारण हाइटीमा महिना दिनभन्दा लामो समयदेखि सरकारविरुद्ध प्रदर्शन जारी रहेका कारण खाद्यान्नको कमी हुने खतरा बढेको संयुक्त राष्ट्र संघको एउटा प्रतिवेदन उल्लेख गर्दै चिनियाँ समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।
निरन्तरको सरकारविरोधी प्रदर्शनका कारण गत सेप्टेम्बरदेखि हाइटीमा व्यापार व्यावसायका साथै विद्यालय र विश्वविद्यालय पनि बन्द नै रहेका छन्।
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफन डुजारिकले बताएअनुसार हाइटीमा खाद्य असुरक्षाको अवस्था बढ्दै छ।
महिनौं लामो आन्दोलनका कारण देशको अवस्था अस्तव्यस्त भएको, दैनिक प्रशासन सञ्चालनका साथै उत्पादन र बन्द व्यापारको काम पनि हुन नसकिरहेको कारण लाखौं मानिस खाद्यान्नको अभावको समस्यामा पर्न सक्ने महासचिव गुटेर्रेसका प्रवक्ता डुजारिकले बताएका छन्।
उनले हाइटीका करिब ३७ लाख नागरिक खाद्यान्न अभावको समस्यामा परिरहेको र आगामी समयमा यो समस्या अझ थपिँदै जाने चेतावनीसमेत दिएका छन्।
अहिले पनि ठूलो संख्यामा रहेका हाइटीका नागरिक खाद्यान्न अभावको समस्यामा परेका छन्। संयुक्त राष्ट्र संघले हालै प्रकाशन गरेको इन्टिग्रेटेड फेज क्लासिफिकेसन (आइपिसी) प्रतिवेदनमा यस्तो अवस्था रहेको पाइएको हो। उक्त प्रतिवेदनमा हाल हाइटीका करिब ३७ लाख नागरिक खाद्यान्न अभावको समस्यामा खेपिरहेका छन्। जसका कारण खाद्यान्नको समस्या आगामी केही दिनमै संकटपूर्ण रूपमा बढ्ने देखिएको छ। उक्त प्रतिवेदन विश्वव्यापी रूपमा खाद्यान्नको समस्या के कस्तो छ र त्यसका कारण के हुन् भनी पत्ता लगाउने प्रणालीबमोजिम तयार पारिएको हो।
सो प्रतिवेदनले हाइटीमा खाद्यान्न अभावको समस्या एकपछि अर्काे गरी बढ्दै गएकोले यसको समाधानका लागि विशेष कदम चाल्नुपर्ने सुझाव पनि दिएको छ।
आगामी मार्च महिनासम्ममा हाइटीमा कम्तीमा पनि ४० लाख नागरिकले खाद्यान्न अभावको समस्या झेल्न सक्ने सो प्रतिवेदनले औंल्याएको छ। यही कारण संयुक्त राष्ट्र संघीय विश्व खाद्य कार्यक्रमले हाइटीको यो अवस्था अत्यन्तै संकटपूर्ण अवस्था भएकोले यसका लागि सबैले गम्भीर भएर सोच्नुपर्ने अवस्था आएको बताएको छ।
हाइटी संकटको समाधानका लागि केही न केही उपाय अवलम्बन गर्न पनि विश्व खाद्य कार्यक्रमले सबैसँग आग्रह गरेको सिन्ह्वाले जनाएको छ।

 

प्रकाशित: ८ मंसिर २०७६ ०४:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App