८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

ज्यान गुमाउनेको संख्या २३ पुग्यो

सान्टियागो – चिलीमा जारी हिंसात्मक प्रदर्शनका कारण ज्यान गुमाउनेको संख्या २३ पुगेको छ। चिलीमा पाँच सातादेखि सरकारविरोधी प्रदर्शन सुरु भएको थियो। प्रदर्शनका कारण देशको अवस्था दिनप्रति दिन बिग्रदै गएको छ र देशका विभिन्न सहरमा लुटपाटसमेत भएका खबर बाहिरिएका छन्।

चिलीका प्रदर्शनकारीले गत अक्टोबर १८ देखि सामाजिक र आर्थिक असमानताको विरोध गर्दै राजधानी सान्टियागोसहित विभिन्न सहरमा सरकारविरोधी प्रदर्शन गरिरहेका छन्।

दक्षिण अमेरिकी देश चिलीमा लोकतन्त्र स्थापनाको तीन दशकमा भएका संकटमा यो सबैभन्दा खराब समय भएको र यस आन्दोलनको क्रममा हालसम्म २३ व्यक्तिले ज्यान गुमाएको बताइएको छ। पछिल्लो सरकारविरोधी प्रदर्शनका क्रममा कम्तीमा दुई हजार व्यक्ति घाइते भएको विवरण पनि सार्वजनिक भएका छन्।

निरन्तरको प्रदर्शनपछि चिलीको संसद्ले नोभेम्बर १५ का दिन तानाशाहकालीन संविधान परिर्वतन गर्नका लागि आउँदो अप्रिलमा जनमत संग्रह गर्नेबारेको निर्णय पारित गरेको थियो।

चिलीमा जारी हिसात्मक प्रदर्शनका क्रममा पछिल्लो पटक एक १३ वर्षीय किशोरको मृत्यु भएको गृह मन्त्रालयका एक अधिकारीले जानकारी दिएका छन्।

केही दिन तुलनात्मक रूपमा केही शान्त देखिएका प्रदर्शनकारी पुनः शुक्रबारबाट आक्रामक भएको बताइएको छ। राजधानी सान्टियागो एक प्रदर्शन केन्द्रमा शुक्रबार हजारौं मानिस भेला भएर प्रदर्शन गरेका थिए।

‘हामीले आफ्नो अभिव्यक्ति जारी राख्नै पर्छ किनभने हामीले केही हासिल गरेका छैनौं र सरकारी दमन पनि जारी नै छ,’ प्रदर्शनकारीमध्येकी एक युवती क्लाउडिया ओर्टोलानीले फ्रान्सेली समाचार एजेन्सी एएफपीलाई भनिन्, ‘सरकारले शान्ति सम्झौताजस्तै नक्कली सम्झौतामा हस्ताक्षर गरिरहेको छ।’

चिलीमा मेट्रो टिकटको मूल्यवृद्धि भएको विरोधमा करिब पाँच साता अघि हिंसात्मक आन्दोलन सुरु भएको थियो। मानिस पुनः सडकमा भेला हुनथालेपछि चिलीका राष्ट्रपति सेबास्टिअन पिनेराको सरकारले जनतालाई शान्त हुनको लागि आग्रह गरेको छ। त्यसैगरी, गृहमन्त्री गोन्जालो ब्लुमेलले पनि देशमा विद्यमान अशान्ति अन्त्य गर्न सबै राजनीतिक शक्तिलाई अपिल गरेको फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ।

निरन्तरको प्रदर्शनपछि चिलीको संसद्ले नोभेम्बर १५ का दिन तानाशाहकालीन संविधान परिर्वतन गर्नका लागि आउँदो अप्रिलमा जनमत संग्रह गर्नेबारेको निर्णय पारित गरेको थियो। चिली प्रदर्शनकारीले देशको सामाजिक र आर्थिक अवस्था सुधारका लागि तानाशाहकालीन संविधान परिवर्तन गर्नुपर्ने माग गर्दै आएका थिए।

स्पष्ट नेतृत्वकर्ता नभएको चिलीको पछिल्लो सरकारविरोधी प्रदर्शनपछि जनमत संग्रह गर्ने भनेर गरिएको सम्झौतामै पनि केहीले असन्तुष्टि जनाउँदै पनुः शुक्रबारबाट प्रदर्शन सुरु गरे पनि गत शुक्रबारभन्दा अघिको प्रदर्शनमा घाइते भएका एक प्रदर्शनकारीको उपचारकै क्रममा मृत्यु भएपछि मारिने आन्दोलनकारीको संख्या २२ पुगेको अधिकारीहरुले बताएका छन्।

प्रकाशित: ८ मंसिर २०७६ ०४:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App