coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

अर्को वर्ष नयाँ शब्दकोष, डेढ लाख शब्द समेटिदैं

काठमाडौं - के तपाईंलाई ‘फेसबुक’को नेपाली शब्द अर्थ थाहा छ ? अनि के यो शब्दलाई नेपाली शब्दकोषमा खोजेर पाउनुहुन्छ त ? अहँ, पाउनुहुन्न। तर, अब चिन्ता नलिनुस्।

नेपाल प्रज्ञा प्रतिष्ठानले यस्तै नयाँ–नयाँ शब्द संकलन गरेर ‘प्रज्ञा नेपाली बृहत शब्दकोष’ प्रकाशन गर्दैछ। नयाँ शब्दकोष आगामी वर्ष बजारमा ल्याउने तयारी गरिएको प्रज्ञा प्रतिष्ठानले जनाएको छ। ‘नेपाली समाज, आमसञ्चार र प्रशासनमा प्रयोगमा रहेका शब्द हाल प्रचलनमा रहेको बृहत् नेपाली शब्दकोषमा छैनन्,’ प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले भने, ‘त्यसैले अहिलेको शब्दकोषलाई विस्थापित गरी नयाँ शब्दकोष प्रकाशनको तयारी थालेका हौं।’

कूलपति उप्रेतीका अनुसार नयाँ शब्दकोषमा १ लाख ५० हजारभन्दा बढी नेपाली शब्द समावेश गरिनेछन्। उक्त शब्दकोषका लागि १ लाख १५ हजार शब्द संकलन भइसकेका छन्। उनका अनुसार २०६८ सालमा नयाँ शब्दकोषका लागि शब्द संकलन सुरु गरिएको हो। शब्द संकलन यसै वर्ष सकेर अर्काे वर्ष भाषा, वर्ण विन्यास र बाँकी व्यवस्थापन सक्ने गरी काम भइरहेको कुलपति उप्रेतीले जानकारी दिए।

‘नयाँ संघीय संरचनासँगै धेरै प्रशासनिक नाम थपिएका छन्, चलनचल्तीमा छन्। ती शब्दलाई पनि नयाँ शब्दकोषमा राख्नुपर्ने छ। अहिले त्यही काम प्रतिष्ठानले गरिरहेको छ,’ कुलपति उप्रेतीले भने, ‘अहिले चलनचल्तीमा आएका नयाँ शब्द, जस्तै ः फेसबुक, कम्प्युटर, भाइबर जस्ता शब्दलाई शब्दकोषमा राख्नुपर्छ।’ प्रशासनिक क्षेत्रमा नयाँ शब्द प्रयोग भइरहेकाले यिनलाई पनि शब्दकोष समेट्नुपर्ने उनको भनाइ छ। ‘पहिलाको शब्दकोषमा पञ्च, पञ्चायत, प्रधानपञ्च जस्ता शब्द थिए। अहिले पालिका, स्थानीय तह आएका छन् र प्रशासनिक भूमिका पनि फरक छन्। ती सबै समेट्नु नयाँ शब्दकोषको लक्ष्य हो,’ उनले प्रष्ट पारे। उनका अनुसार पुरानो बृहत् नेपाली शब्दकोषमा करिब ९० हजार नयाँ नेपाली शब्द थपेर नयाँ शब्दकोष प्रकाशन हुन लागेको हो।

शब्दकोषका लागि प्रतिष्ठानका कुलपति उप्रेतीलाई भाषा हेर्ने जिम्मेवारी तोकिएको छ। अन्य जिम्मेवारी बाँडफाँड र समिति निर्माण गर्न बाँकी रहेको प्रतिष्ठानले जनाएको छ। बृहत् नेपाली शब्दकोष नवौं संस्करणका बेला वर्णविन्यास र संयुक्त शब्दमा परिमार्जनका कारणमा विवादमा समेत आएको थियो। नयाँ शब्दकोष प्रयोगमा आएपछि बृहत् नेपाली शब्दकोष विस्थापन हुनेछ। २०४० सालमा डा. बासुदेव त्रिपाठी, डा. बल्लवमणि दाहाल र बालकृष्ण पोख्रेलले सम्पादन निर्देशनमा बनेको शब्दकोषको १० औं संस्करण प्रकाशन भएको छ। नयाँ शब्दकोषले पुरानो शब्दकोषका समस्या समाधान गर्ने प्रतिष्ठानको दाबी छ।

प्रकाशित: ८ मंसिर २०७६ ०३:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App