८ वैशाख २०८१ शनिबार
समाज

सीमामा उजाडिँदैं नेपाली भूमि

पाँचथर - सन्दकपुरदेखि तिम्बुपोखरीसम्मको नेपाली भूगोल हेर्दा उराठलाग्दो देखिन्छ। रूखहरू काटिएका कारण त्यहाँका अग्ला डाँडाकाँडा उजाडिएका छन्। भारततिर सिक्किम र वेस्ट बंगालको वन क्षेत्रमा भने प्रशस्त हरियाली देखिन्छ। सीमाक्षेत्रमा भारतले आफ्नो वन, भूगोल संरक्षित गरेको छ भने नेपालतर्फ भने सरकारी उपस्थिति शून्य छ।

सीमाक्षेत्रमा सुरक्षा निकायको मात्र होइन, स्थानीय सरकार, वनसम्बन्धी निकायलगायत निकायको समेत उपस्थिति छैन। भारततर्फको वनमा रूख काट्न, जडीबुटी टिप्न पूर्ण रूपमा प्रतिबन्ध छ। तर नेपालतर्फ कुनै रोकटोक छैन। भारतले वनसंरक्षण गरेर हरियाली फैलाउँदै लगेको छ। तर नेपालतर्फ हेर्ने हो भने भएको वनजंगल घट्दो क्रममा देखिन्छ। यो क्षेत्र जैविक विविधता र लोपोन्मुख वन्यजन्तुको हिसाबले महŒवपूर्ण मानिन्छ। तर जैविक विविधताको संरक्षणका लागि ठोस काम हुन सकेको देखिँदैन।

गैरसरकारी संस्थाबाहेक वन, वातारणको संरक्षणका लागि काम भएको देखिँदैन। भारतीय वनक्षेत्रमा जतासुकै प्रवेश गर्न पाइँदैन। भारतीयलगायतलाई नेपालको वनक्षेत्रमा प्रवेश तथा उपभोगमा कुनै रोकटोक छैन। सदरमुकामदेखि टाढा तथा पातलो गरी गोठ मात्र भएको फाइदा लिँदै यहाँको प्राकृतिक दोहोन भएको देखिन्छ। बुधबार मात्र सीमाक्षेत्रको अवलोकनबाट फर्किएका सीमा प्रशासन कार्यालय च्याङ्थापुका प्रमुख विनोद चौहानले नेपालको वनक्षेत्र उजाडिँदै गएको तथा भारतीय क्षेत्र हराभारा भएको सुनाए। सीमाक्षेत्रमा वन तथा जैविक विविधताको संरक्षण आवश्यक देखिएको उनको भनाइ छ। सीमाक्षेत्रमा मात्र नभई तल बस्तीसम्मको वनक्षेत्र पनि घट्ने क्रममा देखिन्छ।

४५ किलोमिटर सीमाक्षेत्र हेर्दा विरक्तलाग्दो देखिन्छ। खुला सिमाना हुनुका साथै सरकारी उपस्थिति नहुँदा चोरीनिकासीसमेतँदै गएको देखिन्छ। स्थानीय तहले यो क्षेत्रको जैविक विविधता संरक्षणको नाममा केही काम गरेको देखिँदैन। बरु विकासका नाममा प्राकृतिक दोहन भएको देखिन्छ। ‘सरकारी तवरबाट संरक्षणका लागि गर्नुपर्ने काम भएका छैनन्। यो बहुमूल्य जडीबुटी पाइने क्षेत्र हो। सो क्षेत्रमा रेडपान्डालगायत वन्यजन्तु पाइन्छ। पानीको स्रोत पनि प्रशस्त भएको क्षेत्र हो। तर सीमा आसपासका प्राकृतिक सम्पदामा सरकारको ध्यान पुग्न सकेको छैन,’ संरक्षणमा क्रियाशील

दीपज्योति युवा क्लबका कार्यकारी निर्देशक सुनिल बान्तावाले भने, ‘हामीले त जनचेतना मात्र जगाउने हो। सरकारी तवरबाट विशेष ध्यान दिनु आवश्यक छ।’ भारतको सिक्किममा कञ्चजंगा नेसनल पार्क र वेस्ट बंगालमा सिंहलीला नेसनल पार्कका रूपमा संरक्षित छ। सीमाक्षेत्रका वन कार्यालय पर्याप्त भेटिन्छन्। विभिन्न संकेत चिह्नदेखि सार्वजनिक सूचना पाटीहरू भारतले राखेको छ। तर नेपालतर्फ एउटा पनि बोर्ड देखिँदैन। स्थानीय सरकारको चासो पनि पुगेको देखिँदैन। यो क्षेत्र जैविक विविधताले भरिपूर्ण छ।

बहुमूल्य लेकाली जडीबुटी र लोपोन्मुख वन्यजन्तु पाइन्छन्। तर यसको संरक्षणमा ध्यान दिएको देखिँदैन। छिमेकमै भारततर्फ हेर्ने हो भने वनक्षेत्र विशेष रूपमा संरक्षित छ। हरेक ६ किलोमिटरमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को क्याम्प छ। वन कार्यालयहरू पनि रहेका छन्। यो क्षेत्र प्राकृतिक रूपमा सुन्दर छ। पर्यटकहरू बाक्लो गरी आउँछन्। सीमाक्षेत्रमा जिल्लाका याङवरक र फालेलुङ गाउँपालिकामा पर्छन्। उच्च पहाडी क्षेत्रमा पर्ने सीमाक्षेत्रमा मानवीय गतिविधि पर्याप्त हुने भए पनि न सुरक्षाकर्मीको उपस्थिति छ न वनलगायत अन्य सरकारी कार्यालयहरू छन्। त्यसैको फाइदा लिँदै नेपाली भूभाग भारतीयहरूले सहजै उपभोग गर्छन्। भारतीय गाडीहरू गाउँगाउँ आइपुग्छन् भने यहाँको प्राकृतिक स्रोतसाधनको उपभोग र व्यापारसमेत हुने गरेको छ।

वन कार्यालयको उपस्थिति यो क्षेत्रमा विरलै हुने गर्छ। रूखहरू काटिएका छन्। भएका निर्माणका केही काम पनि वातावरणीय अवस्थालाई ख्याल नगरी भएका छन्। गाउँपालिकाले सीमाक्षेत्रबारे खासै काम गर्न सकेको छैन। बोर्डसमेत नराखेको भन्दै स्थानीयले गुनासो गर्ने गरेका छन्। नेपालमा सरकारी संरचना नहँुदा सीमाक्षेत्रमा आउने पर्यटकलाई नेपालतर्फ भिœयाउन नसकिएको उनीहरू बताउँछन्।

यहाँ पाइने बहमूल्य जडीबुटी, महŒवपूर्ण वन्यजन्तु भेटिन कठिन बन्दै गएको छ। भारतीयहरूले सहजै नेपाली भूमिका प्राकृतिक स्रोतसाधन उपभोग गर्छन्। सतुवा, बिख, बिख्मा, पाखनवेद, पाँचऔंले, टुड्की, टिमुर, जटामसी, लोठसल्ला, वन लसुन ,केन्जो, चिम्फिङलगायत जडीबुटी जोखिममा पर्न थालेका छन्। नेपालको प्राकृतिक स्रोतसाधनको चरम उपभोग भए पनि संरक्षणतर्फ ध्यान दिइएको छैन। संरक्षण गर्दै लैजाने हो भने पर्यटकहरू पनि रमाउन सकिने पर्याप्त ठाउँ छन्।

प्रकाशित: ८ मंसिर २०७६ ०३:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App