coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

सिन्धुलीमा पुनर्निर्माण सुस्त

सिन्धुली - भूकम्प गएको पाँच वर्ष बित्न लाग्दा पनि सिन्धुलीमा पुनर्निर्माणले प्रभावकारी रूपमा गति लिन सकेको छैन। गैरभूकम्पपीडितको प्रभाव, दक्ष मिस्त्रीको अभाव, निर्माण सामग्रीको महँगीलगायतका कारण यहाँको पुनर्निर्माण आधा मात्रै सम्पन्न भएको छ। सरकारले पाँच वर्षभित्र निजी आवास निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ। पुनर्निर्माण प्राधिकरण गठन भई भूकम्पपछिको पुनर्निर्माणका लागि लिएको समय सकिन अब १३ महिना मात्रै बाँकी छ तर हालसम्म सिन्धुलीमा ५४ प्रतिशत मात्रै पुनर्निर्माण भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय सिन्धुलीले जनाएको छ।

‘हालसम्म जिल्लामा ५४ प्रतिशत भूकम्पपीडितले मात्रै नयाँ घर निर्माण कार्य सम्पन्न गरी आवास अनुदानबापतको रकम पुरै बुझेका छन्,’ कार्यालयका निमित्त प्रमुख सूर्यप्रकाश विष्टले जानकारी दिए। भूकम्प गएको ५५ महिनामा जिल्लाका २० हजार पाँच सय ९० जनाले घर निर्माण गरी तेस्रो किस्ताबापतको रकम लिएको कार्यालय प्रमुख विष्टको भनाइ छ। पुुनर्निर्माण तथा प्रबलीकरण दुवैखाले गरी जिल्लामा ५२ हजार दुई सय ६४ जना लाभग्राही छन्। जसमध्ये पुनर्निर्माणतर्फ ३८ हजार ५३ छन् भने प्रबलीकरण तर्फ १४ हजार दुई सय सातजना रहेको कार्यालयले जनाएको छ। ३८ हजार ५३ भूकम्पपीडित प्राधिकरणको लिस्टमा भूकम्पबाट पूर्ण क्षतिग्रस्त भई अनुदानका लागि योग्य भएको भन्दै सार्वजनिक गरिएको अनुदान सूचीमा नाम भएका केहीले अझै सम्झौता नै गर्न नआएको कार्यालयले जनाएको छ। ३८ हजार ५३ जना लाभग्राही रहेकोमा ३६ हजार नौ सय ४८ जनाले मात्रै सम्झौता गरी घर निर्माण प्रक्रियालाई अगाडि बढाएका छन्। २ दशमलव १ प्रतिशत घरपरिवारले अझै सम्झौता नै गर्न नआएको कार्यालयले जनाएको छ।

झन्झटिलो प्रक्रियाका कारण सिन्धुलीमा पुनर्निर्माणले गति लिन नसकेको स्थानीय बताउँछन्। आवास अनुदानको दोस्रो किस्ताबापत २८ हजार आठ सय ८९ जनाले अनुदान रकम लिएका छन्। तर अनुदान लिएका भए पनि जगसम्मको मात्रै काम भएको र निर्माण सम्पन्न हुन समय लाग्ने स्थानीय बताउँछन्। जिल्लाको साबिकका २५ गाविसलाई भूकम्पबाट अतिप्रभावितको लिस्टमा राखिएको थियो। तर राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सिन्धुलीका साबिकका अधिकांश गाविसमा भूकम्पबाट क्षति भएको भन्दै आवास अनुदानको सूचीमा सूचीकृत गरेपछि पहाडी क्षेत्रमा धमाधम घरहरू बने पनि कमलाखुज तथा मरिण क्षेत्रमा अझै पुनर्निर्माण कार्यले गति लिन नसकेको स्थानीय बताउँछन्।

सिन्धुलीमा पहिलो चरणमा ३४ हजार दुई सय ७९ लाभग्राही अनुदान सूचीमा परेका थिए। तर भूकम्पको लाभग्राही सूचीमा नपरेका २८ हजार ६ सय २६ जनाले लाभग्राही सूचीमा आफूहरू पनि पर्नुपर्ने भन्दै गुनासो दर्ता गरे। गुनासो फस्र्योट भई आएकामध्ये पाँच हजार पाँच सय ७२ जनाको लाभग्राही सूचीमा नाम समावेश भएको छ। पुनर्निर्माणका लागि स्थानीयलाई पनि ठूलै झन्झट छ। स्थानीय तहको वडा कार्यलयमा कार्यरत इन्जिनियरहरूको सिफारिस, सहरी विकास तथा भवन डिभिजन कार्यालय, त्यसपछि जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालय हुँदै कोष तथा लेखा नियन्त्रण कार्यालय र पुनः जिल्ला आयोजना कार्यान्वयन एकाइमा फाइल तथा चेक आई बैंकमा जानुपर्ने भएकाले पनि झन्झटिलो प्रक्रिया पार गर्नुपर्ने भूकम्पपीडितलाई समस्या छ। भूकम्पबाट सबै क्षतिग्रस्त भएका केही लाभग्राहीले तीन÷चार कोठाको घर बनाए पनि अन्य स्थानमा घर भएका तथा बस्न योग्य घर भएका अधिकांशले साना घर बनाएका छन्। व्यक्तिको घर र भूकम्पको घर छुट्टाछुट्टै जस्तै भएको छ, फिक्कल गाउँपालिकाकी उपाध्यक्ष पार्वती सुनुवारले भनिन्, यो घर कसको भनेर सोधे भूकम्पको भन्ने जवाफ आउँछ।

प्रबलीकरणको काम सुरु नै भएन
भूकम्पपछि सामान्य क्षति भएका घरलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले मर्मत–सम्भार गर्दा बस्न योग्य हुने भन्दै प्रबलीकरण गर्न एक लाख अनुदान दिने व्यवस्था गरेको छ। दुई किस्तामा दिइने अनुदानका लागि सम्झौता गरी पहिलो किस्ताबापतको रकम पीडितले बुझेपछि प्रबलीकरण के हो भन्ने कुरा नै जानकारी नहुँदा प्रबलीकरणको काम अगाडि बढाइएको छैन। सरकारले जिल्लाका १४ हजार दुई सय सात घरलाई प्रबलीकरण गर्नुपर्ने भन्दै सूचीकृत गरेको छ। जसमा प्रबलीकरणका लागि भन्दै ९८ प्रतिशतले सम्झौता गरी पहिलो किस्ताबापतको ५० हजार बुझे पनि हालसम्म प्रबलीकरणको काम अगाडि नबढेको कार्यालय प्रमुख विष्टले जानकारी दिए। भूकम्पपीडितले प्रबलीकरणको अर्थ नै नबुझ्दा प्रबलीकरणको काम अगाडि बढेको छैन,’ उनले भने।

प्रकाशित: ८ मंसिर २०७६ ०३:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App