७ वैशाख २०८१ शुक्रबार
राजनीति

ओलीको राष्ट्रवाद कालापानीमा पुगेर लम्पसारवादमा परिणत भयाेः देउवा

फाइल तस्बिर

पोखरा -  कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीकै सहमतिमा भारतले नेपालको भूभाग समेटिएको नयाँ नक्सा सार्वजनिक गरेको आरोप लगाएका छन्। ओलीको सल्लाहबिना भारतले नक्सा छाप्नै नसक्ने पनि उनले बताए।

पोखराको बाटुलेचौरमा शनिबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै देउवाले भने, ‘ओलीसँगको भित्री सल्लाहमा भारतले नेपालको भूभाग समेटेर नयाँ नक्सा छापेको हो। भारतले यत्तिकै नक्सा छापेको होइन।’ ओलीको सहमतिबिना भारतले यो नक्सा छाप्नै नसक्ने पनि उनले बताए।

नेपाली भूमि भारतलाई बुझाएर प्रधानमन्त्री ओलीले सबैभन्दा ठूलो राष्ट्रघात गरेको पनि देउवाले आरोप लगाए। ‘हाम्रो जमिन अहिले मिचिएको छ। नेपालको एक इन्च पनि जमिन मिचिन दिनुहुन्न,’ उनले भने, ‘यसको सबै दोष ओली सरकारले लिनुपर्छ।’

प्रधानमन्त्री ओलीले भन्दै आएको राष्ट्रवाद अहिले हराएको उनले बताए। ‘अघिल्लोपटक राष्ट्रवादका नाममा जनतालाई उल्लु बनाएर चुनाव जिते। त्यो राष्ट्रवाद आज कहाँ गयो ?’ देउवाको प्रश्न थियो। ओलीको राष्ट्रवाद अहिले कालापानिमा पुगेर समर्पणवादमा घुँडा टेकेको उनले बताए। ‘ओलीको राष्ट्रवाद कालापानीमा पुगेर लम्पसारवादमा परिणत भएको छ। ओली राष्ट्रवादी नै होइनन्,’ उनले भने।

‘हामीले प्रधानमन्त्री स्वयंलाई भेटेर भारतले मिचेका भूभाग फिर्ता ल्याउन पहल गर, हामी साथ दिन्छौं भन्यौं, सडकबाट आन्दोलन गरेर सरकारका बन्द आँखा र कान खोल्न खोज्यौं तर सरकार मौन छ, कानमा तेल हालेर अझै बसिरहेको छ,’ उनले भने। उनले सरकार अब पनि प्रजातान्त्रिक मूल्य र मान्यताविरुद्ध अघि बढ्दै गए कांग्रेस चुप लागेर नबस्ने चेतावनीसमेत दिए।

उपनिर्वाचनमा कांग्रेसलाई जिताएर सरकारको अलोकप्रियता देखाइदिनुपर्ने पनि उनले बताए। ‘अहिले उपनिर्वाचनको अति नै महत्व छ। यस चुनावबाट सरकार बन्ने र सरकार हार्ने कुरा होइन,’ उनले भने, ‘तर यो चुनावबाट देश र अन्तर्राष्ट्रिय जगत्लाई सन्देश दिनुछ, त्यो के हो भने अहिलेको सरकार अलोकप्रिय छ। देशमा जनमत सरकारको पक्षमा छैन भन्ने देखाउने ऐना पनि उपनिर्वाचन बन्नेछ।’

ओली सरकारले केके न गर्छु भने पनि आज करको बोझ मात्र जनता, व्यवसायी, उद्योगपति, उपभोक्तामाथि थोपरेको उनले बताए। उपनिर्वाचनमा कांग्रेसले जित्दा कर बढाएको खिलाफको म्यासेज पनि हुने उनले बताए। ‘उपनिर्वाचनमा जित्दा करको विरोधमा जितेको हुनेछ। कर, बढेको खिलाफमा यहाँका मतदाताले जवाफ लिनेछन,’ उनले भने। अहिले उपभोक्ता समितिका नाममा लुटतन्त्र सुरु भएको उनले बताए। यत्तिको लुटतन्त्र नेपालका कहिल्यै नभएको पनि देउवाले बताए। ‘यत्तिको भ्रष्टाचार नेपालमा कहिल्यै भएको थिएन,’ उनले भने।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई धोका दिने धोकेवाज कम्युनिस्ट कहिल्यै पनि जनताको पार्टी बन्न नसक्ने स्पष्ट पारे। उनले अनेक पुलिन्दा र भ्रम छरेर अघिल्लो चुनाव जिते पनि अब कम्युनिस्टलाई जनताले राम्रोसँग बुझिसकेको बताए।

प्रकाशित: ८ मंसिर २०७६ ०२:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App