coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

नेपालको भूमि मिच्ने काम सह्य हुँदैनः प्रचण्ड

फाइल तस्बिर

बागलुङ - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले भारतले नेपाली भूमिमा गरेको अतिक्रमण सह्य नभएको बताएका छन्। शनिबार बागलुङको बुर्तिबाङमा वाम गठबन्धनले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले आफ्नो देशको सिमाना मिच्न नदिन सरकार तयार रहेको बताए। ‘नेपालको सिमाना एक इन्च पनि मिच्न दिँदैनौं, यो विषयमा सर्वपक्षीय छलफलसमेत भइसकेको छ,’ दाहालले भने। राष्ट्रियता र सिमानाको विषयमा दलको समान धारणा बनेकाले सरकारले पनि त्यसलाई लिएर अगाडि बढ्ने बताए।

‘हामीले देशको सिमानको विषयमा समान धारणा बनाउने काम गरेका छौं,’ उनले भने, ‘सरकाले यो कुरालाई अब अगाडि बढाउँछ। हामी आफ्नो देशको एक इन्च पनि जमिन अरूलाई मिच्न दिँदैनौं।’ पार्टी एकतापछि कार्य विभाजनको काम पनि पूरा भएकाले अब देशले गति लिने उनको भनाइ थियो। ओलीजी अब सरकारको काममा र म पार्टीको काममा खटिनेछौं, देशले अब मुहार फेर्छ,’ दाहालले भने। उनले नेपाल अब विकासको दिशामा अघि बढिसकेको उल्लेख गरे। पार्टीको आन्तरिक एकता प्रक्रिया टुङ्गोमा पु-याउनका लागि केही समय लागेको र केही अलमल जस्तो देखिएको भन्दै उनले अब सरकारले जनताका आवश्यतालाई आधार मान्दै गाउँदेखि सहरसम्म विकासको लहर ल्याउन सुरु गरिसकेको दाबी गरे।

‘हामीले देशको सिमानाको विषयमा समान धारणा बनाउने काम गरेका छौं, सरकारले यो कुरालाई अब अगाडि बढाउँछ।’

देशको विकास यही सरकारले गर्नुपर्छ र गर्छ भन्दै उनले आन्तरिक समस्या पार लगाइ सकिएको बताउँदै अबका दिनमा थप उचाइका साथ देशले मुहार फेर्ने बताए। सरकारले गरेका कामको मूल्यांकनको आधार पनि भएकाले आगामी उपनिर्वाचनमा वाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउन लाग्न उनले कार्यकर्तालाई निर्देशन दिए। ‘जनताले हाम्रो आर्थिक समृद्धिको योजनालाई मतदान गरेका थिए, हामीले त्यो दिशामा सरकारलाई अगाडि बढाउन थालेका छौं,’ उनले थपे, ‘अब तपार्इंहरू एकढिक्का भएर यो सन्देशलाई गाउँमा पु¥याउनुस् र आफ्नो पक्षमा माहोल सिर्जना गर्नुस्।’

बागलुङ जिल्लाको विकास र समृद्धिमा आफूले थप कदम अगाडि बढाउने उनको भनाइ छ। ढोरपाटन हाइड्रोपावर निर्माणको काम अगाडि बढाउने पनि उनले प्रतिबद्धता जनाए। ‘मैले यो हाइड्रोपावरका बारेमा प्रधानमन्त्रीजीसँग छलफल गरिसकेको छ,’ उनले भने, ‘यो काम अगाडि बढ्छ। अर्नाकोट एयरपोर्ट, सालझण्डी ढोरपाटन सडक निर्माण, मध्यपहाडी लोकमार्ग कालोपत्रे जस्ता महत्वपूर्ण काम अगाडी बढाउँछौं।’

कार्यक्रममा राष्ट्रिय जनर्मार्चाका अध्यक्ष चित्रबहादुर केसीले मुद्दा मिल्ने र मित्र शक्तिसँग कार्यगत एकता गर्ने पार्टी नीतिअनुसार अघि बढेको बताए। ‘नेकपा हाम्रो मित्रशक्ति हो त्यसैले हामीले यो गठबन्धन गरेर निर्वाचनमा गएका हौं,’ उनले भने, ‘एकआपसमा तालमेल गरेर मात्रै ठूलो विषय होइन।

सहयोग र सहकार्य मजबुद हुनुपर्छ।’ भारतले नेपालमा जमाउन खोजेको कब्जा आफूहरूलाई स्वीकार्य नभएको बताउँदै देशको अस्तित्व बचाउन सबै नेपाली एकताबद्ध भएर लाग्नुपर्ने उल्लेख गरे। ‘अहिले देशका सबै राजनीतिक दल पनि राष्ट्रियताको सवालमा एकठाउँमा उभिएका छौं,’ उनले भने, ‘विगतमा हामीले यो किसिमको एकता प्रदर्शन गर्न नसक्दा भारतले हामीलाई हेपिरह्यो। अब यसका विरुद्ध साझा आवाज उठाउनु जरुरी छ। नेकपा महासचिव विष्णु पौडेलले पश्चिम बागलुङका जनताको माग बागलुङ जिल्लालाई खण्ड बनाउनुपर्ने विषय आफूहरूलाई जानकारी रहेको बताए।

‘यहाँको जनताको आवश्यकता र चाहानालाई छलफलबाट अगाडि पक्षमा हामी छौं,’ उनले भने, ‘अहिलेको समयमा त्यो आवश्यकता हो कि होइन भन्ने विषय तपाइंहरूसँग गम्भीर छलफल गरेर नै हामी टुंगोमा पु-याउँछौं। तपाइंहरूको चाहानामाथि कुनै बज्रपात हुन दिनेछैनौं।’ कार्यक्रमम वाम गठबन्धनका क्षेत्र नम्बर २ (ख) का उम्मेदवार खिमविक्रम शाहीले स्वर्गीय टेबहादुर घर्तीले अधुरा छोडेको काम पूरा गरेर जनताको सपना साकार पार्ने बताए।

प्रकाशित: ८ मंसिर २०७६ ०२:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App