coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

त्रसित सर्वसाधारण, राज्य बेपरवाह

राजविराज - एक सातायता सप्तरीको उत्तरी भेगमा पर्ने अग्निसाइर कृष्णासवरण गाउँपालिका–६ स्थित बस्तीमा जंगली हात्तीको समूहले झन्डै एक दर्जन बढी घर तोडफोड गरेको छ। हात्ती आतंकका कारण स्थानीय १० परिवार हाल घरवारविहीन बन्न पुगेका छन्। गाउँपालिकाका अनुसार स्थानीय तिलक खतरी, कमानसिंह मगर, रोमा परियार, दुखी यादव, सत्यनारायण मण्डल, आनन्द सदा, पञ्चु सदा, मञ्जु कार्कीलगायतको घरमा हात्तीले तोडफोड गरी लाखौंको क्षति पु-याएको हो।

हात्तीका कारण घरवारविहीन बन्न पुगेकाहरूको सूचीमा स्थानीय बलबहादुर राईसमेत रहेका छन्। राईका अनुसार हात्तीले उनका दुईवटा घर भत्काउनुका साथै घरमा रहेको चामल, गहुँसहित खाद्यानसमेत नष्ट गरिदिएको छ। बलबहादुर र उनकी पत्नी दुवैजना शारीरिक रूपमा अशक्त छन्, बोल्ने र सुन्ने शक्तिसमेत छैन। यद्यपि उनीहरूले गाउँटोलमा मजदुरी गरेर जसोतसो जीवन निर्वाह गर्दै आएका छन्। ‘एउटा सानो झुपडी थियो, त्यसभित्रै अरूको खेतमा काम गरेर जम्मा गरेको धानचामल सबै हात्तीले बर्बाद पारिदियो,’ छिमेकी वृजमान तामाङले भने, ‘जंगली हात्तीले पनि गरिबलाई नै दुःख दिन्छन्।’ सो बस्तीमा अधिकांश गरिब तथा विपन्न परिवारकै बसोबास रहेको छ।

हात्तीको आक्रमणबाट पछिल्लो ६ वर्षमा मात्र सप्तरी, सुनसरी र उदयपुरमा गरी १७ जनाको मृत्यु भइसकेको छ।

कोसी टप्पु वन्यजन्तु आरक्षबाट गाउँ पसेका हात्तीको हुलले गत आइतबार मध्यरातमा सप्तरीको कञ्चनरूप नगरपालिका–६ जमुवाका धनेश्वर चौधरीको भान्साघर पूर्ण रूपमा भत्काइदियो। उनको घरभित्रको सबै अन्नपातसमेत हात्तीले खाइदिएपछि उनको परिवारको बिजोग भएको छ। चौधरीका अनुसार खान राखिएको सबै अन्नपात हात्तीले खाएपछि अहिले छाक टार्न पनि छिमेकीकै सहारा लिनुपरेको छ। जंगली हात्तीले चौधरीको घरमा २५ हजार रुपैयाँबराबरको क्षति पु-याएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी तिलक भारतीले जानकारी दिए। जंगली हात्ती मानवबस्तीमा पसेको जानकारी पाएलगत्तै पुगेको प्रहरी टोलीले स्थानीयको सहयोगमा हात्तीलाई जंगलतर्फ लखेटे,’ उनले भने।

चौधरी एउटा प्रतिनिधि पात्र मात्रै हुन्। सो नगरपालिका आसपासका क्षेत्रमा जंगली हात्तीको आतंक उस्तै छ। यता रूपनी गाउँपालिकामा पनि जंगली हात्तीले पछिल्लो समय उस्तै उत्पात मच्चाउँदै आएको गाउँपालिका अध्यक्ष हरेराम यादव बताउँछन्। वडा नम्बर ६ नयाँबस्तीतिर हात्तीले बढी आतंक मच्चाएको उनी बताउँछन्। आफूहरूले तत्कालै थोरै राहत उपलब्ध गराए पनि हात्ती नियन्त्रणतर्फ राज्यले केही पनि गर्न नसकेको उनको गुनासो छ।

सप्तरीको रूपनी र अग्निसाइर कृष्णासवरण मात्रै नभई जिल्लाको उत्तरपूर्वी भेगका अधिकांश स्थानीय तहको अवस्था उस्तै छ। डिभिजन वन कार्यालय तथा जिल्ला प्रशासन कार्यालय सप्तरीको तथ्यांकअनुसार जिल्लाको उत्तरपूर्वी भेगको सप्तकोसी नगरपालिका, कञ्चनरूप नगरपालिका, अग्निसाइर कृष्णासवरण, रूपनी गाउँपालिका, शम्भुनाथ, खड्ग र सुरुंगा नगरपालिकासम्म जंगली हात्तीको आतंक सहजै देख्न सकिन्छ। त्यस्तै जिल्लाको हनुमाननगर कंकलनी नगरपालिकाको भारदह, पोर्ताहा, भलुवा क्षेत्रमा पनि जंगली हात्तीले सर्वसाधारणलाई आतंकित पारेको स्थानीय बताउँछन्।

यस भेगका गाउँले रातिको समयमा अचेल जाग्राम बस्ने गरेका छन्। दिनभर मजदुरी गरेर थाकेका यी गाउँले हात्तीहरूको आतंकका कारण राति पनि आराम गर्नुको साटो आफ्नो जिउधनको रक्षाका लागि समूहमै जाग्राम बस्ने गरेका हुन्।

गाउँले पुरुषहरू टोली बनाएर गाउँबाहिर गस्ती गर्ने गर्दछन् भने बालबालिकाको सुरक्षाको जिम्मेवारी महिलामाथि रहने गरेको छ। ‘जंगली हात्ती कतिखेर गाउँ छिर्ने हो र जनधनको क्षति गर्ने हो भन्ने भयले २४ घन्टै भयभीत तुल्याएको छ,’ कंचनरूपका स्थानीय पत्रकार राजकुमार पासवान भन्छन्, ‘हात्ती आतंकका कारण पछिल्लो दुई महिनायता हामी चैनले सुत्नसमेत सकेका छैनौं।’

गत दुई महिनादेखि टप्पुका हात्तीले जिल्लाको पूर्वी–उत्तरी भेगका गाउँबस्तीमा आतंक मच्चाए पनि नियन्त्रण गर्न स्थानीय प्रशासनले कुनै पहल नगरेकोमा उनीहरूले आक्रोश व्यक्त गरेका छन्। ‘पहिला पहिला २÷३ वटा जति आउँथे,’ पासवानले भने, ‘यसपालि त झन् ६ वटासम्म हात्ती आइरहेका छन्।’ खासगरी पूर्वोत्तर भेगका कमलपुर, घोघनपुर, जगतपुर, कञ्चनपुर, बैरवा, पोर्ताहा, भारदह, मधवापुर, जोगिनियाँ, पिप्रापूर्वलगायत गाउँमा हात्तीले घर तोडफोड गर्नुका साथै गहुँ, तरकारी तथा केराखेती नष्ट गर्दै आएको छ।

सप्तरी, उदयपुर र सुनसरीको एक सय ७५ वर्ग किलोमिटर क्षेत्रमा कोसी टप्पु वन्यजन्तु आरक्ष फैलिएको छ। तर, बढ्दो अतिक्रमण र वन विनासका कारण वन क्षेत्र ४ प्रतिशत मात्र बाँकी रहेकाले जंगली हात्ती मानव बस्तीतर्फ खाना खोज्दै निस्कने गरेको जानकारहरूको भनाइ छ। हात्तीको आक्रमणबाट पछिल्लो ६ वर्षमा मात्र सप्तरी, सुनसरी र उदयपुरमा गरी १७ जनाको मृत्यु भइसकेको छ।

हात्ती नियन्त्रणका लागि चन्दा
जंगली हात्तीले बर्सेनी दुःख दिँदै आएको तथा यसको नियन्त्रणतर्फ राज्यले हालसम्म ठोस पहल गर्न नसकेको भन्दै स्थानीयले आफ्नै पहलमा हात्ती नियन्त्रणतर्फ अग्रसरता देखाएका छन्। हात्ती नियन्त्रणका लागि विभिन्न उपकरण खरिद गर्न स्थानीयले आफै मिलेर चन्दा उठाउन थालेका हुन्।

वर्षौंदेखि त्रास र भयपूर्ण वातावरणमा बसोबास गर्दै आए पनि हात्ती नियन्त्रण गर्नेतर्फ भने कसैको ध्यान नगएको स्थानीयले गुनासो गरेका छन्। बाध्य भएर जंगली हात्तीलाई नियन्त्रण गर्न चन्दा संकलन थालिएको अग्निसाइर कृष्णासवरण गाउँपालिका–२ की पीडित कृष्णामाया राईले बताइन्। ‘साँझ पर्नेबित्तिकै हात्तीको उत्पात सुरु हुन्छ,’ उनले भनिन्, ‘ज्यान जोगाउन गाउँभरि होहल्ला गर्दै जाग्राम बस्नुपर्ने बध्यता छ।’

संसदीय कोषको ६ करोड
हात्ती उत्पातबारे सर्वसाधारणले चौतर्फी दबाब सृजना गर्न थालेपछि सप्तरी निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गतको आर्थिक वर्ष २०७६÷७७ को संसदीय कोषको ६ करोड रुपैयाँ हात्ती नियन्त्रणकै लागि खर्च गर्ने निर्णय गरिएको छ। सप्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा. सूर्यनारायण यादवले जनताको पीडालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको बताएका छन्। कात्तिक २६ गते बसेको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकमा सांसद यादव, समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य सरिता गिरी र राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेलसमेतको उपस्थिति थियो। यसका अतिरिक्त हात्ती नियन्त्रणका लागि वन तथा वातावरण मन्त्रालयले १२ करोड, कञ्चनरूप र सप्तकोशी नगरपालिकाले १/१ करोड रकम लगानी गरी सप्तकोसी नगरपालिकादेखि हनुमाननगर कंकालिनी नगरपालिकासम्म कोसी बाँधमा सिमेन्टको पर्खाल लगाउने योजना रहेको सांसद प्याकुरेलले बताए। हात्ती नियन्त्रणका लागि कोसी टप्पु वन्यजन्तु आरक्षणले समेत ७२ लाख रुपैयाँ छुट्याएको बताइएको छ।

प्रकाशित: ८ मंसिर २०७६ ०२:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App