coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

परालका सामग्री

ललितपुर हरिसिद्धिकी ५५ वर्षीया दशमाया महर्जनले परालसँग खेल्न थालेको ५ दशक हुन थाल्यो। पुकुसी माइती भएकी उनले सानैदेखि परालका जुत्ता लगायत सामग्री बनाउन थालेकी हुन्। सानोमा परालकै जुत्ता लगाउने गरेकी उनी अहिले पनि भान्सामा परालबाट बनेकै जुत्ता लगाउने गरेको सुनाउँछिन्।

‘घर–भान्सामा अझै पनि परालकै जुत्ता लगाउँछौँ,’ परालबाट जुत्ता बनाउँदै गरेकी उनले भनिन्, ‘जाडोको समयमा तातो पनि हुन्छ, सजिलो पनि।’ फुर्सदका बेला उनी परालका सामग्री बनाउन तल्लीन हुन्छिन्। काठमाडौं नक्साल माइती भएकी हरिसिद्धि– २८ की ६२ वर्षीया रामदेवी महर्जन विवाहपछि परालका सामग्री बनाउन लागिन्। परालबाट बनाएका जुत्ताले राम्रै आम्दानी भएको उनको भनाइ छ।

‘एक मुठा परालको चार जोरसम्म जुत्ता बन्छ,’ उनले भनिन्, ‘प्रति जोर जुत्ता ९० रुपैयाँ जतिमा बिक्छ।’ पछिल्लो समय यस्ता जुत्ता किरियापुत्रीले बढी प्रयोग गर्न थालेका छन्। हरिसिद्धिभित्रका ओपी, समल, पाखचा, साफल गरेर चार टोलमा मात्र तीन सय घरघुरी फुर्सदका समय परालेजुत्ता बनाउन व्यस्त रहन्छन्। ‘परालको जुत्ता हरिसिद्धिको ब्रान्ड नै हो,’ हरिसिद्धि–२९ का वडा सदस्य मधुवन महर्जन भन्छन्, ‘यहाँ बुनेका जुत्ता पाटन, भक्तपुर, असन लगायत ठाउँमा बिक्रीका लागि पुग्ने गर्छ।’

परालको जुत्ताबाट हुने आम्दानीले यहाँका किसानलाई राहत हुने गरेको छ। धानको आम्दानीबाट मात्र पेट पाल्न मुस्किल हुनेले परालको आम्दानीबाट राहत पाएका हुन्। हरिसिद्धि, पुम्सीटोलकी चिरिमाया महर्जन पनि परालका जुत्ताबाट राम्रो कमाइ भएको सुनाइन्। ‘एक मुठाको चार जोरसम्म जुत्ता बन्छ,’ रामदेवीले भनिन्, ‘यसबाट तीन सय जति आम्दानी हुन्छ।’ 

पछिल्लो समय यस क्षेत्रका किसानले आफ्नो पुरानो पेसालाई आधुनिकीकरण गर्दै छन्। परम्परागत पेसालाई आधुनिकीकरण गर्दा आम्दानी बढेपछि यसप्रति आकर्षण बढेको छ। पराले सुकुलका लागि प्रसिद्ध ललितपुर साना गाउँका किसानले सुकुलमा बुट्टा भर्ने मात्र होइन, पराले सोफा, ब्याग, मन्दिर लगायत कलात्मक सामग्री बनाएर आम्दानी गर्न थालेका छन्। ‘सुकुल मात्र बनेर भएन,’ साना गाउँकी तारा महर्जनले भनिन्, ‘अहिले परालबाट आधुनिक सामग्री निर्माण गर्दै छौ।’

सिद्धिपुर–७ की चिरिमाया महर्जन पनि परालकै सोफा बनाउन तल्लीन छिन्। सुकुल निर्माणमा चर्चित सानागाउँकी यी ७० वर्षीया वृद्धा सात वर्षयता परालबाट सोफालगायत अन्य घरायसी सामग्रीको निर्माण गर्दै आएको सुनाउँछिन्।
‘सुवmुलबाट मात्र आम्दानी कम भएकाले नयाँ चिजमा हात हालेकी हुँ,’ उनी भन्छिन्, ‘पराले सामग्रीलाई अलिकति आधुनिक रूपमा ढाल्दा आम्दानी बढेको छ।’

१० मुठा परालबाट बन्ने सुकुलले भन्दा तीन मुठाबाट बनेको सोफा–कुर्सीले आम्दानी बढी भएको उनको भनाइ छ। उनी भन्छिन्, ‘आकारअनुसार यस्ता सोफा आठ सयदेखि एक हजार सात सय रुपैयाँसम्ममा बिक्री हुन्छ।’ उनी पाटनबाट परालका सोफा, ढक्की, ब्याग, मन्दिर लगायत सामग्रीको अर्डर लिएर बनाउने गर्छिन्। 

तीन रोपनी खेतकी धनी चिरिमायाले खेतबाट आउने धानभन्दा परालबाट बढी कमाउने गरेकी छिन्। उनी भन्छिन्, ‘सीपलाई नयाँ रूप दियो भने आम्दानी बढ्ने रहेछ। त्यसैले नयाँ काम गर्न थालेका हौँ।’

सानागाउँका एक हजार चार सय घरधुरीमध्ये अधिकांशले फुर्सदका समय सुवल बुन्ने गरेको स्थानीय जयराम नेमकुलले बताए। ‘केहीले यो पेसालाई आधुनिकीकरण गरेका छन्,’ उनले भने, ‘जानकारीको अभावमा धेरैले व्यावसायिक रूप दिन सकेका छैनन्।’

प्रकाशित: ७ मंसिर २०७६ ०४:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App