५ वैशाख २०८१ बुधबार
अन्य

चित्रकलाबाट अस्पताल निर्माण

‘कला मानव समुदाय र जीवनका लागि हुनुपर्छ,’ कलाकार भीम शर्मा यही हुटहुटीले स्थायी शिक्षकको पेसाबाट कलाकारितातर्फ मोडिए।

सन् २०११ को मार्च र अप्रिलमा जर्मनीका तीन सहर (विटमन्ड, स्कोर्टेन्स र विलहेल्मसभेन)मा उनको एकल चित्रकला प्रदर्शनी भयो, त्यहाँ चित्र बिक्रीबाट आएको रकमले उनले ५१ शड्ढयाको अस्पताल खोलेका छन्, नवलपुरको गैँडाकोटमा।

बाग्लुङमा जन्मेका भीम गैँडाकोटका स्थायी बासिन्दा हुन्। प्रकृति र चराचुरुंगीको चित्रकलामा बढी रुचि भएका उनी सानैदेखि चित्र कोर्नमा रुचि राख्थे।

आफ्नो रुचि अनुसार संघर्ष गर्दै जाँदा उनी सफल चित्रकार भए। देशमा मात्र नभएर उनले हालसम्म जर्मन, क्यानडा, डेनमार्क, अफगानिस्तान, भारत, कोरिया लगायत देशमा आफ्ना चित्रकलाको प्रदर्शन गरिसकेका छन्।
नेपालका चरालाई चित्रमा उतारेर जर्मनीमा गरिएको प्रदर्शनीमा उनले चित्रको कुनै मूल्य राखेनन्, बरु नोटमा लेखिदिए, ‘यदि तपाईंलाई इच्छा लाग्यो भने यहाँका चित्रहरू लैजान सक्नुहुनेछ र बदलामा अस्पतालका लागि आवश्यक पर्ने सामग्री दिन सक्नुहुनेछ। हामी नेपालमा एउटा सामुदायिक अस्पताल बनाउँदैछौंँ।’

यही नोटका कारण त्यहाँ प्रदर्शनीमा राखिएका एक सय १९ वटा चित्र कुनै पनि बाँकी रहेनन्। भीम भन्छन्, ‘जर्मनीका केही चिकित्सक, त्यहाँको नगरपालिकाका मेयर, लेखकहरू लगायतसँग छलफल गरेर प्रदर्शनी गरेका थियौँ। मेरा सबै चित्र त्यहाँ आउनेले लगे र सट्टामा हस्पिटलका लागि आवश्यक बेड, डिजिटल एक्स–रे मेसिन, अल्ट्रासाउन्ड मेसिन, ल्याबका सामग्री, अपरेसन थिएटरका सामग्री लगायत थुप्रै सामग्री जुट्यो।’
शर्माले त्यहाँ प्राप्त सामग्री नेपाल ल्याउन धुलिखेल अस्पतालका डा. रामकण्ठ माकजूको सहयोग लिए।

भीम नवलपुरको ‘सहमति’ नामक संस्थाको नेतृत्वमा रहँदा अस्पताल खोल्ने सोच राखेका थिए। त्यसपछि गैँडाकोट क्षेत्रका व्यक्तिसँगको सहकार्यमा गैँडाकोटमा ‘सहज सामुदायिक अस्पताल’ खोलियो। जसमा चित्र प्रदर्शनीबाट जुटाइएका अत्याधुनिक सामग्री छन्।

यहाँका चित्र लैजान सक्नुहुन्छ र बदलामा अस्पतालका लागि आवश्यक सामग्री दिन सक्नुहुन्छ। हामी नेपालमा सामुदायिक अस्पताल खोल्दैछौँ– यही नोटका कारण प्रदर्शनीमा राखिएका एक सय १९ चित्र कुनै पनि बाँकी रहेनन्।

भीम कलाकारिता क्षेत्रमा लाग्नुको कथा पनि रोचक छ। २०४० सालतिर मुस्ताङको एक विद्यालयको प्रधानाध्यापक रहेका उनको जाडो बिदामा घर गएका बेला वरिष्ठ कलाकार एवं साहित्यकार गोविन्दराज विनोदीसँग भेट भयो। पहिलेदेखि नै फोटोग्राफी, साइनबोर्ड लेख्ने काम गरेका शर्मालाई साहित्यकार विनोदीले स्कुल छोड्न सुझाए। आफ्नै रुचिमा फर्कन गरेको विनोदीको आग्रहलाई स्विकारेर उनले तत्काल जागिर छोडे। त्यसपछि उनको चित्रकलातर्फको यात्रा सुरु भयो। अहिलेसम्म नौवटा एकल चित्रकला प्रदर्शनी गरिसकेका शर्मा भन्छन्, ‘नेपालमा कलाकृतिको बिक्री निकै कम हुन्छ। नेपालमा बिक्री हुनेमध्ये करिब ६० प्रतिशत चित्रकला विदेशीले किन्छन्।’
०००
सन् २०१५ मा अफगानिस्तानमा नेपालको प्रतिनिधित्व गर्दै उनीसहित १० नेपाली कलाकारले सार्क चित्रकला प्रदर्शनी गरेका थिए। जसमा उनका तीन चित्र समावेश थिए। प्रदर्शनीमा एउटै चित्र ७० हजारको हाराहारीमा बिक्री भएको उनी बताउँछन्। त्यस्तै, सन् २०१६ एनआरएनले डेनमार्कमा आयोजना गरेको नेपाली सांस्कृतिक तथा सामाजिक अभ्यास विषयमा आधारित प्रदर्शनीमा पनि उनका चित्र बिक्री भएका थिए। गत वर्ष कोरियामा आयोजना भएको प्रदर्शनीमा उनका दुई चित्र ६ सय डलरमा बिक्री भएका थिए। हालसम्म तीन हजारभन्दा बढी चित्र कोरेको र पाँचवटा चित्रकथा प्रकाशित गरेको शर्मा बताउँछन्।

कलाकार भीम शर्मा।

‘मैले प्रदर्शनी धेरै ठाउँमा गरेँ, तर जर्मनीमा गरेको प्रदर्शनीबाट म आत्मादेखि नै सन्तुष्ट छु,’ शर्मा भन्छन्, ‘जर्मनीको प्रदर्शनीले मलाई हौसला मिलेको थियो, आत्मबल बढाएकोे थियो।’

विशेषगरी प्रकृति, मानिसको दैनिकी, चराचुरुंगी आदिलाई उनले चित्रमा उतार्न रुचि राख्छन्। अहिले उनी चराचुरुंगीको जीवनमा आधारित चित्रहरूको प्रदर्शनी गर्ने तयारीमा छन्।

नवलपुरको गैँडाकोट–५ मा रहेको ‘कलावती आर्ट काउन्सिल’मा उनका एक हजारभन्दा बढी चित्रकला छन्। काठमाडौं उपत्यकाबाहिर यो नै ठूलो आर्ट ग्यालरी भएको उनको भनाइ छ। पेन्टिङ किन्ने र सजाउने प्रवृत्ति नेपालमा विकसित नभइसकेको उनको अनुभव छ।

प्रकाशित: ७ मंसिर २०७६ ०१:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App