coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

‘जि वया ला लछि मदुनि...’

अमात्य फाउन्डेसनका संस्थापक ओमचरण अमात्य नेपालभाषामा एउटा फिल्म बनाउँदै छन्– ‘च्वापुफय्’।  डेढ–दुई करोड रुपैयाँको लगानी र चार भाषामा बन्दै गरेको यो फिल्मको कथासार यस्तो छ– आमा, छोरा र बुहारीको एउटा परिवार हुन्छ। बिहे भएको एक महिना नहुँदै छोरा (नायक) ले व्यापारका लागि ल्हासातर्फ जान्छु भन्छन्।

उसकी दुलही (नायिका)ले ‘म आएको एक महिना भएको छैन, अहिले नजानू’ भनी रोक्न खोज्छिन्। तर, नायक रोकिँदैनन्। केही समयपछि नायकको ल्हासामै मृत्यु भएको खबर आउँछ। यो खबरले विरक्तिएकी नायिकाको पनि मृत्यु हुन्छ। तर, मृत भनिएका नायक केही वर्षपछि धन कमाएर घर फर्कन्छन्। घरमा आफ्नी प्रिय पत्नीको मृत्यु भइसकेको थाहा पाएपछि उनी पनि विरक्तिन्छन्। ‘जसका लागि कमाएर ल्याएँ, उही नभएपछि यो धन–सम्पत्ति मलाई के काम ?’ भनी सबै दान गरी भिक्षु भएर हिँड्छन्।

तपाईंलाई लाग्न सक्छ, यो कथा त महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृति ‘मुनामदन’सँग मिल्दोजुल्दो छ। मुनामदनमाथि नेपाली (खस) भाषामा नाटक मञ्चन भइसके, फिल्म बनिसके !

तर, अमात्यले बनाउँदै गरेको फिल्मको कथा देवकोटाको ‘मुनामदन’को होइन, बरु ‘मुनामदन’को पनि मूलस्रोत नेपालभाषाको गीतिकाव्य ‘जि वया ला लछि मदुनि’ (म आएको त एक महिना भएको छैन) को हो। देवकोटाको ‘मुनामदन’ धेरै हदसम्म यो गीतिकाव्यसँग मेल खान्छ। तर, देवकोटाले केही घटनाक्रम र पात्रलाई समयअनुसार फेरबदल गरेका छन्। जस्तोः ‘जि वया ला लछि मदुनि’मा नायकको मृत्युको खबरपछि नायिका सति जान्छिन्। दुई सय वर्षभन्दा अगाडि राजेन्द्रविक्रम शाहको राज्यकाल (जतिबेला सतिप्रथा थियो) मा लेखिएको यो गीतिकाव्यमा नायिकालाई सति गएको देखाइएको छ भने देवकोटाले ‘मुनामदन’ लेखेको समयमा सतिप्रथा नभएकाले नायिकालाई विरहले मृत्यु भएको देखाइएको छ। त्यस्तै, ‘मुनामदन’को मूलपात्रमा ‘क्षेत्री’ छन् भने ‘जि वया ला लाछि मदुनि’मा तत्कालीन समयमा ल्हासा व्यापार गर्ने नेवार समुदायको कथा छ।

बुहारीले भन्छिन्– म आएको एक महिना भएको छैन, तपाईंको छोरा ल्हासा जान्छु भन्छ ! पानी नभएको पोखरीमा कमल कसरी फुल्न सक्छ ?

प्रश्न उठ्छ, डा. अमात्यले बनाउँदै गरेको फिल्ममा नयाँ के छ ? अमात्य भन्छन्, ‘यो फिल्मको कथा मौलिक हो। ‘जि वया ला लछि मदुनि’ र ‘मुनामदन’ यी दुवै खासमा तत्कालीन नेवार समुदायको कथा हो। तत्कालीन समयमा ल्हासामा नेवारहरुले व्यापार गर्थे। उतिबेला क्षेत्री समुदाय व्यापारी थिएनन् र देवकोटाले ‘मुनामदन’ लेखेको समयसम्म पनि ल्हासामा व्यापार गर्ने नेवारहरु नै थिए।’

फिल्म ‘च्वापुफय्’मा ल्हासा व्यापार गर्ने नेवार समुदायको कथा मात्रै नभएर तत्कालीन नेवार समाज, राजनीतिक परिवेश र घटनालाई पनि उतारिएको छ।

‘जि वया...’को अन्तमा लेखिएको पुष्पवाक्यमा राजा राजेन्द्रविक्रम शाहको नाम उल्लेख छ। नेपालभाषामा पहिलेदेखि नै कुनै कृतिको रचनामा तत्कालीन राजा, राज्य सञ्चालक वा शक्तिशालीको नाम पुष्पवाक्यमा लेख्ने चलन छ। यस गीतिकाव्यको अन्तमा ‘राजा राजेन्द्रविक्रम शाहदेव वसया परताप बोल न्हां...’ भन्ने लेखिएको छ। जसले यसको लेखन झन्डै दुई सय वर्षअगाडि अर्थात् राजेन्द्रविक्रमको राज्यकाल (वि.सं. १८७३ देखि १९०३)मा भएको मान्न सकिन्छ।

यसको १२० वर्षपछि देवकोटाले ‘मुनामदन’ लेखेका थिए। जसको पहिलो संस्करण १९९२ सालमा प्रकाशित भएको थियो।

देवकोटालाई ‘जि वया’को कथा सबैभन्दा पहिले उनकै स्कुल तथा कलेजका साथी चन्द्रबहादुर (सिबी) श्रेष्ठले सुनाएका थिए। सिबीले राइजिङ नेपालमा देवकोटाबारे संस्मरण लेख्दै आफूले देवकोटालाई ‘जि वया’को कथासार सुनाएको उल्लेख गरेका छन्।

त्यस्तै, समालोचक पुष्प चित्रकारले २०३४ सालमा भक्तपुरबाट प्रकाशित ‘स्वर्णद्वार’मा काठमाडौंकै रैथाने गणेशप्रसाद श्रेष्ठले देवकोटालाई ‘जि वया...’को कथा सुनाएको उल्लेख गरेका छन्। यो कथामा भएको विरहबाट अति नै प्रभावित देवकोटाले एकै रातमा ‘मुनामदन’ खण्डकाव्य लेखे र उनले गणेशप्रसादलाई सुनाए। त्यतिबेलै गणेशप्रसादले देवकोटाको तारिफ गर्दै भनेका थिए रे, ‘तपाईं अत्यन्तै प्रतिभावान् हुनुहुँदो रहेछ, एकै रातमा ‘जि वया...’को कथामा राम्रो गीतिकाव्य लेख्नुभयो। यसमा नेवार समुदायको कथा त आएको छ, तर नेवार समाजको परम्परा, संस्कारसँग धेरै कुरा मिल्दैन।’

गणेशप्रसादले भनेझैं ‘मुनामदन’ देवकोटाको उत्कृष्ट रचना हो। उनले आफ्नो अद्वितीय लेखन शिल्पले ‘मुनामदन’लाई कालजयी बनाएका छन्। त्यसैले रचना भएको आठ दशकसम्म यो उत्तिकै लोकप्रिय छ।

पछिल्लो समय चर्चा हुन थालेको छ– देवकोटाले ‘मुनामदन’मा किन यसको मूलस्रोतबारे उल्लेख गरेनन् ? प्राध्यापक नर्मदेश्वर प्रधान भन्छन्, ‘यसमा देवकोटाको मात्रै होइन, नेपाली (खस) भाषालाई मात्र प्रश्रय दिने सरकारी नीतिको दोष छ। मूलधारका भनिने साहित्यकार, समालोचकहरुले अन्य भाषाभाषीको साहित्यलाई बेवास्ता गर्ने प्रवृत्तिको दोष छ।’

कुनै पनि रचना अन्य कुनैबाट प्रभावित हुनु ठूलो कुरा होइन। प्राध्यापक प्रधान भन्छन्, ‘कुनै पनि साहित्य निरपेक्ष हुँदैन, कुनै न कुनैबाट प्रभावित हुन्छ। प्रभावित हुनुलाई चोरेको भनिँदैन। हुबहु नक्कल भने हुनुभएन।’

प्रधानका अनुसार, देवकोटा ल्हासा गएकै थिएनन्। त्यसैले उनलाई ल्हासा जाने बाटोको कठिनाइबारे जानकारी थिएन। उनले मुनामदनमा गरेको बाटोको वर्णन समेत ‘जि वया...’ बाटै लिइएको हो। ‘जि वया...’को कथासँगै थुप्रै प्रसंग मुनामदनमा आएको छ। तर ‘मुनामदन’को जति चर्चा पाउन सकिन्छ, त्यति चर्चा नेपालभाषाको यो ऐतिहासिक गीतिकाव्यको पाइँदैन।

प्राध्यापक प्रधान भन्छन् ‘राज्यले राष्ट्रिय भाषाका नाममा धेरै भाषालाई पछाडि पारेको छ, अब सच्याइनुपर्छ र जि वयाको पुनः चर्चा हुनुपर्छ।’

प्रभावित कृति ‘मुनामदन’लाई उत्कृष्ट भनिरहँदा यसको मूलस्रोत ‘जि वया’लाई नराम्रो भन्न मिल्दैन। काठमाडौं उपत्यकामा नेवार समुदायले रोपाईंका बेला गाउने ‘सिनाज्या’ लयमा लेखिएको यो गीतिकाव्य मुनामदनभन्दा छोटो छ। ‘मुनामदन’ ४१ पेजको छ, ‘जि वया’ जम्माजम्मी ३२ श्लोकको। छोटो हुँदैमा कुनै कृति नराम्रो हुँदैन।

‘जि वया एक उत्कृष्ट रचना हो। भाषाका कारण मात्रै यो ओझेलमा प¥यो,’  प्राध्यापक प्रधान भन्छन्, ‘यसको लिखत पाइएकै दुई सय वर्ष भयो। मौखिक रूपमा त यसको रचना धेरैअघि भएको हुन सक्छ। पहिलेको समाजमा महिलालाई कुण्ठित पारिन्थ्यो। तर, यो गीतिकाव्यमा विवाह गरेर आएको एक महिना नहुँदै पतिसँग विछोड हुन लागेकी नवयौवनाको विरह, पीडा मन छुने गरी व्यक्त गरिएको छ। यो सामान्य रचना हुँदै होइन।’

ने.सं. १०८३ मा प्रकाशित ‘बाखं म्ये’ पुस्तकमा यो गीतिकाव्य संग्रह गरेका साहित्यकार प्रेमबहादुर कसांकारले लेखेका छन्, ‘यो गीतिकाव्य करुण रसप्रधान छ। सुरुदेखि अन्तसम्म हँसाउने भन्ने कहीँ छैन। अरुअरु सिन्हाज्या म्ये (रोपाइँ गीत) हँसिमजाकको, सुन्ने बेला आनन्दको हुन्छ। यो बिल्कुल यसको उल्टो छ। बुहारीले भन्छिन्, ‘जि वया ला लछि मदुनि, छि काय सँ झाय धाल...। अर्थात् म आएको त एक महिना भएछैन, तपाईंको छोरा ल्हासा जान्छु भन्छ) भन्ने गीत सुरु गर्ने बित्तिकै मन सिरिंग हुन्छ।’

उनी अगाडि लेख्छन्,  ‘लख मदुगु पुखुलिस पलेस्वांनं गथे ह्वइ (पानी नभएको पोखरीमा कमल कसरी फुल्न सक्छ) भनी पत्नीले आफ्नो पति सामु मनको भाव पोख्दा कसको आँखा रसाउँदैन ? कसैले यसलाई लाज नभएकी आइमाई भनी गिज्याउन पनि सक्छन्, तर पत्नीले पतिसामु आफ्नो मनको कुरा उजागर नगरे कसको सामु गर्ने ? त्यसैले पानी नभएको पोखरीमा कमल कसरी फुल्न सक्छ भन्नु अस्वाभाविक होइन। यसमा कुनै अश्लीलता छैन।’

राज्यले अन्य भाषाभाषीको साहित्यलाई महत्व दिएन भने देशकै इतिहास, पहिचान मेटिँदै जान्छ। ल्हासा व्यापार काठमाडौं उपत्यकाका नेवार समुदायको ऐतिहासिक पेसा हो। हजारौं वर्षदेखि नेवार व्यापारी महिनौं लगाएर ल्हासासम्म पुग्थे र त्यहाँ वर्षौंसम्म बसेर व्यापार गर्थे। अमात्यका अनुसार, काठमाडौंबाट लगेको सामान ल्हासा भएर ताजिकिस्तान, मंगोलियासम्म पुग्थ्यो, त्यहाँको सामान यहाँसम्म आउँथ्यो। धेरै अघिदेखि नेवार व्यापारीले सिल्क रोड हुँदै व्यापार गरिसकेका थिए। यति पुरानो प्रसंग उजागर गर्ने ‘जि वया’ जस्तो ऐतिहासिक साहित्यको चर्चा आवश्यक छ।

‘मुनामदन’लाई चिनियाँ भाषामा अनुवाद गरेका चिनियाँ प्राध्यापक लिउ चिआनले चार वर्षअगाडि नेपाल आउँदा भनेका थिए, ‘नोबेल पुरस्कार विजेता रविन्द्रनाथ टैगोरको पुस्तकभन्दा मुनामदन उत्कृष्ट छ।’

मुनामदनले यस्तो प्रशंसा पाउनु निश्चय नै सुन्दर कुरा हो। तर, यसको मूलस्रोतको कतै चर्चा नहुँदा ओमचरणलाई दुःख लाग्यो। त्यसैले उनले नेपालभाषाको फिल्मले धेरै कमाउँदैन भन्ने थाहा पाउँदापाउँदै नेवार समाजको ऐतिहासिकता बचाउन ठूलो लगानीमा फिल्म बनाउँदै छन् र यसको अंग्रेजी, चिनियाँ र नेपाली गरी अन्य तीन भाषामा डबिङ हुँदै छ।

एक भाषा र एक धर्मको नीति लिएर राज्य अगाडि बढ्दा ‘जि वया’ जस्तो ऐतिहासिक कृति ओझेलमा परेको हो। बहुसंख्यकको भाषा (नेपाली)का अगाडि अल्पसंख्यकले बोल्ने भाषा (नेवारी) ठूलो माछाका अगाडि सानो माछाजस्तै बन्न पुग्यो। ठूलो माछाले सानो माछालाई खानु प्राकृतिक नियम हो। तर, समाज, संस्कृति, साहित्य प्रकृति होइन। यो त प्रकृतिसँग घुलमिल भएर मानिसले बनाएको हो। यसमा कुन ‘ठूलो’, कुन ‘सानो’ भन्ने हुनुहुँदैन। राज्यले सबै भाषालाई व्यवहारमै समेट्नुपर्छ।

नेपालभाषाको साहित्य धेरै समृद्ध छ। नेपाली (खस) भाषामा साहित्य नलेखिँदै, पाँच सय वर्षअगाडि नै यस भाषाको साहित्य विकास भइसकेको लिखित इतिहास छ। यस भाषामा मल्लकालीन राजाहरुले पनि नाटक लेखेका छन्। नेपाली भाषाको लिखित साहित्यको सुरुवात पृथ्वीनारायण शाहले उपत्यका जितेपछि भएको हो। तर, त्योभन्दा निकैअगाडि नेपालभाषाको साहित्यको विकास भइसकेको थियो।

संविधानमा मात्रै होइन, राज्यले व्यवहारमै सबै भाषालाई स्थान दिनुपर्छ र मुनामदनको चर्चासँगै यसको मूलस्रोत ‘जि वया’को पनि चर्चा हुनुपर्छ, यसमा राज्यस्तरबाट पहल हुनुपर्छ।

प्रकाशित: ७ मंसिर २०७६ ०१:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App