७ वैशाख २०८१ शुक्रबार
अर्थ

नेपालमा रेल सञ्चालन गर्न इन्डोनेसियाको चासो

काठमाडौं—बाली डेमोक्रेसी फोरमको नवौँ सम्मेलनमा सहभागी हुन इन्डोनेसिया पुगेका परराष्ट्रमन्त्री डा.प्रकाशशरण महत बिहीबार द्विपक्षीय भेटवार्तामा व्यस्त रहे। 

मन्त्री डा महतले इन्डोनेसियाली विदेशमन्त्री रेट्नो एलपी मर्सुदीसँग शिष्टाचार भेट गरे। त्यस अवसरमा नेपाल र इन्डोनेसियाको आपसी हित र द्विपक्षीय सम्बन्धका बारेमा कुराकानी भएको थियो।

त्यस अवसरमा मन्त्री डा महतले फोरममार्फत विश्वका कैयौँ देशलाई आमन्त्रण गरी प्रजातन्त्रका बारेमा छलफल र आफ्ना अनुभवको आदानप्रदान गर्ने अवसर प्रदान गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए। इन्डोनेसियाली विदेशमन्त्री मर्सुदीले दुवै देश संयुक्त राष्ट्र सङ्घको शान्ति स्थापना कार्यमा कार्यरत रहेको स्मरण गर्दै राष्ट्र सङ्घमा दुवै देशको योगदानको चर्चा गरे। 

उक्त भेटमा नेपालमा रेल सेवाका लागि इन्डोनेसिया सरकारले प्रक्रिया सुरु गर्न लागेका विषयमा मन्त्री मर्सुदीले चासो व्यक्त गरेका थिए। सो अवसरमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीका साथै नेपालका लागि इन्डोनेसियाका अवैतनिक महावाणिज्यदूत चन्द्रप्रसाद ढकाल पनि सहभागी थिए। 

त्यसैगरी आजै मन्त्री डा.महतसँग मालदिभ्सका विदेशमन्त्री डा.मोहम्मद असिमले पनि शिष्टाचार भेट गरेका छन्। भेटका क्रममा उनीहरुबीच दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क)को अवरुद्ध प्रक्रियालाई अघि बढाउने विषयका साथै द्विपक्षीय हितका बारेमा कुराकानी भएको परराष्ट्रमन्त्रीका प्रेस संयोजक एकराज पाठकले जानकारी दिए। रासस 

प्रकाशित: २४ मंसिर २०७३ ०६:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App