coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

बौद्ध दर्शनबारे बहस

काठमाडौं– बौद्ध दर्शन के हो? अन्तर्राष्ट्रिय जगतमा यस दर्शनको प्रभाव कस्तो रहेको छ? यसबारे बिहिबार नेपाल प्रज्ञा–प्रतिष्ठानमा बहस गरिएको छ। प्रज्ञा–प्रतिष्ठानको दर्शनशास्त्र विभागद्वारा आयोजित ‘बौद्ध दर्शन र यसको अन्तर्राष्ट्रिय प्रभाव’ विषयक विचारगोष्ठीमा यस्तो बहस गरिएको हो।

गोष्ठीमा बोल्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले मानव जीवनका लागि दर्शनको अपरिहार्य महत्व रहेको बताए। उनले दर्शनले नै जीवनमा दृष्टिकोण बनाउन र गन्तव्य पहिल्याउन मार्गनिर्देशन गर्ने भएकाले विनादर्शन मानव जीवनको परिकल्पनासमेत गर्न नसकिने धारणा व्यक्त गरे। 

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले बौद्ध दर्शन दर्शन मात्रै नभएर धर्म पनि भएको बताए। उनले धेरै अघि नेपालमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना गरिएको जानकारी दिदैँ विश्वजगतमै बुद्ध दर्शन तथा बुद्ध फैलिएको दाबी गरे। 

प्रज्ञा–प्रतिष्ठानका आजीवन सदस्य मोदनाथ प्रश्रितले संसारमै बुद्ध दर्शन उत्कृष्ट दर्शनका रूपमा स्थापित भएको बताए। उनले भने, ‘विश्वको करिब तृतीयांश जनसङ्ख्या माझ यो दर्शनको प्रभाव रहेको छ।’ बुद्ध दर्शनले समस्त मानव जातिलाई विभिन्न अन्धविश्वास र अतिवादबाट माथि उठाउने उनको भनाई थियो। 

यसै गरी सदस्य सचिव तथा दर्शनशास्त्रका प्रमुख प्रा.जगतप्रसाद उपाध्यायले विश्व दर्शन दिवसका अवसरमा गोष्ठी आयोजना गरिएको उल्लेख गर्दै नेपाली भूमिमा जन्मिएको बौद्ध दर्शनको प्रभाव अन्तर्राष्ट्रिय जगतमा कस्तो रहेको छ भन्ने जान्नका लागि पनि उक्त गोष्ठी आयोजना गरिएको बताए। उनले दर्शन विभागबाट ‘दर्शनावली’ नामक ग्रन्थ प्रकाशित भइरहेको जानकारी गराए। 

गोष्ठीमा प्रा.डा. वीरेन्द्रप्रसाद मिश्रले ‘बौद्ध दर्शन र यसको अन्तर्राष्ट्रिय प्रभाव’का विषयमा विशेष प्रवचन दिँदै बौद्ध दर्शनले मात्रै विश्व मानव जीवनलाई सुखी तुल्याउने बताए। 

नेपाल संस्कृति विश्वद्यिालयका पूर्व उपकुलपति प्रा. शिवहरि मरहठ्ठाले बौद्ध दर्शन र यसको महत्वबारे जानकारी दिएका थिए। त्यस्तै वेदराज ज्ञवालीले दर्शनशास्त्र विभागको नयाँ प्रकाशन ‘दर्शनावली–६’ को समीक्षा गरेका थिए।

प्रकाशित: ६ मंसिर २०७६ १४:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App