८ वैशाख २०८१ शनिबार
समाज

चेपाङ गाउँमा स्वास्थ्य चौकी हस्तान्तरण

मकवानपुर– सन् २०१८ की मिस नेपाल श्रृङ्खला खतिवडाको नेतृत्वमा चेपाङ गाउँमा निर्मित स्वास्थ्य चौकी हस्तान्तरण गरिएको छ। मकवानपुरको विकट क्षेत्र कैलाश गाउँपालिका–७ ताम्लाङमा मिस वल्र्ड २०१८ को प्रतिस्पर्धाको लागि ‘ब्युटी अफ दी प्रपोज’का लागि निर्मित ङिको स्वास्थ्य चौकी समुदायलाई हस्तान्तरण गरिएको हो।

स्वास्थ्य चौकीको श्रृङ्खलाका बुवा तथा प्रतिनिधिसभा सांसद विरोध खतिवडाको उपस्थितिमा प्रदेश ३ का उद्योग पर्यटन वन तथा वातावरणमन्त्री अरुण नेपालले उद्घाटन गरेका हुन्। चौकीबाट कैलाश गाउँपालिका–७ र राक्सिराङ गाउँपालिका–४ का गरि करिब सात सय घरधुरीका झण्डै चार हजार लाभान्वित हुने कैलाश ७ का वडाध्यक्ष उदास लामाले बताए।

चेपाङ र तामाङ समुदायको बाहुल्यता रहेको गाउँमा ५५ लाख रुपैयाँको लागतमा निर्माण भएको बताइएको छ। स्वास्थ्य चौकीमा कैलाश गाउँपालिकाले अनमी, हेल्थ असिस्टेन्ट एक–एक जना करारमा दिएपनि दरबन्दी भने नआएको कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तानले बताए। ‘स्वास्थ्य चौकीमा कर्मचारीको दरबन्दीको लागि पहल गरिरहेका छौ,’ उनले भने।

खतिवडाले व्यक्ति र संस्थाहरुबाट चन्दा रकम उठाएर बनाएको स्वास्थ्य चौकी हस्तान्तरण गर्न पाउँदा निक्कै खुशी लागेको बताइन्। ‘पहिलो पटक ताम्लाङ पुग्दा स्थानीयको स्वास्थ्य अवस्था देखेर मेरो आँखामा आँशु आएको थियो,’ उनले भावुक हुँदै भनिन्, ‘स्वास्थ्य चौकी बनेपछि मेरो एउटा सपना पुरा भएको छ।’

कैलाश गाउँपालिका–७, ताम्लाङ पूर्व–पश्चिम राजमार्गको मनहरी बजारबाट खोलैखोला करिब दुई घण्टाको गाडीको यात्रापछि पुग्न सकिन्छ भने वर्षायाममा यातायात नचल्ने हुँदा घण्टौ जोखिमपूर्ण रुपमा हिड्नुपर्ने बाध्यता छ। विकट गाउँमा स्वास्थ्य सेवा उपलब्ध गराएको भन्दै स्थानीयबासीहरुले खतिवडालाई फूलमाला लगाएर धन्यवादसमेत व्यक्त गरेका थिए।

यसैबीच, शुक्रबारै कैलाश गाउँपालिका–७ को कार्यालय भवन पनि उद्घाटन गरिएको छ। कैलाश गाउँपालिकाको १५ लाख रुपैंया लगानीमा निर्मित वडा कार्यालय भवनको प्रतिनिधिसभा सांसद विरोध खतिवडाले उद्घाटन गरेका थिए।

प्रकाशित: ६ मंसिर २०७६ १३:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App