७ वैशाख २०८१ शुक्रबार
समाज

बालकसहित दुई घर जल्दा ३२ लाख क्षति

उदयपुर- उदयपुरमा बिहीबार भएको आगलागीबाट एक बालकको मृत्यु हुनुका साथै दुईघर जलेर नष्ट हुँदा ३२ लाख बराबरको क्षति भएको छ। बिहीबार दिउँसो ४ बजे घरमा सल्केको आगोले त्रियुगा नगरपालिका १६ रातापानी चिलाउनेका चन्द्रबहादुर राईका ४ वर्षीय छोरा विष्णुको घरभित्रै जलेर मृत्यु भएको थियो भने चन्द्रबहादुरसहित अर्काघरका दुई दाजुभाइको घर जलेर नष्ट भएको वडाध्यक्ष मानबहादुर राईले बताए।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आगलागीबाट ढुंगामाटोले बनेको खर (फुस) को छानोवाल दाजुभाइको दुवै घर जलेर नष्ट भएको छ। आगोले चन्द्रबहादुरको दुईतले घरसँगै दुईवटा सुँगुर, भाँडावर्तन, लुगाफाटा तथा अन्नपात सबै नष्ट हुँदा १८ लाख बराबरको क्षति भएको ठहर प्रहरी सर्जमिन मुचुल्काबाट खुलेको छ।

त्यस्तै दाजु बमबहादुरको दुईतले फुसको छानोवाल घरसँगै गाईगोठ र घरभित्र रहेका सम्पूर्ण जिन्सी सामान र अन्नपात जलेर नष्ट हुँदा १४ लाख बराबरको क्षति पुगेको प्रहरी ठम्याई छ। बाबु चन्द्रबहादुर मजदुरीका लागि काठमाडौं गएका र आमा गाईबाख्रा चराउन जंगल गएका बेला सुनसान घरमा एक्लै रहेका बालक विष्णुले खेल्ने क्रममा लाईटरबाट आगलागी भएको अनुमान प्रहरीले गरेको छ। तर, स्थानीयका अनुसार घरमा जडान गरिएको सोलार सेटबाट विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने बताएका छन्।

वडाध्यक्ष राईले स्थानीय र प्रहरी चौकी सुकौराबाट गएको टोलीले साँझ पौने ६ बजेसम्म लगाएर आगो नियन्त्रणमा लिइएको बताए। घरविहीन भएका दुवै पीडित परिवारलाई छिमेकी स्थानीयको घरमा सुरक्षित गरी यथासिघ्र राहत व्यवस्था गर्न प्रशासन र नगरपालिकासँग अनुरोध गरिएको वडाध्यक्ष राईले बताए।   

प्रकाशित: ६ मंसिर २०७६ ०६:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App