coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मनपरी सडक खन्नाले दुर्घटनाको जोखिम बढ्दै

राँझा- जहाँ जतिबेला मन लाग्यो त्यतिबेला सडक खन्ने खानेपानी संस्थानका कारण दुर्घटनाको जोखिम बढेको छ। कमसल निर्माणका कारण चार लेन सडकको गुणस्तर दिनहुँजसो खस्किरहेका बेला खानेपानी संस्थानले सडक जहाँ पायो त्यहीँ खनेर छाडेपछि दिनहुँजसो सडक दुर्घटना हुने गरेका छन्।

नेपालगञ्जको राँझादेखि जमुनाहासम्मको सडकखण्डमा जताततै खाल्डैखाल्डा पारिएको छ। खानेपानी संस्थानले आफ्नो पाइप मर्मत गर्ने नाममा ठाउँठाउँमा खाल्डा खन्दै छाडेको छ। पाइप मर्मत गरिसकेपछि पनि संस्थानले सामान्यरुपले खाल्डो पुर्ने कामबाहेक अरू केही नगरेको स्थानीयवासीको गुनासो छ। 'खानेपानी संस्थानले जथाभावी सडक खन्ने गरेको छ, यसले दुर्घटनाको खतरा झन् बढाएको छ', स्थानीयवासी रामकुमार शर्माले बताए।

पटकपटक खानेपानी संस्थानविरुद्ध प्रश्न उठे पनि कार्यालयले यस विषयमा चासो नदेखाएको उनको भनाइ छ। सडक निर्माणका क्रममा खानेपानी संस्थान, ठेकेदार र सडक आयोजना कार्यालयबीच समन्वय नहुँदा समस्या देखिएको नेपालगञ्जवासीको भनाइ छ। जसका कारण सडकमुनि जथाभावी रुपमा गाडिएका पाइपबाट पानी लिकेज हुने गरेको छ।

पानी लिकेज हुने बित्तिकै खानेपानी संस्थानले पाइप मर्मतका नाममा सडक नै खन्ने गरेको सडक डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख रामकुमार बेदले बताए। 'खानेपानी संस्थानले पाइप मर्मत गर्ने नाममा सडक खन्ने काम गरिरहेको छ, यसरी खन्दै जाने हो भने सडकको अवस्था के होला ?', उनले प्रश्न गरे।

सडक निर्माणका क्रममा तीन निकायबीच समन्वय भएको भए अहिले सडक खन्ने अवस्था नआउने प्रमुख बेदको भनाइ छ। उनले भने, 'खानेपानी संस्थानले सडक खन्दा सडक डिभिजन कार्यालयसँग समन्वय गरेर सहमति लिनुपर्छ। सहमतिबिना सडक खन्न पाइँदैन। संस्थानले आफूखुशी सडक खनेर अलपत्र छाडिदिँदा सडकको गुणस्तर घटिरहेको छ।'

चार लेन सडकका विभिन्न ठाउँमा खाल्डो पर्दा दुर्घटनाको जोखिम बढेको छ। सडकका खाल्डो नै दुर्घटनाको कारक बन्दै गएपछि यसतर्फ सम्बन्धित सरोकारवालाको ध्यायन पुग्न नसकेको नेपालगञ्जवासीको गुनासो छ। सडक बनाउँदा खानेपानी संस्थान, ठेकेदार र सडक आयोजनाबीच समन्वय नहुँदा समस्या भएको हो।

चार लेन सडक निर्माणमा एडिबीको ६६ दशमलब ६ प्रतिशत ऋण अनुदान र नेपाल सरकारको ३३ दशमलव ३ प्रतिशत लगानी भएको थियो। नेपालगञ्ज–कोहलपुर आयोजनाको ‘आइसिबी कन्ट्र्याक्ट–१’ अन्तर्गत राँझा–जमुनाहा खण्ड एमएमआर पप्पु जेभी कम्पनी र राँझा–कोहलपुर खण्ड ‘आइसिबी कन्ट्र्याक्ट–२’ अन्तर्गत कालिका कन्सट्रक्शन कम्पनीले निर्माण गरेको थियो।

प्रकाशित: ६ मंसिर २०७६ ०६:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App