७ वैशाख २०८१ शुक्रबार
समाज

दुर्घटना कम गर्न ‘रेट्रो स्टिकर’टाँस्दै ट्राफिक प्रहरी

बाँके- सडक दुर्घटना कम गर्न ट्राफिक प्रहरीले नेपालगञ्ज-कोहलपुर सडकमा रिफ्लेक्ट (रेट्रो) स्टिकर टाँस्न थालेको छ।

सडकको डिभाइडर र पोलमा रिफ्लेक्ट स्टिकर टाँस्न थालेको हो। सडक दुर्घटना न्यूनीकरणका लागि रिफ्लेक्ट (रेट्रो) स्टिकर टाँस्न थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख एवं प्रहरी निरीक्षक पबिन्द्र बमले बताए।

नेपालगञ्ज–कोहलपुर सडकमा विशेषगरी रातिको समयमा हुने सडक दुर्घटना न्यूनीकरण गर्न रिफ्लेक्ट स्टिकर टाँस्न थालिएको उनले बताए। प्रहरी निरीक्षक बमका अनुसार नेपालगञ्ज-कोहलपुर सडकमा दुर्घटना बढ्न थालेपछि रिफ्लेक्ट स्टिकर टाँसिएको हो। उनले भने, 'नेपालगञ्ज–कोहलपुर सडकखण्डमा रातिको समय बढी दुर्घटनाहरु हुन थालेको पाइएकाले स्टिकर टाँसिएको हो।'

खुला सडक, तीव्र गति, मनपरी बाटो काट्ने, जहाँ पायो त्यहीँ पार्किङ गर्ने तथा पर्याप्त लाइटिङको कमीका कारण रातको समय नेपालगञ्ज–कोहलपुर सडकमा दुर्घटना हुने गरेको उनले बताए। ट्राफिक प्रहरी निरीक्षक बमले भने, 'रिफ्लेक्ट स्टिकरले रातमा सवारीसाधन चलाउन सहजता दिए पनि यतिले मात्र सडक दुर्घटना न्यूनीकरण हुँदैन। सबैजना सचेत र सजग हुुनपर्छ।'

सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले मात्र सम्भव नभएको बताउँदै उनले सबैको साथ र सहयोग हुनुपर्ने बताए। जिल्ला ट्राफिक कार्यालय बाँकेको तथ्याङ्कअनुसार असोज १२ देखि कात्तिक २५ गतेसम्म २९ वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा सात जनाको ज्यान गएको छ भने ३७ जना घाइते भएका छन्। दुर्घटनामा परी दुईवटा पशुचौपायासमेत मरेका छन्।

प्रकाशित: ६ मंसिर २०७६ ०६:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App