८ वैशाख २०८१ शनिबार
समाज

सरकारको गेटमै धुले सडक

वीरेन्द्रनगर – कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावल मन्त्रालयबाट बाहिर निस्कँदा गेटअगाडिबाटै कच्ची बाटोमा धुलो उडाउँदै यात्रा गर्नुपर्छ। उनीजस्तै उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाको पनि यात्रा सहज छैन। मन्त्रालयबाट निस्केको करिब १० मिटर पार गर्दा मन्त्री बुढाको गाडी धुलोमै पुग्छ। गाडीमा झ्याल लगाएर हिँड्ने मन्त्री बुढा सवार गाडीले उडाएको धुलोले सर्वसाधारणलाई छपक्कै पार्छ। यति मात्र होइन, कर्णालीको राजधानी तथा सुर्खेतको प्रशासनिक केन्द्र वीरेन्द्रनगरमा कच्ची र साँघुरा सडकले यात्रुलाई असहज हुँदै आएको छ।

यहाँको प्रशासनिक केन्द्रद्वारा निर्माण गरिएका सडक जीर्ण भइसकेका छन्। ती सडक अहिले खाल्डाखुल्डीमा परिणत भएका छन्। तर, मर्मतसम्भार तथा स्तरोन्नतिमा कसैले ध्यान नदिएकाले सर्वसाधारणले दुःख पाएको यहाँका बासिन्दाको भनाइ छ। यहाँका प्रशासनिक केन्द्रसम्म पुग्ने सडकको अवस्था दयनीय छ। बर्खामा हिलो र हिउँदमा धुलोले राजधानी कुरूप हुँदै गएको छ। दैनिक सयौं सवारीसाधन चल्ने प्रदेश राजधानीकै सडकको अवस्था दुरवस्था हुँदा स्थानीय चिन्तित बनेका छन्।

‘प्रदेश सरकारअगाडिकै सडकको स्थिति बेहाल छ,’ सन्तोष चपाईले भने, ‘अन्य दुरदराजका सडक कस्ता होलान् ?’ बाहिरबाट आउने पर्यटकलाई समेत गिज्याइरकेको भन्दै उनले प्रदेश सरकारले विकास निर्माणमा चासो नदिएको आरोप लगाए। अन्य प्रदेशमा ६ लेन सडक बनिरहेका बेला कर्णाली प्रदेश राजधानीमा भने साँघुरा सडकमा यात्रा गर्नुपरेको सर्वसाधारणको भनाइ छ।

२०२९ सालदेखि वीरेन्द्रनगरमा व्यवस्थित बसोबास सुरु भएको नागरिक समाजका अगुवा पीताम्बर ढकालले बताए। उनका अनुसार मंगलगढी–वीरेन्द्रचोक खण्ड २०४० सालमै कालोपत्रे भएको थियो। कर्णालीको राजधानीका रूपमा रहेको वीरेन्द्रनगर उपत्यकाभित्र करिब ८२ किलोमिटर सडक छ। वीरेन्द्रनगर नगरपालिकामा रहेकोे तथ्यांकअनुसार जसमध्ये ४२ किलोमटर सडक पहिलेदेखि पक्की छ। यस्तै, २६ किलोमिटर ग्राभेल र १४ किलोमिटर कच्ची सडक छ। अहिले वीरेन्द्रनगरभित्रका सडकको दुरवस्था बनिसकेकाले यहाँको समृद्धिमा सडक नै बाधक बनेको स्थानीयको भनाइ छ।

प्रदेश र स्थानीय सरकार बनेपछि यहाँका जनताले थुप्रै आशा गरेका थिए। कालोपत्रे उत्रिएर खाल्डाखुल्डी हुँदा आफूजस्तै हजारौं बासिन्दाले सास्ती खेप्नुपरेको ढकालको भनाइ छ। सडकको भारवहन क्षमताभन्दा दोब्बर बजन भएका सवारीसाधन गुड्दा यहाँका सडक जीर्ण बन्दै गएको प्राविधिकको भनाइ छ। धुलो उड्दा सर्वसाधारणले नाकमुख छोपेर हिँड्नु परेको छ। ठेकेदारको लापरबाहीले सडक मर्मतसम्भारमा ढिला भएको सामाजिक विकासमन्त्री दल रावलले जनाए। ‘हामीले टेन्डर गरेका थियौं,’ उनले भने, ‘बालुवा र गिटी अभाव भन्दै ठेकेदारले लापरबाही ग¥यो।’ भित्री सडक सबै टेन्डर भइसकेकाले छिटै ममर्तसम्भार हुने वीरेन्द्रनगर नगरपालिका प्रमुख देवकुमार सुवेदीले बताए। ‘अहिले सर्वसाधारणले सास्ती खेप्नुपरेको छ,’ उनले भने, ‘अबको केही समयपछि यो सास्ती हट्छ।’

प्रकाशित: ६ मंसिर २०७६ ०३:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App