८ वैशाख २०८१ शनिबार
अर्थ

पानी बोक्ने ट्यांकरलाई नयाँ नियम

काठमाडौं- लामो समयदेखि व्यवस्थित हुन नसकेको पानी बोक्ने ट्यांकर व्यवसायलाई पुुसको पहिलो हप्तादेखि लागु हुने गरी नयाँ नियम लागू हुने भएको छ। पानी बोक्ने व्यवसाय गर्ने ट्यांकरलाई सरकारी निकायमा दर्ता र वर्गीकरण गर्ने गरी  निर्देशिका बनाएर नियम लागू गर्न लागिएको हो।

पानी बोक्ने ट्यांकर र बोतल, जारको लागि भनेर काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले निर्देशिका जारी गर्न लागेको हो। भूमिगत र सतह स्रोतको पानी प्रयोग निर्देशिका बने पनि अहिलेसम्म पानी बोक्ने ट्यांकरका लागि थिएन।

निर्देशिकाको मस्यौदामा छलफल भइरहेको र केही समयभित्र सकिने बोर्डले जनाएको छ। 'निर्देशिकाको मस्यौदा तयार हुँदैछ,' बोर्डका सूचना अधिकृत योगेन्द्रबहादुर बमले भने, 'अहिले व्यवसायीसँग विषयगत छलफल भइरहेको छ।'

व्यवसायीका अनुसार पुसको पहिलो हप्तादेखि लागू हुनेगरी निर्देशिका तयार भइरहेको छ। उपत्यका खानेपानी स्रोत तथा ट्यांकर व्यवसायी संघका अध्यक्ष विष्णु दाहालले ट्यांकरले बोक्ने पानीको व्यवस्थित व्यवसाय र गुणस्तर पानी वितरण गर्ने उद्देश्यले निर्देशका तयार गरिएको हो। 'निर्देशिका पुस पहिलो हप्तादेखि लागू गर्ने तयारी भइरहेको छ,' दाहालले भने, 'यसको लागि व्यवसायी पनि तयारी छौं।'

नयाँ निर्देशिका अनुसार ट्यांकरलाई बोर्डमा दर्ता गर्नुपर्ने छ। खानेपानी ट्यांकरहरू अहिलेसम्म कतै दर्ता भएका छैनन्। तिनीहरु गाडीको रुपमा यातायात व्यवस्थापन कार्यालयमा दर्ता भए पनि आ–आफ्नो नाममा खानेपानी भन्दै वितरण गरिरहेका छन्।

निर्देशकामा पानी गुणस्तर, ट्यांकरको नियमन, परीक्षण, मूल्य लगायत विषय समावेश गरिने छ। मूल्य र गुणस्तरलाई व्यवस्थित गर्न ट्यांकरमा स्टिकर प्रणाली लागू गर्ने तयारी छ। जसको जस्तो पानी छ त्यही अनुसार बोर्डले स्टिकर र लाइसेन्स दिनेछ। त्यो लाइसेन्सको आधारमा व्यवसायीले पानी बेच्न पाउने छन्। 'यसो भएमा उपभोक्ता ठगिने अवस्था रहँदैन,' दाहालले भने, 'यसमा हामी ट्यांकर व्यवसायी पनि सहमत छौं र यसको पक्षमा छौं।'

ट्यांकरले बोक्ने पानीलाई तीन भागमा वर्गीकरण गर्ने तयारी छ। बन्न लागेको निर्देशिकाको मस्यौदा अनुसार पिउने पानी, घरायसी प्रयोजनका लागि र अन्य प्रयोजनको लागि भनेर वर्गीकरण गरिने छ। जसलाई तीन रंगका स्टिकर प्रदान गरिने तयारी बोर्डले गरिरहेको छ।

साथै, गुणस्तर अनुसार वर्गीकरण गरिएका ट्यांकरको पानीको मूल्य पनि निर्धारण गर्ने तयारी भइरहेको छ। यस अनुसार पिउने पानी, घरको प्रयोजनका लागि र अन्य प्रयोजनका लागि भनेर छुट्ट्याइएको पानीको मूल्य पनि फरकफरक रहने छ। सरकार र व्यवसायीले संयुक्त रुपमा यसलाई लागू गर्ने तयारी गरिरहेका छन्। निर्देशिका लागू भएपछि कसैले गुणस्तरहीन पानी भनेर बेचेको पाइएमा त्यो कारबाही गर्ने तयारी रहेको छ।

यसले लामो समयदेखि अस्तव्यस्त भएको पेसालाई व्यवस्थित गर्ने विश्वास लिइएको छ। साथै, उपभोक्ताले स्वच्छ खानेपानी पाउनुपर्ने अधिकार पनि संरक्षण हुने व्यवसायी बताउँछन्। 

बोर्डका कार्यकारी निर्देशक संजिवविक्रम राणाको संयोजकत्वमा बनेको कार्यदलले निर्देशिका तयार गरिरहेको छ। कार्यदलमा बोर्डका सदस्यबाहेक काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रतिनिधि, उपत्यका खानेपानी स्रोत तथा ट्यांकर व्यवसायी संघ अध्यक्ष दाहाल, अन्य व्यवसायीमा उपेन्द्र पाठक र उपत्यका ट्यांकर तथा बोरिङ व्यवसायी संघका हरि कँडेल छन्।

कही समय उपत्यकामा चल्ने ट्यांकरले स्वास्थ्यमा गम्भीर असर गर्ने हानिकारक एमोनिया तŒव भएको पानी ओसारेको भेटिएको थियो। बोर्डले नै गरेको अनुगमनमा उपत्यकामा चल्ने झन्डै २५ प्रतिशत खानेपानी ट्यांकरहरूमा त्यस्तो तŒव भेटिएको थियो। सरकारले उपत्यकामा चल्ने पानी ट्यांकर र पानी प्रशोधन केन्द्रको पानीको नमुना परीक्षण गर्दा एमोनिया र आइरनको मात्रा धेरै देखिएको हो।

बोर्डले ६७ वटा व्यवसायीका पानी प्रशोधन केन्द्रको पानीको नमुना परीक्षण गर्दा १४ वटा पानीका स्रोतमा बढी मात्रामा एमोनिया भेटिएको थियो। ती स्रोतमा प्रतिलिटर १८ मिलिग्रामसम्म एमोनिया भेटिएको छ।

उपत्यकामा हाल लगभग २ सय व्यवसायीले ६ सय १० वटा खानेपानी ट्यांकर सञ्चालन गरिरहेका छन्। उनीहरूले उपत्यकाका विभिन्न ६५ स्रोतबाट पानी भरेर उपभोक्तामाझ वितरण गर्दै आएका छन्। पानीको स्रोत र ट्यांकरको अनुगमन नहुँदा उपभोक्ताले लामो समयदेखि गुणस्तरहीन पानी प्रयोग गर्न बाध्य भएका छन्।

खानेपानी ट्यांकर व्यवसायलाई मर्यादित बनाउन निर्देशिका जारी गर्न सहमति भए पनि बोर्डले अहिलेसम्म बनाउन सकेको थिएन। २०६५ सालअघि नै व्यवसायी र बोर्डबीच निर्देशिका बनाउने सहमति भएको थियो।

प्रकाशित: २४ मंसिर २०७३ ०४:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App