८ वैशाख २०८१ शनिबार
विचार

बल अब सिधा पोस्टमा

दुर्गानाथ शर्मा

 भारतले नेपालको सीमा अतिक्रमण गरेको घटनाले नेपाली सञ्चारमाध्यममा सधैँ केही न केही कुरा आइरहेकै छ। नेपालले आफ्ना कुरा राखिसक्यो। प्रधानमन्त्री केपी ओलीले नेपाललाई अरुको एक इन्च पनि जग्गा नचाहिने र आफ्नो एक इन्च जग्गा पनि कसैलाई नछाड्ने दृढता व्यक्त गर्दै ‘अहिले सिमानामा राखिएको भारतीय सेनालाईफिर्ता लैजानूस्’ भनेर भारत सरकारलाई आग्रह गरिसकेका छन्।नेपालमा भारतले अतिक्रमण गरेको भूमि फिर्ता गर्न कूटनीतिक वार्ताको तयारी पनि भइरहेको छ। प्रधानमन्त्रीले परराष्ट्र मन्त्रालयलाई कूटनीतिक वार्ताको तयारी गर्न निर्देशन पनि दिइसकेका छन्।

तर भारतीय सैनिकले नेपालका कतिपय सीमाक्षेत्रमा गैरकानुनी र गैरकूटनीतिक तरिकाले कतिपय पर्यटकलाई फिर्ता जान र फोटो नखिच्न उर्दी जारी गर्ने गरेको समाचारका साथै सिमानामा सैनिक गतिविधि भइरहेका प्रसंग पनि आइरहेका छन्। इलामको सन्दकपुरको डाँडोमा पर्यटकलाई जान र तस्बिर खिच्नसमेत भारतीय सेनाले रोक लगाएको समाचार पनि आएको छ। प्रधानमन्त्रीका कुरालाई नेपाली अखबारमा मात्र छाप्ने र अरु केही नगर्ने हो भने हेपाहा प्रवृत्ति भएका भारतीय सैनिक त्यसै हाम्रो भूमि देश छाडेर फर्कने कुनै संकेत कमसेकम अहिलेसम्म देखिएको छैन। सुरुदेखि नै सिमानामा सुरक्षाकर्मीहरूखटाइनु आवश्यक हुन्छ भन्ने हाम्रो सोच नहुनुले नै आजको यो अवस्था आएको हुनसक्छ।

यस सन्दर्भमा भारतको सरकार र स्वयं प्रधानमन्त्रीले अहिलेसम्म कुनै प्रतिक्रिया नदिनु पनि एक रहस्य नै भएको छ। नेपालमा केही गर्नुपूर्व भारतले प्रशासनका आफ्ना पुराना सचिव अथवा कसैलाई नेपाल पठाएर कुरा बुझ्ने र आफ्नो कुरा राख्ने एकप्रकारको चलन नै चलेको हो। यो चलन केही समय रोकिएकामा अहिले भने नेपाल–भारतका विषयका एक खेलाडी पुराना सचिव श्यामशरण नेपाल आएका छन्। यिनले भारतमा पाकेको केही खिचडी पोल्याएका छन् कि भन्ने शंका नेपालीमा हुनु स्वाभाविकै हो। तर यस्ता खिचडीको कुरा गर्नुभन्दा भारतका प्रधानमन्त्रीसित हाम्रा प्रधानमन्त्री केपी ओलीले सिधावार्ता गर्नु बढी व्यावहारिक हुन्छ। मोदीको भावना बुझेर आफ्नो देशका परराष्ट्रविद्हरूसँग सल्लाह गरी त्यसपछि उच्चस्तरमा वार्ता गर्दा त्यसबाट केही न केही उपलब्धि हुन हुन्छकि?अब सञ्चारमाध्यममा ठूल्ठूला कुरा गरेर जनतालाई अल्मलाउनुभन्दा बल सिधा पोस्टतिर फाल्दा वेश होला।

नेपाल आएका बेला नेपाली भाषाबाट भाषण सुरु गरेर नेपालप्रतिको आफ्नो आदर व्यक्त गरेका तथा नेपाली जनतालाई ऋषिमन बनाउन आग्रह गर्ने मोदीको मन कसरी अर्कोतिर फर्कियो ?

तर अहिले यही समयमा हाम्रा प्रधानमन्त्रीको स्वास्थ्य उपचार गराउनु आवश्यक भएको छ। डाक्टरहरूले उहाँको ‘मिर्गौला’ फेर्नुपर्ने सुझाव दिइसकेका छन्। त्यसकालागि प्रधानमन्त्री ओलीलाई विदेश जानुपर्ने पनि हुन सक्छ र त्यसले केही समय लिन सक्छ। हुन त उहाँको अनुपस्थितिमा कसैले कार्यभार पाउला तर यति महŒवपूर्ण विषयमा प्रधानमन्त्रीको अनुपस्थिति खट्कन्छ नै होला। दोस्रोपटक बहुमत लिएर सत्तामा आएका भारतका प्रधानमन्त्री आफू शक्तिशाली भएको बेलामा नेपालले दुई देशको यो पुरानो समस्या समाधान गर्न सके सदाका लागि ‘यो रोग’ निवारण हुन सक्थ्यो। किनभने मोदी नेपालका एक असल मित्र पनि हुन् र अहिले विश्वकै शक्तिशाली नेताहरूमा चौथो, अमेरिका, रुस र चीनपछिका नेता पनि मानिन थालेका छन्। उनको अन्तर्राष्ट्रिय छवि बढ्दो छ।

नेपाल र भारतको सम्बन्ध पनि अहिले यही‘एउटा इस्यु’ बाहेक राम्रो छ। अहिलेउनी विश्वमै चर्चामा रहेका एक नेता हुन्। मलाई अझै सम्झना छ– भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २०१५ मा सत्तामा आएपछि पहिलोपल्ट उनी नेपाल आएका थिए। त्यसबेला उनले नेपाली भाषाबाट आफ्नो भाषणसुरु गरेर नेपालप्रतिको आफ्नो आदर व्यक्त गरेका तथा नेपाली जनतालाई ऋषिमन बनाउन आग्रह गर्ने मोदीको मन कसरी अर्कोतिर फर्कियो?त्यसबेला पनि लगत्तै भारत पुगेर नेपाललाई नाकाबन्दीको कोसेली दिएका थिए। त्यो कुरा पनि हरेक नेपालीको मनमा अहिलेसम्म बिझेकै छ। अहिलेको नेपालको सीमा अतिक्रमण पनि उनले भनेको ऋषिमनको विपरीत छ। उनी कमलो मन भएको व्यक्तित्व पनि हुन् भन्ने कुरा उनले त्यसबेला आफ्नो भाषणमै भूकम्पपीडित नेपालीका लागि एक खर्बको आर्थिक सहायताघोषणा गरेबाट अनुमान गरिएको थियो। सुनिन्छ, यो तीन वर्षपछिसम्म नेपालले पाएको थिएन। अहिले पाएको भएथाहा छैन।

चीन र भारत मिलेर नेपालमा रेल कुदाउने योजना बनाउँदै छन् भन्ने पनि सुनिन्छ। चीनले केरुङबाट काठमाडौँ हुँदै लुम्बिनीसम्म र भारतले वीरगन्जबाट काठमाडौँ अथवा पूर्व–पश्चिम राजमार्गमा रेलमार्ग बनाउन सहयोग गर्ने कुरा पनि प्रकाशमाआएकै छ।यसरी चीन, नेपाल र भारत एकापसमा अत्यन्त नजिकका घनिष्ठ मित्र हुन् भन्ने कुरा प्रमाणित गरेकै छ। त्यसैले भारतको अहिले भएको नेपालको सीमा मिच्ने कामलाई सजिलै र सौहाद्र्र्धपूर्णरूपमा त्रिपक्षीय वार्ताबाट समाधान गर्न सकिनेछभन्ने कुरामा नेपाली जनतालाई विश्वास छ। अहिलेको विवादित क्षेत्र नजिकै चीनको जमिन छ।
त्यस क्षेत्रका सीमा परिसरमा चीन पनि पर्ने भएकाले तीनै पक्षबीच उच्चस्तरमा वार्ता गर्न सके सम्भवतः यो सीमा रडाको हाम्रो भावी सन्तानले भोगिरहनुपर्ने थिएन। आफ्नो देशको एक इन्च जमिन पनि अरुलाई दिनुनपरोस् र अरूको पनि लिनु नपरोस् भन्ने नेपाली परम्परालाई यथास्थितिमा राख्न पनि र तीनैदेशको विकास गरी अझ दरिलो आपसी र सहयोगात्मक सम्बन्धको डोरीलाई अरु कस्न सकिन्छ कि ?यसबारे नेपाल, भारत र चीन सरकारले पनि विचार गरेकै होलान् भन्ने नेपालीहरूको आशा र भरोसा छ।

नेपालमा अहिले सबै जनता भारतको यो अर्घेल्याइँ र सीमा मिचाइको विरोधमा उत्रेका छन् तर उनीहरूको यो विरोधले उग्र रूप लिन नसक्नुको एउटै कारण हामी तीनै देशबीचको पुरानो र मैत्रीपूर्ण सम्बन्ध नै हुनसक्छ।भारतसित हाम्रो एउटा हार्दिक र विशेष सम्बन्ध हुँदाहुँदै भारतसितका हाम्रा गुनासोको चाङ पनि ठूलै छ।शायद नजिकै राखिएका भाँडाकुँडा कहिलेकाहीँ आपसमा ठोक्किए जस्तोमात्र हो यो। भारत हाम्रो ठूलो सहयोगी पनि हो। नेपालमा भारतको सहयोगबाट धेरै विकासका काम भएका छन्।तर अहिलेको परिप्रेक्ष्य र परिवर्तनकोसमयमा हाम्राबीच भएका पुराना सोच र सम्झौतालाई पनि परिवर्तन गरी समयानुकूल बनाउनु जरुरी छ। अंग्रेजहरूको शासनबाट मुक्त भएपछि भारतमा बनेको जवाहरलाल नेहरूको सरकारले भारतका साना छिमेकी राष्ट्रहरूलाई मिलाएर एउटै बृहत् भारतको कल्पना गरेका प्रसंग पनि इतिहासमा पढ्न पाइन्छ।

भारतले त्यसबेला राखेको बृहत् राष्ट्र निर्माणको परिकल्पनालाई पूर्वी पाकिस्तानलाई नयाँ राष्ट्र बंगलादेशमा परिणत ग-यो। सिक्किम राज्यलाई भारतकै एउटा राज्य बनायो। भुटानलाई पनि १९४७ को एउटा द्विपक्षीय सम्झौताबाट आफ्नो गुटमा सामेल गरेका इतिहास ताजै छन्। तर नेपाल जहिले पनि एक स्वतन्त्र र सार्वभौम राष्ट्रकै रूपमा रहँदै आएको छ र भविष्यमा पनि रहने नै छ। सम्पूर्ण नेपाली जनताले आफ्नो देशको सुरक्षामा कुनै कसर बाँकी राख्ने छैनन्। नेपालका बहादुर सिपाहीले भारतको साथै अन्य ठूला देशमा पनि सुरक्षा गर्दै आएका छन्। यी सबै कुरालाई ध्यानमा राखेर नेपाल, भारत र चीनले आपसमा मिलेर एकअर्कालाई भरथेग गर्न सक्ने हो भने यी तीनै देशको समुन्नति हुनेछ र यी देशका जनता सुखी र खुसी रहने छन्।

अतः अहिले देखिएको सानो सीमाविवाद टुंगो लगाउन यी देशका सरकारलाई कुनै ठूलो परिश्रम गरिरहनु पर्दैन। मित्रता र समझदारीलाई साक्षी राखेर लाग्ने हो भने कुनै कठिनाइ छैन र हुँदैन। प्रधानमन्त्रीको भनाइ– आफूहरूलाई अरूको एक इन्च जमिन नचाहिने र आफ्नो देशको एक इन्च जमिन पनि कसैलाई नछाड्ने भनाइले नेपाली परम्पराकै र हाम्रै छिमेकीसितको मित्रता र भलाइकै पक्षबाट भनेको कुरा बुझ्न गाह्रो छैन।

कुनैपनि राष्ट्रका लागि एक इन्च माटो पनि ठूलो सम्पत्ति हुन्छ र देशका हरेक नागरिक र देशको सुरक्षा समेत प्राणभन्दा प्यारो हुन्छ भन्ने कुरालाई सबैले बुझिदिए विश्व एउटा स्वर्ग नै हुनेथियो। यही कुरा नबुझ्दा विश्वमा दुईवटा ठूल्ठूला युद्ध भए, लाखौँ मानिस मरे। अब सबै मिलेर आफ्नोमात्र होइन, सबैको विकास र समृद्धितर्फ पाइलो नचाल्ने हो भने भोलिको हाम्रो पुस्ताले सराप्नेछ।

प्रकाशित: ६ मंसिर २०७६ ०३:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App