coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

६० करोड लगानीमा हेली एभरेस्ट सञ्चालन

काठमाडौं- मुलुकको उड्डयन क्षेत्रको नियामक निकायले नयाँ हेलिकोप्टर सेवा प्रदायक कम्पनी 'हेली एभरेस्ट प्रालि' लाई वायुसेवा सञ्चालन तथा अनुमति प्रमाणपत्र (एओसी) प्रदान गरेको छ। दुईथान हेलिकोप्टर ल्याएर उडान गर्ने गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट हालै उडान इजाजत पाएको हेली एभरेस्टलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौंलाई आधार गरी उडान गर्न बिहीबार एओसी प्रदान गरेको हो।

'हेली एभरेस्टलाई एओसी दिएका छौं,' प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले बिहीबार नागरिकसँग भने, 'यो मुलुककै सबैभन्दा पछिल्लो हेलिकोप्टर सेवा प्रदायक कम्पनी हो।' प्राधिकरणले यसअघि अल्टिच्युड हेलिकोप्टर कम्पनीलाई एओसी दिएको थियो।

करिब ६० करोड रुपैयाँ लगानीमा स्थापना भएको हेली एभरेस्टले शुक्रबार (मंसिर २४) बाट उडान सञ्चालन गर्ने घोषणा गरेको छ। 'प्राधिकरणबाट एओसी पायौं,' कम्पनीका सञ्चालक ईश्वर लामिछानेले बिहीबार नागरिकसँग भने, 'हामी कसैसँग प्रतिस्पर्धा गर्न आएका होइनौं, हाम्रो आफ्नै बजार छ। तर, प्रतिस्पर्धामै उत्रिनु परे हामी तयार छौं।'

हेली एभरेस्टमा ६ जनाले लगानी गरेका छन्। कम्पनीको अध्यक्षमा ल्हाक्पागेल्जेन शेर्पा, उपाध्यक्षमा मिङमा शेर्पा, चिफ पाइलटमा निश्चल केसी छन् भने अन्य सञ्चालकमा इन्जिनियरहरू जनक थापा, ईश्वर लामिछाने र राजेश्वर श्रेष्ठ छन्। सबै ६ जना अर्को हेलिकोप्टर सेवा प्रदायक कम्पनी मनाङ एयरमा डेढ वर्ष सञ्चालक भएर काम गरेका थिए।  

'दुईथान हेलिकोप्टर खरिद गर्न ५० करोड रुपैयाँ तथा कार्यालयदेखि अन्य विविध कामका लागि थप करिब १० करोड रुपैयाँ लगानी भएको छ,' लामिछानेले भने, 'पहिलो चरणमा ३५ देखि ४० जनालाई रोजगारी दिएका छौं।'

हेली एभरेस्टमा चिफ पाइलट केसीबाहेक अन्य पाँचजना पाइलट पनि कार्यरत छन्। यसले तीनथान हेलिकोप्टर ल्याएर उडान गर्ने अनुमति पाएको छ। सुरुवातमा दुईथानबाट उडान सञ्चालन गर्ने र निकट भविष्यमा अर्को एकथान हेलिकोप्टर ल्याउने योजना रहेको लामिछानेले जानकारी दिए।

उनका अनुसार उड्डयन प्राधिकरणमा करारमा कार्यरत अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) का उडान सञ्चालन विज्ञ मिचेल बेलान्डले निरीक्षण र जाँच गरेपछि हेली एभरेस्टलाई प्राधिकरणबाट एओसी प्राप्त भएको हो। प्राधिकरणमा एक वर्षका लागि नियुक्त क्यानडाका बेलान्ड आइकाओका वरिष्ठ पाइलट हुन्।

हेली एभरेस्टले युरोपेली हेलिकोप्टर निर्माता कम्पनी एयरबस हेलिकोप्टर्समा निर्मित 'एएस३५० बिथ्रीई' सिरिजका दुईथान हेलिकोप्टर खरिद गरी ल्याएको सञ्चालक लामिछानेले जानकारी दिए। यस्तो हेलिकोप्टरमा पाइलटबाहेक ६ सिट हुन्छन्। विगतमा युरोकप्टर नामबाट परिचित एयरबस हेलिकोप्टर्स युरोपेली जहाज निर्माता कम्पनी एयरबसको सहायक कम्पनी हो।

यस्ता हेलिकोप्टरमा 'एयर कन्डिसन' (एसी) को सुविधा छ। त्यसैगरी अत्याधुनिक इन्जिन, स्यान्ड फिल्टरको व्यवस्था, लामो दुरीका लागि आरामदायी सिट, बिरामी यात्रुका लागि स्ट्रेचरको व्यवस्थालगायत सुविधा छन्। कम्पनीले चार्टर्ड, कार्गो, ह्युमन स्लिङ, उद्धार, बिरामी बोक्ने लगायत काममा हेलिकोप्टर प्रयोग गर्ने जनाएको छ।

प्रकाशित: २४ मंसिर २०७३ ०४:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App