coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

म्याद सकिनै लाग्याे, ३५ हजार रुख कटान भएन

काठमाडौं – ठेक्का सम्झौताअनुसार काम भएको भए ४४ डबल सर्किट किलोमिटर तामाकोसी–काठमाडौं ४०० केभी प्रसारणलाइन निर्माणको काम लगभगसम्पन्न भइसक्थ्यो। तर, आयोजना निर्माण सुरु भएको तीन वर्ष बितिसक्दा पनि आयोजनाको प्रगति निराशाजनक छ। सन् २०१७ अगस्ट १३ मा निर्माण सुरु भएको आयोजनाको भौतिक प्रगति१५ प्रतिशत मात्रै छ। जबकि आयोजना निर्माण सम्पन्न गर्ने म्याद सकिन पाँच महिनामात्रै बाँकी छ। उक्त आयोजना सन् २०२० अगस्ट १३ मा निर्माण सम्पन्न गर्ने लक्ष्य थियो।

४४ डबल सर्किट किलोमिटर प्रसारणलाइन निर्माणको ठेक्का भारतीय एम÷एस लारसेन एन्ड टर्बाे लिमिटेडले पाएको थियो। ठेकेदार कम्पनीले सन् २०१७ मा १४.९ मिलियन अमेरिकी डलरमा उक्त आयोजनाको ठेक्का हात पारेको थियो। तामाकोसी काठमाडौं ४०० केभी प्रसारणलाइन आयोजनाका प्रमुख नवराज ओझाले आयोजनाको साइट क्लियर नहुँदा अपेक्षाकृत प्रगति नभएको बताए।

‘आयोजनाको साइट समयमा नै क्लियर नहुँदा भौतिक प्रगति अत्यन्तै न्यून छ,’ उनले भने, ‘आयोजनाको लागि ५३ वटा सामुदायिक वनका ३५ हजारभन्दा धेरै रुख कटान गर्नुपर्ने देखिन्छ।अहिलेसम्म रुख कटानसुरु गर्न सकिएको छैन। अर्काेतर्फ आयोजना निर्माणस्थल पुग्ने पहुँच मार्ग नहुँदा निर्माणमा समस्या देखिएको छ।’

आयोजना प्रमुख ओझाले समयमै आयोजना प्रभावित क्षेत्रको रुख कटान गर्न नसक्दा फेरि अपडेटेड प्रारम्भिक वातावरणीय अध्ययन प्रतिवेदन(आइइई) स्वीकृत गराउनुपरेको बताए।‘सन् २०१४ मै पहिलोपटक प्रभावित क्षेत्रमा आइइई गरिएको थियो।तर, समयमै रुख कटान गर्न नसक्दा रुख बढेकाले फेरि अपडेटेड आइइई गरेर ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पेस गरेका छौ,’ उनले भने,‘ऊर्जा मन्त्रालयले स्वीकृत गरेको छ। त्यो मन्त्रिपरिषद्बाट पारित भएपछि मात्रै रुख कटान गर्ने अघि बढ्नेछ।’

आयोजना प्रमुख ओझा सरकारी निकायहरुबीच समन्वय नहुँदा समयमै काम हुन नसकेको बताउँछन्।‘यो आयोजना ५३ वटा सामुदायिक वन क्षेत्रमा पर्छ,’ उनले भने,‘प्रत्येक सामुदायिक वनसँग रुख कटानको अनुमति लिनुपर्ने प्रावधानले समयमै काम हुन नसकेको हो।’

आयोजना प्रमुख ओझाले स्थानीयको अवरोध तथा बखेडाको कारणले पनि आयोजनाले गति लिन नसकेको गुनासो गरे।‘स्थानीयबासिन्दाले अनेक बहानाबाजी गर्दै विभिन्न माग अघि सारेका कारणले पनि आयोजनाले गति लिन सकिरहेको छैन,’ उनले भने,‘स्थानीयसँग पहुँचमार्गको लागि केही समयको लागि बाटो माग गर्दा पनि असहयोग गरिरहेका छन्। अर्काेतर्फ स्थानीयले नै काम गर्न पाउनुप¥यो भन्दै अवरोध सिर्जना गरिरहेका छन्।’

उनका अनुसार सामुदायिक वनको साधारणसभाबाट पारित भएपनि मात्रै रुख कटानको अनुमति पाइने भएकाले पनि धेरै जटिलता देखिएको हो। आयोजना प्रमुख ओझाले आयोजनाको भौतिक प्रगति १५ प्रतिशत मात्रै भएको बताउँछन्। ‘१२५ वटा टावरको जग निर्माण गर्नुपर्नेमा हालसम्म १५ वटाको मात्रै निर्माण सम्पन्न भएको छ,’ उनले भने, ‘अहिले पाँचवटा टावरको जग निर्माणको काम भइरहेको छ। अहिलेसम्म टावर खडा गर्न सकिएको छैन।’

आयोजनाका अनुसार एउटा टावरबाट अर्काेसम्म २६ वटा तार लगिनेछ। यो प्रसारणलाइनबाट करिब २५ सय मेगावाट बिजुली आदानप्रदान गर्न सकिन्छ। सिन्धुपाल्चोक तथा दोलखा जिल्लामा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली उक्त प्रसारणलाइनमार्फत राष्ट्रिय ग्रिडमा जडान गरिनेछ। सोही लागतमा ठेकेदार कम्पनीले  १४ किलोमिटरको १३२ केभीको बाह्रबिसे लप्सेफेदी प्रसारणलाइन पनि निर्माण गर्नुपर्ने हुन्छ। अहिले १३२ को प्रसारणलाइन निर्माणको लागि अध्ययनको काम भइरहेको आयोजनाले जनाएको छ।

प्रकाशित: ६ मंसिर २०७६ ०२:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App