coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

डेब्युमै जेनिङ्सको शतक

मुम्बई- दक्षिण अफ्रिकामा जन्मेका ब्याट्सम्यान केटोन जेनिङ्सले डेब्यूमै शतकीय इनिङ खेलेपछि इङ्ल्यान्डले बिहीबार भारतविरुद्धको चौथो टेस्टमा राम्रो सुरूआत गरेको छ। बायाँ हाते ब्याट्म्यान जेनिङ्सको १ सय १२ रन मद्धतमा भ्रमणकारी इङ्ल्यान्डले मुम्बईस्थित वाङ्खडे रंगशालामा पहिलो दिनको समाप्तीमा ५ विकेटको क्षतिमा २ सय ८८ रन बनाएको छ। खाता नखोल्दै क्याच हुनबाट बचेका २४ वर्षे जेनिङ्सलाई रोक्न भारतीय बलरले गरेका प्रयास पहिलो दिन सफल भएनन्।

दिनले जति नेटो काट्दै गयो, जेनिङ्सको मनोबल पनि बढ्दै गएको थियो। दर्शनीय सट खेलिरहेका उनले ३ रिभर्सस्विप सट पनि खेलेका थिए। दिउँसोको सेसनमा प्रहार गरेको त्यही रिभर्स स्विप सटमै उनले शतक पूरा गरेका थिए। जसले जेनिङ्सको डेब्यूलाई यादगार बनायो।

तेस्रो टेस्टमा हसिब हमिद घाइते भएपछि जेनिङ्सलाई टोलीमा बोलाइएको थियो। उनले पहिलो विकेटका लागि कप्तान एलेस्टर कुकसँग ९९ रनको साझेदारी गरेका थिए। रविन्द्र जडेजाको बलमा ४६ रन बनाएका कुकलाई पार्थिव पटेलले स्टम्पिङ गरेका थिए। कुक आउट भएपछि इङ्ल्यान्डको इनिङ जेनिङ्सले सम्हालेका थिए। लन्च ब्रेकसम्म उनी ६५ रन बनाएर खेलिरहेका थिए।

उनलाई जोए रूटले दोस्रो विकेटका लागि ३७ रनको साझेदारी गरेर साथ दिएका थिए। २१ रन बनाएका रूट रविचन्द्र अश्विनको बलमा कप्तान विराट कोहलीको हातबाट समातिएका थिए। त्यसपछि उनलाई मोइन अलीले साथ दिए। अलीले जेनिङ्ससँग तेस्रो विकेटका लागि ९४ रनको साझेदारी गरे। अलीले जेनिङ्सलाई शतक बनाउन साथ दिनुका साथै आफूले पनि अर्धशतक पूरा गरे। ४ चौका र १ छक्का सहित ५० रन बटुलेका अलीले अश्विनकै बलमा खेलेको स्कुप सट सिधै करूण नायरको हातमा पुगेको थियो। अली आउट हुदाँ इङ्ल्यान्ड २३०–३ को स्थितीमा थियो।

२ सय १९ बलमा १३ चौका प्रहार गरेका जेनिङ्सलाई अश्विनले आफ्नो तेस्रो विकेटका रुपमा आउट गर्ने क्रममा चेतेश्वर पुजराको हातबाट क्याच गराएका थिए। जोहानेसबर्गमा जन्मिएका जेनिङ्स दक्षिण अफ्रिकाको यू–१९ टोलीका कप्तान थिए।

इङ्ल्यान्डबाट अन्तर्राष्ट्रिय टेस्ट डेब्यूमै शतक बनाउने जेनिङ्स दक्षिण अफ्रिकामा जन्मिएका पछिल्ला ब्याट्सम्यान हुन्। यसअघि एन्ड्रयू स्ट्रायस र म्याट प्रिअरले पनि डेब्यूको पहिलो इनिङमै शतक पूरा गरेका थिए।  त्यस्तै जोनाथन ट्रटले टेस्ट डेब्यूको दोस्रो इनिङमा शतक पूरा गरेका थिए।

जेनिङ्सकी आमा बेलायती हुन्। उनी विद्यालय स्तरको पढाई पूरा गरेर २०११ मा इङ्ल्यान्ड आएका थिए। ४ वर्षको लगनपछि उनी इङ्ल्यान्डको टोलीमा स्थान बनाउन सक्षम भएका थिए। यसअघि दक्षिण अफ्रिकामा जन्मिएका अर्का खेलाडी केभिन पिटरसन पनि इङ्ल्यान्डमा आएर सफल बनेका थिए। जेनिङ्सले पनि पिटरसनको बाटो पछ्याउने अनुमान गरिएको छ।

विदेशमा जन्मिएका खेलाडीले ४ वर्ष इङ्ल्यान्डको काउन्टी क्रिकेट खेलेपछि राष्ट्रिय टोलीका लागि योग्य हुने प्रवधान छ। जुन बेला बखत विवादमा पनि आउने गरेको छ।

पाँच खेलको शृंखलामा इङ्ल्यान्ड २–० पछि छ। भ्रमणकारी टोलीलाई शृंखला जोगाउने सम्भावना कायम राख्न यो खेल जित्नै पर्नेछ। लयमा रहेका अफ स्पिनर अश्विनले ४ विकेट लिए। अश्विनले आफ्नो चौथो विकेट लिने क्रममा जोनी बेरिस्टलाई उमेश यादवको हातबाट क्याच गराएका थिए।  बेन स्टोक २५ र जोस बट्लर १८ रन बनाएर क्रिजमा छन्।

प्रकाशित: २४ मंसिर २०७३ ०४:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App