७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रधानमन्त्रीसँग समाजवादी रुष्ट, सरकार छाड्ने !

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद् हेफेर गरेको विषयलाई लिएर सत्ता साझेदार समाजवादी पार्टी रुष्ट बनेको छ। आफ्नो दलसँग परामर्शबिनै पार्टी अध्यक्ष उपेन्द्र यादवको मन्त्रालय परिवर्तन गरिदिएपछि समाजवादी पार्टी सरकारबाट अलग हुने मनस्थितिमा पुगेको हो। प्रधानमन्त्री ओलीले बुधबार नौ मन्त्री परिवर्तन गर्दै यादवको विभाग हेरफेर गरिदिएका छन्। उपप्रधानमन्त्रीसहित स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाली रहेका यादव विदेश भ्रमणमा रहेकै बेला प्रधानमन्त्री ओलीले कानुन मन्त्रालयमा सरुवा गरिदिएका छन्।

यादव काठमाडौं फर्केलगत्तै समाजवादी पार्टीले मन्त्रििपरिषद् हेरफेरका विषयमा औपचारीक निर्णय लिने तयारी छ। यादव शुक्रबार काठमाडौं फर्कने कार्यक्रम छ। उनी अघिल्लो साता भारत गएका थिए। यादव भारत भएको बेला उनको मन्त्रालय फेरिएको छ भने समाजवादी पार्टीबाट राज्यमन्त्री भएका सुरेन्द्र यादवको मन्त्री पद खुस्किएको छ। पार्टी अध्यक्षसँग कुनै सरसल्लाह नगरी प्रधानमन्त्रीले मन्त्रिमण्डल पुनर्गठन गरेको समाजवादी पार्टीका नेताहरूको भनाइ छ।

‘प्रधानमन्त्रीले हिजो (बिहीबार) गर्नुभएको मन्त्रिमण्डल पुनगर्ठनले हिटलरवादी शैलीको पुनःस्मरण गराएको छ। यो पुनगर्ठन अप्रजातान्त्रिक छ।’ समाजवादी पार्टीकी उपाध्यक्ष रेणु यादवले भनिन्, ‘संविधान संशोधनका लागि दुईतिहाइ पु-याउन हामी सरकारमा गएका थियाैं। हाम्रो सहयोग प्रधानन्त्रीलाई चाहिएको छ कि छैन। अब त्यो प्रधानन्त्रीले बुझ्ने कुरा हो।’

अध्यक्ष यादव काठमाडाैं फर्कनेबित्तिकै समाजवादी पार्टीले सरकार छाड्ने/नछाड्ने विषयमा गम्भीर छलफल हुने र तत्काल निर्णय हुने बताइन्। उनले भनिन्, ‘अब देश कुन बाटोतिर जाँदैछ। त्यो गम्भीर विषय हो।’ मन्त्रिमण्डल पुनगर्ठनमा समाजवादी पार्टीको मानमर्दन गरिएको बुझाइ समाजवादी पार्टीका नेताहरूको छ। पुनगर्ठनपछि बिहीबार बिहानै समाजवादी पार्टीका केही शीर्ष नेताले छलफल गरेका थिए। उप्रप्रधानमन्त्री यादव शुक्रबार काठमाडौं फर्कने कार्यक्रम भएकोले शुक्रबारसम्म पर्खने सल्लाह उनीहरूले गरेका थिए। ‘अब यस विषयमा छलफल हुन्छ। र एउटा निर्णयमा पुग्छौ।’ समाजवादी पार्टीका महासचिव रामसाह यादवले भने।

स्रोतका अनुसार यादवसँग सल्लाह नै नगरी उनलाई स्वास्थ्यबाट कानुन मन्त्रालयमा पठाइएको छ। स्रोत भन्छ, पछिल्लो समय प्रधानमन्त्री यादवसँग असन्तुष्ट थिए। सरकारमा रहेर पनि यादवले सरकारको आलोचना गरेको प्रधानमन्त्रीको बुझाइ रहेको छ। स्वास्थ्यमन्त्रीको कार्याशैली चित्त बुझदो नभएको र सरकारमा रहेर पनि प्रतिपक्षी दल नेपाली कांग्रेससँग उप निर्वाचनमा सहकार्य गरेको यादव माथि सत्तारूढ नेताहरूको आरोप छ।

कात्तिक २८ देखि ३० गतेसम्म बसेको समाजवादी पार्टीको केन्द्रीय समितिको बैठकमा पार्टी अध्यक्ष यादवमाथि तत्काल सरकार छाड्न दबाब परेको थियो। केन्द्रीय समितिको बैठकमा बोल्दै अधिकांश केन्द्रीय सदस्यहरूले तत्काल सरकार छाडी आन्दोलनमा जान यादवलाई सुझाव दिएका थिए। तर यादव भने सुरु देखि नै तत्काल सरकार पक्षमा थिएनन। केन्द्रीय सदस्यहरूको दबाबको बाबजुद केन्द्रीय समितिको बैठकले सरकार छाड्ने निर्णय गरेन। त्यसको सट्टा केन्द्रीय समितिको बैठक पछि पदाधिकारीको बैठक बस्ने र पदाधिकारीको बैठकले सरकार छाड्ने÷नछाड्ने निर्णय गर्ने भनी बैठक टुंग्याइयो। स्रोत भन्छ, पार्टीका राष्ट्रिय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई तत्काल सरकार छाड्ने पक्षमा थिए। बैठकको पहिलो दिन उनले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा उनले सरकारको कडा आलोचना गर्दै सरकारमा पार्टीका संलग्नताको विषयमा पुनःसमीक्षा गर्नुपर्ने माग राखेका थिए। तर पार्टीले निर्णय गर्दा यादवको लाइन हावी भयो र भट्टराईको लाइन छायामा प¥यो। तर बिहीबार प्रधानमन्त्रीले गरेको मन्त्रिमण्डल पुनगर्ठन पछि परिस्थिति फेरि फेरिएको छ।

२०७५ जेठ २२ गते तत्कालिन संघीय समाजवादी फोरम नेपालले सरकारसँग दुई बुँदे सहमति गरी फोरम सरकारमा गएको थियो। फोरम सरकारमा गएको बेला तत्कालिन फोरम र तत्कालिन नयाँ शक्तिबीच पार्टी एकीकरण भएको थियो। तत्कालीन फोरमले सरकारसँग गरेको दुई बुँदे सहमतिमा संविधाान संशोधन गर्ने प्रतिबद्धता सरकारले गरेको छ।

अस्पतालको बेडमा खुस्कियो पद
एकजना राज्यमन्त्रीको अस्पतालको बेडमै मन्त्री पद खुस्किएको छ। स्वास्थ्य राज्य मन्त्री सुरेन्द्र यादव वीर अस्पतालको भिआइपी कक्षमा गत कात्तिक २९ गते भर्ना भएका थिए। बुधबार मन्त्रीमण्डल पनुगर्ठन हुँदा पनि अस्तपालको बैडमै बसेर उपचार गराइरहेका थिए। वीर अस्पतालका डाक्टर राजीव झाका अनुसार उनलाई मेरुदण्डका समस्या छ। त्यसको उपचारको लागि उनी अस्पतालमा भर्ना भएका थिए। त्यसो त, यादव सुगरका पनि बिरामी हुन्। उनले नियमित रुपमा सुगरको औषधि सेवन गर्ने गरेको यादव निकट स्रोतको भनाइ छ।
समाजवादी पार्टीबाट सहरी विकासमन्त्री भएका इस्तियाक राइ मन्त्रीमण्डल पुनगर्ठन हुँदा गृह जिल्ला नेपालगञ्ज पुगेका थिए। उनले भने, ‘अब पार्टीले जे निर्णय गर्छ। म त्यही स्वीकार गर्छ। पार्टीले राजीनामा दिने निर्णय गर्नेबित्तिकै राजीनमा दिन तयार छु।’

प्रकाशित: ६ मंसिर २०७६ ०१:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App